१३ भदौ ,काठमाण्डौ ।
जनताको आवाज उठाउने सार्वभौम संसद पछिल्लो समय सत्तारुढ र प्रतिपक्ष दलको आरोप प्रत्यारोपको युद्धस्थल बन्दै गएको छ । सत्ता परिवर्तनको एक महिना टेक्दैगर्दा सत्तारुढ र प्रतिपक्ष दल गम्भिर आरोप प्रत्यारोपमा उत्रिएका छन् । लामो समयदेखि विवादित भनेपनि पछिल्लो समय व्यापक वहसको विषय बनेको विद्युत्को डेडिकेटेड र ट्रंकलाईन प्रकरणसँग जोडेर एकअर्काप्रति उत्रिदै आएका छन् ।
बुधबारको प्रतिनिधिसभामा एमाले सांसद योगेश भट्टराईले डेडिकेटेड र ट्रंकलाईन प्रकरणमा उद्योगीहरुलाई १६ अर्ब छुट दिएको भन्दै प्रचण्डलाई स्पष्टिकरण सोध्नु पर्ने बताए । उनले सम्बोधनका क्रममा माओवादीले सुरु गरेको १० वर्ष शसस्त्र संघर्ष जनयुद्ध नभएर हिंसा भएको बताएपछि संसद बैठक नै तनाव पूर्ण बन्यो ।
माओवादी र प्रचण्डविरुद्ध संसदमा आक्रमक रुपमा उपस्थित भएका योगेश माथि आजको बैठकमा माओवादी सांसदहरुले गम्भिर आरोप लगाएका छन् । माओवादी केन्द्रका सांसदहरूले एमाले सांसद भट्टराईलाई जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै छानबिनको माग गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डु लामा भोटेले एमाले सांसद भट्टराईलाई ‘जनयुद्धको नाममा चन्दा र हतियार तस्कर’ ले जनयुद्धलाई हिंसाको संज्ञा दिएको बताए । ‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो‚’ उनले भने ।
यस्तै अर्का सांसद छिरिङलामू लामा तामाङले त सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ नि भन्दै छानबिन गर्न माग गरिन् । ‘एमालेबाट प्रतिनिधित्व गरेर संसद्को मान पनि नराखी पटक–पटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गरियो । यस्तो रवैयाले देशलाई अर्को द्वन्द्धमा लाने भित्री मनसाय प्रकट भएको हो कि‚’ उनले भनिन्, ‘उहाँको विषयमा कन्ट्रोभर्सी छ । उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा केही समयअघि एक जना माननीयज्यूले जनयुद्धमा हतियार खरिद बिक्री र ओसारपसारको आरोप लगाएको कुरा होस् । यसमा छानबिन होस् ।’
यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले लोडसेडिङ र घाटामा रहेको प्राधिकरण अहिले नाफामा गएको प्रसंग जोड्दै माओवादी युद्ध हिंसा नभएर जनयुद्ध रहेकोमा जोड दिए । एमाले सांसद भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी युद्धलाई हिंसाको संज्ञा दिएका थिए । उनले पटक पटक हिंसा शब्द प्रयोग गरेपछि संसद् बैठक सञ्चालनमा समस्या भएको थियो ।
एमाले र माओवादी सांसदहरू वाकयुद्धमा उत्रिएका थिए । साथै‚ हिंसा शब्द गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग माओवादीले गरेको थियो । सभामुखले भने यसलाई छानविन गर्न संसद सचिवालयलाई निर्देशन दिए । सभामुखको निर्देशन पछि योगेश झनै क्रुद्धरुपमा प्रस्तुत हुँदै पटक पटक माओवादीलाई हिंसा नामकरण गर्दै अभिब्यक्ति टुंग्याएका थिए ।