१४ साउन , एजेन्सी ।
क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टिट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका तीन सदस्य सम्मिलित टोलीहरुले हारको सामना गरेका छन् । आज विहान भएको खेलमा कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ ।
सरे ज्याकवार्ससँगको खेलमा रोहितको टोली ८० रनले पराजित भएको हो । यो संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो । सुर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा अल आउट हुदै ८१ रन बनायो ।
नेसनल्सका लागि ओपनर उन्मुक्त चन्दले १७ बलमा सर्वाधिक २१ रन बनाए । यो खेलमा ब्याटिङको मौका पाएका नेपाली कप्तान रोहितले २५ बलमा १० रन बनाएका थिए । रासि भान डार डुसेनले २१ बलमा १५ तथा निकोलस किर्तनले ९ बलमा ११ रन थपे ।
सर्रेका लागि सुनिल नारायण र मार्कस स्टोईनेसले समान ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । सर्रेका लागि कप्तान मार्कस स्टोईनेसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए ।
विरनदिप सिंहले २३, कायल मेयर्सले २७, ब्रेन्डन म्याकमुलनले १८ तथा मोहम्मद नाबीले १३ रन बनाए । टोरोन्टोका लागि मोहम्मद रोहिड र जुनैद सिद्धिकीले समान २ तथा रोमासियो शेफर्डले १ विकेट लिए । नेसनल्सको अर्को खेल मंगलबार रहेको छ ।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने सम्मिलित भेनकुभर नाइट्सले पनि लगातार तेस्रो हार बेहोरेको छ । लगातार तेस्रो हार बेहोर्ने क्रममा मोन्ट्रियल टाइगर्स विरुद्ध भेनकुभर १० रनले पराजित भएको हो ।
जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित रहे । दीपेन्द्रले १५ बलमा ३ चौका र १ छक्का सहित ३० रन जोडे । सन्दीपले भने २ बलमा १ रन बनाए । त्यसबाहेक रिजा हेन्ड्रीक्सले ३४ तथा डवेन प्रिटोरियसले ३० रन जोडे।
हर्श ठाकेरले १८ रन बनाए । मोन्ट्रियलका आयान अफजल खानले ३ तथा कलिम सनाले २ विकेट लिए । एक विकेट अज्मतुल्लाह ओमारजाईको नाममा रह्यो । त्यसअघि टस जितेर पहिला बलिङ गरेको भेनकुभरले मोन्ट्रियल टाइगर्सलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रनमा रोकेको हो ।
भेनकुभरका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चिए । उनले दिलप्रित बाज्वालाई बोल्ड आउट गरेका थिए । यस्तै नेपाली अल राउण्डर दीपेन्द्र सिंह ऐरीले भने बलिङ गर्ने अवसर पाएनन् ।
यस्तै भेनकुभरका लागि मोहम्मद आमिर र ड्वेन प्रिटोरियसले समान २ र जेरेमी गोर्डनले १ विकेट लिए । मोन्ट्रियलका लागि कोर्विन बोस्च्सले २५ बलमा सर्वाधिक ३५ रन बनाए ।
यस्तै बाज्वाले २२ बलमा सर्वाधिक ३३ रन बनाएका थिए भने अज्मतुल्लाह ओमारजाईले २७ रन बनाए । टिम साइफर्ट र आयान अफजल खानले समान १६ रन बनाए भने कप्तान क्रिस लिनले १० रन जोडे । भेनकुभरको अर्को खेल बिहीबार हुनेछ ।