मुकुल ढकालको महामन्त्री गयो, सदस्यता जोगियो

२५ असार ८१, मंगलबार

२५ असार, विराटनगर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् । उनका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ ।

Advertisement

रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ । असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो ।

सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । ‘केन्द्रीय समितिको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ को (१) को क, ख, च, प र फ एवम् दफा चार २ को (४), दफा (५) को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख ग र घ समेतको उल्लङ्घन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षति समेतलाई विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६को (३) बमोजिमको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ उनले भनेका छन् ।

Advertisement

उनलाई रास्वपाको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको भएपनि केन्द्रीय समितिको बैठकले सदस्यता कायम राख्दै अन्य पदीय जिम्मेवारीबाट हटाउने सर्वसम्मत निर्णय गरेको छ । यसअघिको बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकाविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।

गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले जमानत जोगाउन नसकेपछि रास्वपाले महामन्त्रीलाई देश दौडाहामा पठाएको थियो । ढकालले ३८ जिल्लाका नेता कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर ३२ पेज लामो प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनका अंश सभापतिलाई बुझाउनुअगावै बाहिर सार्वजनिक गरेको, समीक्षा यात्रापछि विवादित प्रतिवेदन लेखेको भन्दै ढकालमाथि अनुशासनको कारबाही गरिएको हो ।

उनी अब फेरि रास्वपाको पदीय जिम्मेवारीमा फर्किन ३५ दिनभित्र पुनरावेदन दिनु पर्नेछ । यसअघि पार्टीको समीक्षा प्रतिवेदनमा नै ढकालले आफूले उठाएका विषयकै आधारमा आफ्नो पद समेत गुम्न सक्ने बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top