१३ भदौ , एजेन्सी ।
राजनीतिका दार्शनिकहरु भन्छन्, नेता नै हुन् जो राजनेता बन्छन् । अनि राजनेताहरू सत्य बोल्छन् । राजनीतिमा सत्य भनेको चाहिँ जनताको विश्वास बोल्नु हो । यसो भन्नुको मतलब राजनेतामा मन जनताको हुन्छ, मुखमात्र नेताको हुनु भन्ने हो । तर, राजनीति असत्य बोल्ने पेशाका रूपमा तीव्र रुपमा रूपान्तरित हुँदै आएको छ ।
धेरैजसो राजनीतिकर्मी झुट, व्यभिचार र सत्ता स्वार्थको लोभमा उभिएर राजनीति गरिरहेका छन्। परिणाम जनता र राज्यबीचको दूरी बढ्दै गएको छ । राजनीतिलाई पेशाका रूपमा अपनाउनाले जनताको अख्तियारी, मत र करको जथाभावी प्रयोगको यात्रा तीव्र छ। कोही सडक, कोही सत्ता, कोही सदन, कोही प्रतिपक्ष कोही पक्ष ।
सबै सबैले राजनीति गरिरहेका छन् । तर आफ्नै हित र अनुकुलताका लागि । जति पनि प्रश्न अहिले उठेका छन्, ती सबै सत्ता, सदनमा पक्ष र विपक्षमा आआफ्नो राजनीतिक रोटी सेक्नमात्रै उठ्ने गरेका छन् । तैपनि भन्ने गरिन्छ राजनीति सहभागिता र उत्तरदायित्वको मिश्रण हो, राजनीति जनताका लागि गरिन्छ, राजनीति विकासका लागि गरिन्छ, राजनीतिले गरिबी र असमानता हटाँउछ, राजनीतिले जनजीविकाको बाटो सहज बनाउँछ अनि अबको राजनीतिले जनताको जनताको जिवनस्तर उकास्ने गरी अवस्था परिवर्तन गर्छ ।
राजनीति गर्ने भनेर खोलिएका दर्जनौ राजनीतिक पार्टीहरू पनि प्रतिष्पर्धी हौं भनेर आ–आफ्नो अस्तित्व सहित समाजमा आफ्ना क्रियाकलाप गरिरहेका छन् । तर उनीहरुले राजनीतिक उद्धेश्य अनुरुपको काम भेट्न मुस्किल मुस्किल नै रहेको छ । राजनीतिपछि अब विषय नेताको । नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ ।
राम्रो भाषण गर्ने या लेख्न अनि बोल्न सक्ने अनुहारहरु राम्रो नेतृत्व नहुन सक्दछन् । त यसो भन्दा लुकेर बस्ने अनि नबोल्ने या नलेख्ने अनुहारहरु सबै असल नेतृत्व हुन भन्ने चाँही पक्कै होइन । राजनीतिक नेतृत्वको सही र गलत समग्र देशको हित र अहितले निर्धारण गर्नुपर्दछ । नेता तबमात्र नेता हुन्छ जब उसका अनुयायीले उसलाई निरपेक्ष बिश्वास गर्दछन् ।
पैसा, गाडी, खर्च चियापान लगायत अवसरका कुनै रवाफहरुको लालसा बिनापनि कुनै नेतालाई कार्यकर्ताले बिश्वास गर्दछन् भने त्यो नेता साच्चै नेता हो । के यस्ता नेताहरुलाई हामीले नेतृत्वमा पुर्याएका छौं त सोचौं । तालीको भोका भन्दा गाली सुनेर अघि बढ्न सक्ने नेतृत्व हामीले चुनेका छौं त सोचौ । ताली र गालीको प्रसंगले अहिलेको ताजा घटनालाई घोचिरहेको छ ।
नेताहरुविरुद्ध नाराबाजी गरेकै अभियोगमा तीन जनालाई सार्वजनिक शान्ति विरुद्धको मुद्दामा अनुसन्धान थालिएको छ । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका तीन जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दामा अनुसन्धान थालिएको हो ।
नेता र नेतृत्व देश र जनताका भविष्य हुन्। तीनको मानमर्दन पक्कै पनि अनुचित हो । गौरा पर्वजस्तो सांस्कृतिक कार्यक्रममा सहभागी विशिष्ठ व्यक्तिहरूविरुद्ध नारावाजी गर्नु पक्कै पनि शिष्ट र सभ्य व्यवहार होइन । यस्ता गतिविधीलाई समर्थन गर्न पनि सकिँदैन । तर कसैका विरुद्ध नारा लगाएकै भरमा मुद्दा चलाउन लोकतान्त्रिक सरकारलाई सुहाउँछ त ? नाराबाजी नै गर्न नहुने विषयले चाँही पक्कै पनि प्रश्न उठेको छ । के नेपालका लोकतान्त्रिक शासकहरूमा अझै पञ्चायती ह्याङ्ओभर जस्ताको तस्तै बाँकी छ ?