१७ असार, एजेन्सी ।
स्पेन र इङ्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जर्मनीको कोल्नमा गएराति भएको खेलमा स्पेनले जर्जियालाई ४–१ को अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश पाएको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे । स्पेनका रोविन ले नोर्मान्डको आत्मघाती गोलसँगै जर्जियाले शुरुवाती अग्रता लिएको थियो ।
अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ । यसअघि हिजोको अर्को खेलमा इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले स्लोभाकियाका लागि शुरुवाती गोल गरेका थिए ।
त्यसपछि अतिरिक्त समयको पहिलो मिनेटमा इङ्ल्यान्डका ह्यारी केनले गोल गरे । अर्को गोल पनि केनले नै थपेर इङ्ल्यान्डलाई जिताएका हुन् । इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ । आज हुने क्वाटरफाइनलको खेलमा फ्रान्स र बेल्जियम तथा पोर्चुग र स्लोभेनिया खेल्दैछन् । यता कोपा अमेरिका फूटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै भेनेजुएला क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह ’बी’को अन्तिम खेलमा आज बिहान जमैकालाई ३–० गोलले हराएर भेनेजुएला क्वाटरफाइनलमा पुगेको हो । टेक्ससमा भएको खेलमा भेनेजुएलाका एडवार्ड बेलो, जोस सालमोन र एरिक रेमिरेजले गोल गरे । जमैकाले भने गोल फर्काउन सकेन । यो खेलसँगै जमैका समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ । यसैबीच समूह ’बी’ कै अर्काे खेलमा इक्वेडर र मेक्सिोकोले गोलरहित बराबरी खेलेका छन् ।
आज बिहानको खेलमा बराबरी भएपछि इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार अङ्क भए पनि गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।