दूध बेचेर फर्किएका युवकलाई राप्तीले बगायो ,उर्लियो हनुमन्ते

२२ असार ८१, शनिबार

२२ असार, काठमाण्डौ ।

लगातारको झरीले काठमाण्डौ उपत्यकाका सबै नदी र खोलामा बाढी आएको छ । बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोला नदीमा बाढी आएको हो । बागमती नदीले खतराको तह पार गरेकाले नदी किनारमा रहनेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढी आएका अरू नदी र खोला आसपासमा बस्नेलाई पनि सुरक्षित हुन भनिएको छ । लगातारको झरीले काठमाण्डौको सोह्रखुट्टे, पुतलीसडक, ललितपुरको धापाखेल लगायतका सडक जलमग्न भएका छन् । भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्न थालेको छ ।

Advertisement

भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

Advertisement

भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ ।

सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ । वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उता दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

दुई जनाको भने उद्धार भएको छ । जिल्लाको राजपुर गाउँपालिका – २ का १९ वर्षीय राजकुमार यादव राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता छन् । इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजीको प्रयास जारी रहेको बताए ।

एकाबिहानै राजपुरबाट राप्ती नदी तरेर दूध बेच्न लमही आएका उनलाई फर्किने क्रममा बाढीले बगाएको हो । उनीसंगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार भएको छ । आज अधिकांश स्थानमा अविरल वर्षा भइरहेकाले देशैभरका नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने महाशाखाको भनाइ छ । आज र भोलि वाग्मती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती, कोशी र यिनका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top