३ असोज , काठमाण्डौ ।
जापानको आइची–नागोयामा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) शनिबार औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन समारोह नेपाली समयअनुसार आज दिउँसो २ः४५ बजे हुँदैछ ।
एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिताका रूपमा लिइने एसियाडमा यसपटक ४५ राष्ट्रका करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुने आयोजकले जनाएको छ । उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र महिला कबड्डी खेलाडी मानमती विष्टले बोक्ने भएका छन् ।

दुवै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई महत्वपूर्ण सफलता दिलाइसकेका छन्। उनीहरूको नेतृत्वमा नेपालको राष्ट्रिय झण्डा मार्चपासमा प्रस्तुत हुनु नेपाली खेलकुदका लागि विशेष क्षणका रूपमा हेरिएको छ ।
चन्द्रबहादुर थापा अन्तर्राष्ट्रिय बक्सिङमा नेपालका लागि उल्लेखनीय उपलब्धि हासिल गरेका खेलाडी हुन्। उनले दुबईमा सम्पन्न आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका थिए।

विश्वस्तरीय प्रतियोगितामा नेपालका लागि पदक जित्ने खेलाडीका रूपमा उनको उपलब्धिलाई नेपाली खेलकुदमा महत्वपूर्ण मानिन्छ। यस्तै, मानमती विष्ट नेपाली महिला कबड्डी टोलीकी कप्तान हुन्। १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला कबड्डी टोलीले ऐतिहासिक कांस्य पदक जित्दा मानमतीले टोलीको नेतृत्व गरेकी थिइन्।
एसियाडको उद्घाटन समारोहमा उनी नेपालको झण्डा बोक्ने जिम्मेवारीमा रहनु महिला खेलकुदका लागि पनि उल्लेखनीय विषय बनेको छ। उद्घाटन समारोह सुरु हुनुअघि नै एसियाडअन्तर्गत केही खेलका प्रतिस्पर्धा भने सुरु भइसकेका छन्।
फुटबल, महिला क्रिकेट, भलिबल, बास्केटबल, सफ्ट टेनिसलगायतका खेलका केही स्पर्धा निर्धारित कार्यक्रमअनुसार अगाडि बढिरहेका छन्। मुख्य उद्घाटन समारोहपछि अन्य खेलका प्रतिस्पर्धा पनि तीव्र रूपमा अघि बढ्नेछन्।
एसियाड आयोजना गर्न जापानले व्यापक तयारी गरे पनि प्रतियोगिता सुरु हुनुअघि केही चुनौती देखिएका छन् । प्रतिकूल मौसम, सम्भावित बाढी तथा आँधीको जोखिमसँगै खेलाडीको बसोबास व्यवस्थापनलाई लिएर समेत आयोजक दबाबमा छन्।
मौसमसम्बन्धी सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजक पक्षले सुरक्षा तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। यसपटकको एसियाडमा परम्परागत शैलीभन्दा फरक रूपमा खेलाडी तथा प्रशिक्षकको बसोबास व्यवस्थापन गरिएको छ।
लागत घटाउने उद्देश्यले छुट्टै ‘एथलिट्स भिलेज’ निर्माण नगर्ने निर्णय आयोजकले गरेको हो। नागोयाका मेयर तथा एसियाड आयोजनासँग सम्बन्धित अधिकारी इचिरो हिरोसावाका अनुसार सुरुमा खेलाडीका लागि छुट्टै गाउँ निर्माण गर्ने योजना रहे पनि त्यसका लागि ठूलो रकम आवश्यक पर्ने देखिएपछि वैकल्पिक व्यवस्था रोजिएको हो।
एथलिट्स भिलेजको विकल्पमा क्रुज सिप, कन्टेनर आवास तथा होटलहरू प्रयोग गरिएका छन्। करिब १७ हजार खेलाडी तथा प्रशिक्षकलाई व्यवस्थापन गर्नुपर्ने भएकाले यो व्यवस्था आयोजकका लागि ठूलो चुनौती बनेको छ।
सामाजिक सञ्जालमार्फत केही खेलाडीले कन्टेनर आवासका कोठा साँघुरा रहेको, बेड साना भएको तथा पाइपबाट पानी चुहिने जस्ता गुनासा सार्वजनिक गरेका छन्। यद्यपि, आयोजकले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै खेलाडीको बसोबास व्यवस्थापन गरिएको जनाएको छ।
कोभिड–१९ महामारीका कारण पाँच वर्षअघि टोकियो ओलम्पिक प्रतियोगिता ठूलो स्वास्थ्य चुनौतीका बीच आयोजना भएको थियो। त्यसबेला दर्शकलाई रंगशालामा प्रवेश गर्न नदिइएका कारण प्रतियोगिताको वातावरण सामान्य अन्तर्राष्ट्रिय खेलकुद महोत्सवजस्तो बन्न सकेको थिएन।
यसपटक भने दर्शकको उपस्थितिसहित एसियाड आयोजना हुन लागेकाले जापानमा खेलप्रेमी तथा सर्वसाधारणमा उत्साह देखिएको छ। उद्घाटन समारोहलाई सुरक्षित बनाउन जापानले कडा सुरक्षा व्यवस्था गरेको छ।
आयोजकका अनुसार समारोहमा करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। उद्घाटन समारोह आयोजना हुने पालोमा मिजुहो स्टेडियम वरपरको सुरक्षा व्यवस्थासमेत थप कडा पारिएको छ। उद्घाटन स्थलको करिब एक किलोमिटर क्षेत्रलाई ‘नो–फ्लाई जोन’ घोषणा गरिएको छ।
उक्त क्षेत्रमा ड्रोनलगायतका हवाई उपकरण उडाउन प्रतिबन्ध लगाइएको छ। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न जापान सरकारले विशेष सूचना तथा निगरानी संयन्त्रसमेत स्थापना गरेको छ। सामाजिक सञ्जालमा हुने गतिविधिमाथि समेत निगरानी राखिने व्यवस्था गरिएको बताइएको छ।
ठूलो संख्यामा खेलाडी, अधिकारी, दर्शक र विदेशी प्रतिनिधिको उपस्थिति हुने भएकाले सुरक्षा व्यवस्थालाई आयोजकले उच्च प्राथमिकतामा राखेको छ। उद्घाटन समारोहमा जापानी सम्राट नारुहितो र साम्राज्ञी मासाकोको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जापानका प्रधानमन्त्री सानाए ताकाइची भने उद्घाटन समारोहमा सहभागी नहुने बताइएको छ। यसपटकको एसियाड १६ दिनसम्म सञ्चालन हुनेछ र अक्टोबर ४ तारिखसम्म विभिन्न खेलका प्रतिस्पर्धा हुनेछन्।
एसियाली खेलकुदको यस संस्करणमा एसियाका ४५ राष्ट्रका करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुने अपेक्षा गरिएको छ। विभिन्न खेल विधामा खेलाडीहरूले पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।यस संस्करणको अर्को महत्वपूर्ण पक्षका रूपमा शरणार्थी खेलाडीको सहभागितालाई लिइएको छ।
एसियाली खेलकुदको इतिहासमै पहिलोपटक शरणार्थीहरूको छुट्टै टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। यसले एसियाडको सहभागितालाई थप विविध र समावेशी बनाउने अपेक्षा गरिएको छ । नेपालले पनि विभिन्न खेल विधामा सहभागिता जनाउँदै एसियाडमा आफ्नो उपस्थिति जनाउँदै छ ।
नेपालबाट यस एसियाली खेलकुदमा १ सय ३५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । यस्तै नेपालबाट मार्चपासमा ४० जनामात्र रंगशालामा उत्रने डेपुटी सेफ द मिसन घलेले जनाए । नेपालको टोली २ सय ११ जनाको रहेको छ ।
२०२३ मा पछिल्लो एसियाली खेलकुदभन्दा नेपालको खेलाडी संख्या झन्डै आधा नै कम हो । तीन वर्षअघि नेपालबाट २ सय ५३ खेलाडीले चीनको एसियाडमा प्रतिस्पर्धा गरेका थिए ।यसपटकदेखि छनोट चरणको प्रावधान लागू गरेपछि नेपाली खेलाडी संख्यामा उल्लेखनीय कमी आएको छ ।
विगतमा पदक आस गरिएको तेक्वान्दोबाट नेपालका ३ खेलाडीमात्र प्रतिस्पर्धा गर्नेछन् । त्यही पनि नेपालले पदकको ठूलो आशा राखेको छ । नेपालबाट महिलामा ५७ र पुरुषमा ७८ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।
नेपालबाट आर्चरीका २, एथलेटिक्सका ६, ब्याडमिन्टनका ४, बक्सिङका ७, क्रिकेटका १५, साइक्लिङका २, गल्फका ४, जुडोका ६, कबड्डीका २४, करातेका ८, ¥याफ्टिङ एन्ड क्यानोइङका २, स्केट एन्ड स्केट बोर्डिङका २, सफ्ट टेनिसका ४, स्क्वासका २, पौडीका ५, टेबलटेनिसका ६, तेक्वान्दोका ३, टेनिसका ५, भलिबलका १२, कुस्तीका ६, उसुका १० खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
नागोया एसियाली खेलकुदमा ४३ खेल हुनेछ । त्यसमा नेपालले २१ खेलमा सहभागिता जनाउँदै छ । नेपालले ब्रेकिङ डान्सबाट अन्तिम समयमा सहभागिता नजाउने निर्णय गरेको थियो । मिक्स मार्सल आर्टस, पेडल, टेकबल र भर्चुअल तेक्वान्दो यस एसियाडका नयाँ खेल हुन् ।
नागोया एसियाली खेलकुदमा ४५ देश र एउटा शरणार्थी टोलीले ४ सय ६९ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ । विभिन्न ५४ खेलस्थलमा एसियाडका खेल हुनेछ । यसपटक पनि चीनले पदक तालिकामा एकलौटी प्रभुत्व जमाउने अनुमान गरिएको छ ।
एसियाली खेलकुदको पदक तालिकामा वर्चस्व राख्दै आएको चीनले २०२३ मा आफ्नै भूमि हाङचाउमा २ सय १ स्वर्ण जितेको थियो, जुन दोस्रो स्थानमा रहेको जापानभन्दा चार गुणा बढी हो । इन्डोनेसियामा २०१८ मा भएको एसियाली खेलकुदमा चीनले १ सय ३२ र जापानले ७५ स्वर्ण जितेका थिए ।
तर यसपालि जापानले घरेलु टोली भएकाले पनि पदक तालिकामा चीनलाई कडा टक्कर दिने सम्भावना छ । जापानले ९ सयभन्दा बढी खेलाडीलाई एसियाली खेलकुदमा उतार्दै छ । चीनको खेलाडी संख्या पनि ८ सयभन्दा माथि छ । दक्षिण कोरियाका पनि झन्डै ८ सय खेलाडी उत्रँदै छन् ।



