१८ असार,काठमाण्डौ।
शनिबार बालकोट पुगेर प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेपालको राजनीतिमा नयाँ तरंग उत्पन्न भईसकेको थियो । सोही भेटलाई लिएर प्रधानमन्त्रीले समेत पटक पटक ओलीसँग संवाद गरे । जहाँ ओलीले सरकार परिवर्तनबारे प्रचण्डलाई कुनै जानकारी दिएनन् ।
यसैले त सरकारकी प्रवक्ता रेखा शर्माले समेत सरकार परिवर्तनको हल्ला मात्रै भएको बताइन् । एमाले र कांग्रेस नेताहरुले समेत सरकार परिवर्तनको कुनै संभावना नरहेको सार्वजनिक रुपमा बताए । अरु त अरु स्वयम ओलीले समेत तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका थिए ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताएका थिए । उनले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिए । उनले भनेका थिए ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।
अघिल्लो दिन यस्तो प्रतिक्रिया दिएका ओलीले मध्यरातमा आफै प्रधानमन्त्री हुने गरी काग्रेससँग सहमति गरेका छन् । अब पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मध्यरातमा भएको सहमति तोडिएन भने त्यही सहमतिअनुसार नयाँ सरकार गठन भए एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्नेछन् ।
उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार सञ्चालन गरे । ३० असार ०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएका थिए ।
०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएका थिए । र, झन्डै दुईतिहाइनजिकको बहुमत ल्याएर ओली दोस्रोपटक ३ फागुन ०७४ मा प्रधानमन्त्री भए । त्यतिवेला पनि ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।
०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो । तर, आलोपालोको सहमति कार्यान्वयन भएन । बरु, नेकपाभित्रको विवाद चुलियो । पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे । तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा विघटन असंवैधानिक भन्दै पुनर्स्थापना गरिदियो ।
लगत्तै, २३ फागुनमा एमाले र माओवादी पूर्ववत् ब्युँतिने फैसला ग¥यो । त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो । दोस्रोपटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाए । ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
त्यसका लागि ३० वैशाख ०७८ राति ९ बजेसम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पु¥याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन् । यद्यपि, त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
तेस्रोपटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गरिदिए । त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा प¥यो । २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी ग¥यो । ओली त्यसबेला दुई महिना प्रधानमन्त्री भएका थिए ।