१९ साउन , काठमाण्डौ ।
जन्तर–मन्तरदेखि पश्चात्तापसम्म ः एक १५ वर्षीया बालिकाको विवादित र पीडादायी कथा
मोदी र भाजपालाई ठूलो धक्का, ३० वर्षे विरासत भत्कियो
गत महिना नयाँ दिल्लीको व्यस्त र राजनीतिक रूपले संवेदनशील क्षेत्र मानिने जन्तर–मन्तरमा भएको विरोध प्रदर्शनका क्रममा १५ वर्षीया एक बालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो सम्पूर्ण विवाद उत्पन्न भयो।

यो घटना बाहिर आएसँगै राजनीति र समाजमा ठूलो आँधीबेहरी नै आएको थियो। आखिर यो घटना कसरी घट्यो? ती अल्पकालीन र अबोध उमेरकी बालिकासम्म यस्तो राजनीतिक उत्तेजना कसरी पुग्यो ?
के यो कुनै सुनियोजित राजनीतिक षड्यन्त्र थियो वा उनी केवल केही व्यक्तिको राजनीतिक स्वार्थको सिकार मात्र बनिन? र, यसले एक नाबालिगको भविष्य र मानसिक स्वास्थ्यमा कस्तो गहिरो दूरगामी असर पारिरहेको छ? यी र यस्तै अनेकौं गम्भीर प्रश्नहरूले अहिले आम नागरिक, कानुनविद् र समाजशास्त्रीहरूलाई गम्भीर बनाएका छन्।
घटनाको सुरुवात नयाँ दिल्लीको ध्यानाकर्षण केन्द्र बन्ने गरेको जन्तर–मन्तरबाट हुन्छ। त्यहाँ ‘ककरोज जनता पार्टी’ को ब्यानरमुनि एक विरोध प्रदर्शनको आयोजना गरिएको थियो। देशमा भएको पेपर लिकको मुद्दा र आक्रोशहरू पोखिएको उक्त प्रदर्शनमा चारैतिर नाराबाजी, उत्तेजित भाषण र भिडको भेल थियो।
त्यही भीडभाड र उच्छृङ्खल माहोलको बीचमा १५ वर्षीया ती नाबालिग बालिका पनि उपस्थित थिइन्। आफ्नो उमेरको काँचोपन र राजनीतिक परिपक्वताको पूर्ण अभावका कारण उनी त्यहाँको तात्कालिक भीडको मनोविज्ञानलाई बुझ्न असमर्थ थिइन्।
माहोल झन–झन् तातिँदै जाँदा केही प्रदर्शनकारीहरूको उक्साहट तथा बहकाउमा परेर ती बालिका अनभिज्ञतावश यस्तो घेरामा परिन्, जहाँ उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै अत्यन्तै अपशब्दहरू प्रयोग गरिन्।
त्यही भीडमा रहेका कसैले उनको यो भावुक र अदूरदर्शी क्षणलाई आफ्नो मोबाइलको क्यामेरामा कैद गरे र त्यसलाई सामाजिक सञ्जालमा अपलोड गरिदिए। केही समयमै त्यो भिडियो डिजिटल संसारमा डढेलोझैँ फैलियो र राष्ट्रिय बहसको विषय बन्यो।
भिडियो भाइरल भएपछि यसले कानुनी र राजनीतिक वृत्तमा तरंग पैदा ग¥यो। उत्तर प्रदेशको गौतमबुद्धनगर जिल्लास्थित एक्सप्रेसवे थानामा गाजियाबादकी एक महिलाको उजुरीका आधारमा ती बालिकाविरुद्ध गम्भीर प्रकृतिको ‘जिरो एफआईआर’ दर्ता गरियो।
घटना नयाँ दिल्लीको भौगोलिक सीमाभित्र घटेका कारण, नियम अनुसार उक्त कागजात वा एफआईआर दिल्ली पुलिसकहाँ स्थानान्तरण हुनुपर्ने थियो। तर, जतिबेला यो मामिला कानुनी रङ्ग लिँदै थियो, तब यसमा एक ठूलो मानवीय र राजनीतिक मोड आयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्तर–मन्तरको उक्त प्रदर्शनका क्रममा आफूलाई गाली गर्ने र भड्किएका ती बालबालिकाहरूलाई माफ गरिदिनुपर्ने उदार अभिव्यक्ति दिए। प्रधानमन्त्रीको यो भनाइले घटनाको दिशालाई केही हदसम्म नरम बनायो।
यसैको निरन्तरता स्वरूप, दिल्ली पुलिसले पनि यस मामिलामा आफ्नोतर्फबाट कुनै नयाँ एफआईआर अघि नबढाउने र कानुनी प्रक्रियालाई थप नलम्ब्याउने आधिकारिक रूपमा स्पष्ट पा¥यो। र कानूनी फन्दाबाट केही हदसम्म राहतको सास फेर्ने वातावरण बन्दै गर्दा, यता बालिकाले आफ्नो गल्तीको गहिरो महसुस गर्न थालिन्।
सामाजिक सञ्जालको चौतर्फी आलोचना र आफ्नो भविष्यमाथि मंडारिएको कालो बादलले उनलाई झस्कायो। उनले एक भिडियो सन्देश सार्वजनिक गरिन् ।भिडियोमा उनले भक्कानिँदै भनिन् कि उनी अनजान थिइन् र अरू कसैको बहकावमा परेर त्यस्तो बोल्न पुगेकी थिइन्।
आफ्नो बोलीप्रति आफू अत्यधिक लज्जित रहेको बताउँदै उनले यसलाई आफ्नो जीवनको पहिलो र अन्तिम गल्तीको रूपमा स्वीकार गरिन् र देशवासीसँग हात जोडेर माफीको याचना गरिन्।
कानुनी केस अघि नबढे पनि ती बालिका र उनको परिवारका लागि भने यो घटना एउटा अथाह पीडादायी बनेर उभियो। बालिकाकी आमाले सञ्चारमाध्यमसमक्ष आफ्नो परिवारले भोगिरहेको कहालीलाग्दो अवस्थाबारे रुदै बयान गरिन्।
उनले छोरीको गल्तीका लागि देशसँग बारम्बार माफी माग्दै भनिन् कि उनकी छोरीले गल्ती त गरिन् र त्यसको पश्चात्ताप पनि गरिराखेकी छिन्, तर त्यसका नाममा उनीहरूको परिवारलाई जुन किसिमको सामाजिक बहिष्करण र धम्कीहरूको सामना गर्नुपरेको छ, त्यो अकल्पनीय छ।
लगातार आइरहेका ज्यान मार्ने धम्की र असुरक्षाका कारण उनीहरूले आफ्नो पुरानो डेरा वा घर छाडेर बारम्बार वासस्थान परिवर्तन गर्नुपरेको छ। दैनिक दुई छाक खानपिनका लागि समेत सङ्घर्ष गरिरहेको यो परिवार अहिले डरका कारण अनुहार छोपेर बाहिर निस्कन बाध्य छ।
उनीहरूको टोलमा अज्ञात गाडीहरूले निरन्तर निगरानी गरिरहेको दाबी गर्दै आमाले भनिन् कि प्रशासनबाट हालसम्म कुनै पनि किसिमको सुरक्षा वा सहयोग प्राप्त भएको छैन।
जब देशका प्रधानमन्त्री आफैँले माफ गरिसकेका छन् भने समाज र केही व्यक्तिहरूले आफूहरूलाई अपराधीझैँ लखेट्न नछोडेको भन्दै उनले छोरीविरुद्धको सम्पूर्ण कानुनी झमेला सदाका लागि खारेज गरिदिन र बाँच्ने अधिकार सुनिश्चित गर्दै सुरक्षा प्रदान गरिदिन जोडदार माग गरेकी छिन्।
यसैबीच प्रधानमन्त्री मोदी र भाजपाले पछिल्लो विधान सभा उपचुनावमा नराम्रो धक्का पाएका छन् । बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोरको जितलाई एउटा सिटको विजयभन्दा धेरै ठूलो राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
लामो समयदेखि भारतीय जनता पार्टी (भाजपा) को गढ मानिएको क्षेत्रको यो नतिजाले बिहारको राजनीतिमा नयाँ बहस सुरु गराएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस जितले मतदाताहरूले जातीय समीकरणमा सीमित नरही सुशासन, विकास र राजनीतिक विकल्पलाई पनि प्राथमिकता दिन थालेको संकेत दिएको विश्लेषकहरूले बताएका छन् ।
प्रशान्त किशोरले विधानसभामा एक्लै भए पनि सुशासन र प्रणाली सुधारका मुद्दालाई सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ । उनले प्रभावकारी भूमिका निर्वाह गर्न सके राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को विकल्प खोजिरहेका मतदाताका लागि जनसुराज पार्टी नयाँ विकल्पका रूपमा स्थापित हुन सक्ने विश्लेषण गरिएको छ ।
बाँकीपुर उपनिर्वाचनका लागि जुलाई ३० मा मतदान भएको थियो । यसपटक २०२५ को निर्वाचनको तुलनामा करिब सात प्रतिशत कम अर्थात् ३४.३० प्रतिशत मतदान भयो । अघिल्लो निर्वाचनमा यहाँ ४१.३९ प्रतिशत मतदान भएको थियो । सन् २०१० यताकै यो सबैभन्दा कम मतदान हो ।
निर्वाचन प्रचार चलिरहेका बेला दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले नीट प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै आन्दोलन गरिरहेको थियो । जुलाई २० मा ’चलो संसद’ मार्चका क्रममा प्रदर्शनकारीमाथि प्रहरीको लाठीचार्ज भएपछि त्यसको प्रभाव बिहारसम्म फैलिएको थियो ।
त्यसपछि जुलाई २२, २३ र २५ मा बिहारका विभिन्न जिल्लामा विरोध प्रदर्शन भए । जुलाई २५ मा गरिएको ’बिहार बन्द’ र सिवान जिल्लामा आन्दोलनकारीमाथि भएको कारबाहीका क्रममा ए–४७ बाट गोली चलाइएको भनिएको भिडियो सार्वजनिक भएपछि आन्दोलनले थप चर्चा पायो । विद्यार्थी आन्दोलनलाई चुनावको महत्वपूर्ण कारक मानिएको छ ।
बाँकीपुर सिट भाजपा अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको थियो । यो निर्वाचन क्षेत्र सन् १९९५ देखि लगातार भाजपाको नियन्त्रणमा थियो ।
पहिले नवीन कुमार सिन्हा र त्यसपछि उनका छोरा नितिन नवीनले लगातार जित्दै आएका थिए । त्यसैले प्रशान्त किशोरको जितलाई भाजपाको बलियो गढमा लागेको ठूलो धक्काका रूपमा हेरिएको बताइएको छ ।




