७ जेठ , काठमाण्डौ ।
यतिबेला नेपालमा प्रिमनसुन जारी छ । यद्यपि देशका तराई र पहाडी भेगमा गर्मी बढेको छ । केही ठाउँमा भने पानी परेको छ । गए राति र आज विहान पनि पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । तर तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ । धनगढी, दिपायल र नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
आज र भोलि पनि गर्मी बढ्ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै ठाउँहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक, दुई ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै हुनेछ । यता वाग्मती प्रदेशसहितका थोरै स्थानमा आज विहान वर्षा भएको छ । बिहान कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित ‘मध्यम’सम्मको वर्षा भएको थियो ।
वाग्मती प्रदेशमा थप वर्षा हुने सक्ने विभागले भनेको छ । मौसमविद्का अनुसार मध्याह्नतिर बादल केही घट्ने सम्भावना रहे पनि आज काठमाडौँ उपत्यकामा राम्रोसँग घाम लाग्ने सम्भावना देखिएको छैन । ‘केही घण्टापछि पानी पर्ने क्रम कम भएर मौसम केही खुल्ने सम्भावना देखिए पनि फेरि अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
गएराति कोसी प्रदेशका झापा, सुनसरी र संखुवासभामा ‘भारी’सम्मको वर्षा भएको विभागले जनाएको छ । “वर्षा गराउने उक्त प्रणाली पूर्वतर्फ सरिरहेकोले हालका लागि कोसी प्रदेशमा भने वर्षा हुने क्रममा क्रमिक सुधार आउने देखिन्छ,” विभागले भनेको छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बुधबार (जेठ ६) राति पूर्वी नेपाललाई छोएर गएको विशाल बादलले झापाको केचनामा दुई घण्टामा १५२ मिलिमिटर वर्षा भएको उल्लेख गरेका छन् ।
“आज दिनभरिको अवस्था पनि पूर्वी आधा नेपालमा वर्षा हुने र पश्चिम नेपालमा थोरै सम्भावना देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यो अवस्था दुई–तीन दिनसम्म लगभग उस्तै हुनेछ ।” हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।
यसैबीच नेपाली सेना मौसमजन्य विपत प्रतिकार्यमा जुटेको छ । विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।
सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सङ्घीय, प्रदेश तथा पालिका तथा अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएको छ । नेपाली सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेका गण तथा गुल्महरूमा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ ।
साथै, प्रदेशका सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ । यसबाट बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।
दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पु¥याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाण्डौबाहेक सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर ‘स्ट्यान्ड बाइ’ अवस्थामा राखिएको छ ।
मनसुन शुरु भएसँगै सातै प्रदेशमा परिचालन गर्न सकिने गरी अन्य हवाई साधनहरू काठमाण्डौमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ । मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधन उपयुक्त ठाउँमा पूर्वतैनाथ गर्ने योजना पनि सेनाले बनाएको छ ।
बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न ठाउँमा ‘बेलीब्रिज’ तयारी अवस्थामा राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक–एक सेट बेलीब्रिज राखिएको सेनाले जनाएको छ ।
त्यसै गरी, गाडीमार्फत सजिलै आवश्यक ठाउँमा पु¥याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुल गौचरको ब्यारेकमा तयारी अवस्थामा राखिएका छन् । विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई पनि गौचर ब्यारेक, काठमाण्डौमा तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ ।
प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्रीको व्यवस्थापन गरिएको छ । आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ र अपरेटरसहितका साधन तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ ।
यसले पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतजस्ता कार्यमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । विगतका मनसुनजन्य विपद्बाट सिकिएका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सहभागी गराएर तयारीलाई थप प्रभावकारी बनाइएको सेनाको भनाइ छ ।



