१३ भदौ , काठमाण्डौ।
आज फेरि अर्को सडक दुर्घटनामा नेपालीले ज्यान गुमाएका छन् । बाँकेमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने २७ जना घाईते भएका छन् । दुर्घटनामा दाङ तुलसीपुरका २४ वर्षीय सन्तोष भुसाल र ६० वर्षीय मानबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
भुसाल बसका सहचालक हुन् । डिएसपी डाँगीका अनुसार दुर्घटनामा २७ जना घाइते भएका छन् । उनीहरूमध्ये भेरी अस्पतालमा ५ जनाको र कोहलपुर मेडिकल कलेजमा थप घाइतेको उपचार भइरहेको छ । एक जना डिस्चार्ज भइसकेका छन् । दाङबाट नेपालगन्ज तर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर – नेपालगन्ज सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका –६ कोठारपुरमा अनियन्त्रित भई बिहीबार बिहान सवा ११ बजे दुर्घटना भएको थियो ।
डिएसपी डाँगीका अनुसार तीब्र गतिको बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस सडक खण्डमै पल्टिएको थियो । चालक प्रहरीको नियन्त्रणमा छन् । यसैबीच देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेतृत्वमा तीनै यातायात मजदुर सङ्गठनका अध्यक्षको टोलीले गृहमन्त्री रमेश लेखकलाई भेटेर नजिकिँदो चाडपर्वलाई ध्यान राखेर यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले यातायात क्षेत्रमा निम्न, मध्यम र स्वरोजगार व्यवसायीको चार लाख गाडीमा १० खर्ब रुपैयाँभन्दा धेरै लगानी रहेकाले यसको सुरक्षा र यसभित्रका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको जानकारी दिए ।
सडक दुर्घटनाबाट अहिले दैनिक सात जनाको ज्यान जानुका साथै ४० जना घाइते हुने गरेका छन् । उनले चाडपर्व नजिकिँदै गर्दा कतिपय राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रिएको जनाउँदै राजमार्गलाई चाँडो मर्मतसम्भार गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । गृहमन्त्री लेखकले भने सडक दुर्घटना न्युनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्न र यात्रुलाई चाडपर्व लक्षित प्रभावकारी सेवा प्रवाह गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।
उनले दुर्घटना एकदमै बढिरहेकाले सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, नेपाल प्रहरी लगायतलाई आउँदो दुई÷तीन महिनामा दुर्घटना कम भएको परिणाम देखिनेगरि काम गर्न आग्रह गरेका छन् ।