कोशीमा आफ्नै मुख्यमन्त्री फेरेर ओलीले के सन्देश दिन खोज्दै छन् ?

१८ साउन ८३, मंगलबार

काठमाडौँ, साउन १९

Advertisement

गत शनिवार एमाले सचिव एवं कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर राजीनामा दिन भनेको सूचना सार्वजनिक भयो । केही समय पारिवारिक भ्रमणका लागी युके पुगेका उनी स्वदेश फर्किए लगत्तै अध्यक्ष केपी शर्मा ओलीको संवाहक बनेर विराटनगर पुगेका थिए । उनले लिएर गएको उक्त सूचना पार्टीगत प्रणालीबाट निर्णय गराइएको भने थिएन । किनकि मुख्यमन्त्री कार्की पनि पार्टी पदाधिकारी नै हुन् । अध्यक्षको एकल निर्णय भन्दै एक सचिवले अर्को सचिवको भूमिकामा रहेका मुख्यमन्त्री कार्कीलाई तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे पनि उनले इन्कार गरेपछि राई अर्को बाटोमा लागेको बुझिएको छ ।

मुख्यमन्त्रीनिकटका अनुसार कार्की राजीनामा दिने मोडमा नपुगेका होइनन्, तर उनी उक्त निर्णय पार्टीको प्रणालीमार्फत अनुमोदन गराउन चाहन्छन् । सचिवालयबाट नै संस्थागत निर्णय भई आएको खण्डमा राजीनामा दिने, तर अध्यक्षको एकल आदेश नमान्ने पक्षमा उनी अडिग देखिन्छ ।

Advertisement

त्यसो त कार्कीले नमानेपछि इन्चार्ज राईले आफू निकट प्रदेश सांसदहरूसँग संवाद अघि बढाएका छन् । आइतबार विभिन्न समूहसँग छलफलमा रहेका उनी कोशी कमिटी अध्यक्ष घनश्याम खतिवडासहितका पदाधिकारीहरूसँग छलफलमा जुटेका थिए ।  आफ्नै पार्टीको मुख्यमन्त्री हटाउन भूमिका खेलेपछि र उस्तै परिस्थिति आए सहयोग गर्न नेकपासँग छलफलमा जुटेपछि कोशी प्रकरणले एमाले भित्रको दुई धार राजनीति अझै पेचिलो बन्दै गएको प्रस्ट हुन्छ ।

कार्की पक्षीय नेताहरूले दिएको जानकारी अनुसार अघिल्लो साता मात्रै उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलसँग ओलीले कोशीका मुख्यमन्त्री कार्कीलाई नहटाउने सहमति भएको दाबी गरेको छ । तर लगत्तै राई ओलीको सूचना लिएर विराटनगर पुगी एक्ला एक्लै छलफलमा जुटेपछि भने अध्यक्षसँग उपाध्यक्ष र महासचिवले गरेको सहमति भङ्ग भएको बुझिएको हो ।

Advertisement

कोशीमा नेकपा एमालेसँग उपसभामुखसहित ४० सदस्य छन् । यसअघि नेपाली काँग्रेससँग सहकार्य गरेर संविधानको धारा १६८ को उपधारा– (५) बमोजिम कोशी सरकार गठन भएको थियो । अब मुख्यमन्त्री कार्की लाई हटाएर अर्को  सरकार गठन गर्न कानुनी जटिलता छ । त्यसमा कार्की स्वयंले राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ । तर, राई भने कोशी प्रदेश सभाको संसदीय दलको नेता समेत रहेका कार्कीलाई हटाउन संसदीय  दलको नेता नै अर्कैलाई बनाउने गरी अघि बढिसकेका छन् ।

आइतबारको छलफलमा जुटेका एक प्रदेश सभा सदस्यका अनुसार आज सोमवार दिउँसो पुनः सांसदहरूसँग छलफल राखिएको थियो । त्यहीँबाट संसदीय दलको नेता फेरेर अघि जाने लगभग योजना अघि बढे पनि कुनै निर्णय हुन नसकी बैठक सकिएको छ ।

बैठक लगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले आफूले पार्टीको निर्णय कार्यान्वयन गराउन लागी परेको जानकारी दिएका छन् । हिक्मतकुमार कार्कीसँग कुनै व्यक्तिगत दुस्मनी नभएको बताउँदै सरकार परिवर्तनका लागी सानो गाँठो फुकाएर अघि बढ्ने र कुनै पनि निर्णय सल्लाह र छलफलकै माध्यमबाट हुने जानकारी दिए ।

बैठक पछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि सञ्चारकर्मीसँग छलफल गरेका थिए । उनले समेत मुख्यमन्त्री परिवर्तन गर्ने बारे अध्यक्ष ओलीले आफूलाई केही पनि नभनेको भन्दै सरकार बल्न एमालेका सम्पूर्ण प्रदेश सभा सदस्यहरू सक्षम र दाबी प्रस्तुत गर्न लायकका रहेको प्रतिक्रिया दिए । साथै उनले एमाले र नेकपाबिच भएको सहमति कार्यान्वयन गर्ने सवालमा पार्टी एक ढिक्का भएरै अघि बढ्ने दाबी गरे ।

सोमवार विराटनगरको छलफलमा कुनै निष्कर्ष निस्कन नसके पनि ओलीले कोशीका शीर्ष नेतारूलाई आज मंगलबार छलफलका लागी काठमाडौँ बोलाएका छन् । एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार मुख्यमन्त्री कार्की, एमाले कोशी इन्चार्ज राई र एमाले कोशी कमिटीका अध्यक्ष घनश्याम खतिवडा रहेका छन् ।

कोशीमा आफ्नै मुख्यमन्त्री फेर्न अध्यक्ष ओलीले गरेको प्रयासले एमाले सिङ्गो पार्टी पङ्क्तिमा हलचल ल्याइदिएको छ । नेकपा एमालेको जनगठन विभाग प्रमुख विशाल भट्टराईले पार्टी एक ढिक्का हुने बेलामा कोशी प्रदेशमा आफ्नै मुख्यमन्त्री फेर्ने योजनाले पार्टीलाई थप कमजोर पार्ने बताए । सोमवार नेपाल टाइम्ससँग कुरा गर्दै उनले सार्वजनिक मिडियामा पार्टी कै नेता मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ठाउँमा अर्को नेतालाई मुख्यमन्त्री बनाउने भन्ने सूचना सार्वजनिक भएको हुँदा उक्त कुराले पार्टी सङ्गठनलाई नै थप कमजोर पार्ने प्रतिक्रिया दिए ।

‘कोशीको विषय जे भइरहेको छ एकदम गलत भइरहेको छ । पार्टी भित्र एउटा पक्ष राख्ने राख्ने र हटाउने गरी अघि बढ्नु ठिक होइन,’ उनले भने ‘आफ्नै नेताको विरूद्ध योजना अघि बढाइन्छ भने त्यो गलत छ । नेताहरूले शीर्ष तहमा छलफल गरेर तुरून्तै रोक्नुपर्छ ।’

भट्टराईले फागुन २१ को निर्वाचन पछि एमाले कमजोर देखिएको आगामी दिनमा एक ढिक्का हुँदै अघि बढ्नुपर्ने बेलामा कित्ताकाट गरेर अघि बढ्नु दुखद् भएको टिप्पणी गरे ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले पार्टीको आन्तरिक जीवनमा कोशीबाट देखिएको समस्या बारे छलफल जारी रहेको जानकारी दिए । हिजो नेकपा एमाले र काँग्रेस मिलेर सरकार बनेको परिस्थित अलग्गै रहेको र अहिले नेकपासँग मिलेर सरकार बनाउनु पर्ने परिस्थिति आएको हुँदा यी दुई मिलेर कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भने चलिरहेको धारणा राखे । ‘ एमालेको तर्फबाट काबिल मुख्यमन्त्री हुनुहुन्छ ।  पछिल्लो सहमति पछि कोशीमा थप अस्थिरता नदेखिने गरी नेताहरूको सहमति जुट्नुहुनेछ’ उनले भने ‘प्रदेशमा सङ्घीयता प्रति प्रश्न उठ्ने र मतदाता, जनताहरू प्रति प्रश्न उठ्ने गरी कुनै पनि काम गर्नु हुँदैन भन्नेमा नेकपा एमाले सचेत छ  ।’

एमाले अध्यक्ष ओलीले भने हिजो आफ्नै विश्वास पात्र मानिएका र आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचित भई प्रदेश सभा सदस्यमा दोहोर्‍याएका कार्कीलाई हटाएर ताप्लेजुङबाट निर्वाचित अर्का प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । गत फागुन २१ को निर्वाचित पछि कमजोर  संसदीय सङ्ख्या प्राप्त गरेको पार्टीलाई थप पुनर्जागृत गर्न एमाले भित्र पार्टी पुनर्गठनको बहस चर्को रूपमा उठेको छ । उक्त बहसलाई यसअघि निकट रहेर साथ दिएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले नै नेतृत्व गरेपछि ओली सशङ्कित छन् । उनी आफ्नो सामर्थ्य अघि बढाउन खोजिरहेका र त्यसको काम कोशीबाट गराउन चाहे पनि यस प्रकरणले एमालेलाई झनै कमजोर बनाउने तर्क महासचिव पोखरेल पक्षीय नेताहरूले गरेका छन् ।

गत साउन ९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच ३ बुँदे सहमति भएको थियो । जसमा एमालेले कोशी, बागमती र लुम्बिनीको नेतृत्व गर्ने र नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top