९ भदौ , विराटनगर ।
धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । शंकास्पद बस्तु फेला परेको खबर भने जिल्ला प्रहरी कार्यालय कैलालीले राति १ बजे थाहा पाएको थियो ।
नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो । बिहान ५ बजे पुगेको टोलीले शंकास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले बताएका छन् ।
उनका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो । त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शंकास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ ।
सो निवास अहिले सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेका छन् । गेटबाहिर कालो झोलाको मुख अलिकति खोलिएको अवस्थामा राखिएको थियो ।
घटनापछि देउवा निवासमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत बाक्लो उपस्थिति रहेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।