१९ कार्तिक , काठमाण्डौ ।
अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै आफूले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्। यद्यपि उनले वैवाहिक सम्बन्ध बिग्रिएको स्वीकार गर्दै आफूले ममतालाई मानसिक तथा भावनात्मक तनाव दिएको बताएका छन्।
अदालतमा बयान दिँदै भट्टले छोरी जन्मिएपछि ममताको व्यवहार परिवर्तन भएको दाबी गरेका हुन् । बुधबार (नोभेम्बर ४) मुद्दाको १६औँ दिन प्रतिरक्षा पक्षका साक्षीका रूपमा अदालतमा उपस्थित भएका ३९ वर्षीय नरेशले आफ्नो बाल्यकाल, अमेरिका आगमन, अमेरिकी सेनामा काम गरेको अनुभव र ममतासँगको वैवाहिक सम्बन्धबारे बयान दिएका हुन्।

उनले आफूले घरायसी कामको अधिकांश जिम्मेवारी सम्हाल्ने गरेको र ममताले आफूलाई नियन्त्रण गर्ने गरेको आरोपसमेत लगाएका छन् । नरेशमाथि २८ वर्षीया श्रीमती ममताको हत्या तथा शव नष्ट गरेको अभियोग छ । सरकारी वकिलका अनुसार ममताको सन् २०२४ जुलाई ३० आसपास हत्या भएको विश्वास गरिएको छ ।
तर, उनी बेपत्ता भएको औपचारिक जानकारी सहकर्मीहरूले चिन्ता व्यक्त गरेपछि केही दिन बितेर मात्रै प्रहरीलाई दिइएको थियो । नोभेम्बर ४ मा अदालतमा बयान दिएका नरेशले आफ्नो बाल्यकाल भारत र नेपालमा कठिन परिस्थितिमा बितेको बताएका छन् । अमेरिका पुगेपछि अंग्रेजी भाषा सिक्न आफूले अनावश्यक फोन कल गर्नेहरूसँग समेत कुराकानी गर्ने गरेको उनले सुनाए ।
अमेरिका पुगेपछि अमेरिकी सेनामा भर्ती भएका नरेशले सेनामा आबद्ध भएपछि अमेरिकी नागरिकता पाएको बताए । आधारभूत सैन्य तालिम पूरा गरेपछि आफू रिजर्भ फोर्समा गएको उनको भनाइ थियो ।नरेशका अनुसार सन् २०१९ को अन्त्य वा २०२० को सुरुवाततिर सामाजिक सञ्जालमार्फत ममतासँग उनको चिनजान भएको थियो ।
त्यतिबेला आफू अर्कै महिलासँग विवाह गर्ने तयारीमा रहेको उनले अदालतमा बताएका छन् । उक्त सम्बन्ध टुटेपछि ममतासँग प्रेम सम्बन्ध अघि बढाएको र पहिलो कुराकानी भएको एक–दुई सातामै विवाहको योजना बनाएको उनको भनाइ थियो । विवाहपछि ममता अमेरिका पुगेकी थिइन् ।
त्यसपछि पनि घरायसी कामको अधिकांश जिम्मेवारी आफूले नै सम्हाल्ने गरेको नरेशले बताए । घर सफा गर्ने, भान्साबाहेकका काम गर्ने, लुगा धुने तथा घरको बिमा र कागजी प्रक्रिया मिलाउने काम आफूले गर्ने गरेको उनको दाबी छ।नरेशका वकिल ट्रेसी लेनोक्सले घरमा ममताको जिम्मेवारी के थियो भनेर सोध्दा उनले ‘मलाई नियन्त्रण गर्नु’ भन्ने जवाफ दिएका थिए । त्यसपछि ममताले खाना पकाउने गरेको पनि उनले बताएका छन् ।
सन् २०२३ अगस्टमा छोरी जन्मिएपछि ममताको व्यवहारमा परिवर्तन आएको नरेशको दाबी छ । पहिले रमाइलो मान्ने कुरामा पनि उनी हाँस्न छाडेको र सामान्य विषयमा समेत रिसाउने गरेको उनले बताए । बत्ती छिटो बाल्दा वा आफूले ठूलो स्वरमा खोक्दा समेत ममताले विवाद गर्ने गरेको उनको भनाइ थियो ।
वैवाहिक सम्बन्धमा तनाव र झगडा बढ्दै गएको स्वीकार गरे पनि नरेशले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन् । ‘हाम्रो पारिवारिक संस्कारमा त्यस्तो छैन । मैले परिवारमा कसैले शारीरिक हिंसा गरेको देखेको छैन । म त्यस्तो व्यक्ति होइन,’ उनले अदालतमा भनेका छन् ।
ममता बेपत्ता हुनुअघिका महिनामा उनको मानसिक स्वास्थ्यमा समस्या रहेको हुन सक्ने नरेशले बताएका छन् । त्यसबेला आफूले उनको अवस्थाबारे गहिरिएर ध्यान दिन नसकेको पनि उनले स्वीकार गरेका छन् ।सरकारी वकिलले सोमबार आफ्नो पक्षको प्रमाण प्रस्तुत गर्ने काम पूरा गरेका थिए ।
१३ दिनसम्म चलेको सुनुवाइका क्रममा ममता अन्तिमपटक जीवित देखिएको समयपछि नरेशले पञ्जा, एयर फ्रेसनर र सरसफाइका सामग्री खरिद गरेको सीसीटीभी फुटेज अदालतमा प्रस्तुत गरिएको थियो । ममता सन् २०२४ जुलाईको अन्त्यतिर भर्जिनियाको मनासस पार्कस्थित आफ्नै घरबाट बेपत्ता भएकी थिइन्।
उनको शव अहिलेसम्म फेला परेको छैन। सरकारी पक्षले नरेशले ममताको हत्या गरी शवका टुक्रा उत्तरी भर्जिनियाका विभिन्न फोहोर फाल्ने स्थानमा पु¥याएको दाबी गर्दै आएको छ। सरकारी वकिलले यसअघि भट्ट दम्पतीको घरको बेडरुम र बाथरुममा भेटिएको रगतको डीएनए ममतासँग मेल खाएको प्रमाण अदालतमा प्रस्तुत गरेका थिए।
त्यसैगरी एउटा आरामा भेटिएको रगत, नरेशको मोबाइलबाट गरिएको गुगल खोजी, सीसीटीभी फुटेज तथा सरसफाइका सामग्री खरिद गरेको विवरणलाई पनि अभियोजन पक्षले प्रमाणका रूपमा अघि सारेको छ। ममता बेपत्ता हुनुअघि नरेशले ‘भर्जिनियामा श्रीमती हराएमा के हुन्छ’, ‘श्रीमतीको मृत्यु भएमा के हुन्छ’ र सम्बन्धविच्छेदसम्बन्धी विषय गुगलमा खोजेको अभियोजन पक्षको दाबी छ।
ममता हराएपछि नरेशले घर बेच्ने प्रयास गरेको विषयलाई पनि सरकारी पक्षले शङ्कास्पद मानेको छ। नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव क्षतविक्षत पारेको गरी तीनवटा अभियोग छन्। उनले सबै अभियोग अस्वीकार गर्दै आएका छन्।
नरेशले आफ्नो पृष्ठभूमि र घटनाको आफ्ना तर्फको विवरण सुनाइरहँदा जुरीहरूले संशयपूर्ण नजरले हेरिरहेका थिए र कतिपय अवस्थामा दिक्क मानिरहेका देखिन्थे । नरेशका जवाफहरू सुन्दा कम्तीमा एक जना जुरीले आँखा घुमाएका थिए भने धेरैजना दिनभर अन्योलपूर्ण अनुहारमा देखिएका थिए ।
नरेश भट्टको बयान बिहीबार पनि जारी रहनेछ । सरकारी पक्षले नोभेम्बर २ मा आफ्ना साक्षी र प्रमाण प्रस्तुत गर्ने काम सकेपछि प्रतिरक्षा पक्षले नरेशलाई नै पहिलो साक्षीका रूपमा अदालतमा उभ्याएको हो । यद्यपी, नरेशले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् । अदालतमा सुनुवाइ जारी छ र मुद्दाको अन्तिम फैसला आउन बाँकी छ ।



