१९ कार्तिक , काठमाण्डौ ।
अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको जितपछि डोनाल्ड ट्रम्प र उनी निकटहरुको राजनीति तथा व्यवसायिक क्षेत्रमा समेत नकारात्मक असर परिरहँदा यता अन्तर्राष्ट्रिय बजारमा भने कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको छ । यससँगै अमेरिकी तथा भारतीय सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य आठ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल करिब ९५ डलरमा झरेको छ । यो पछिल्लो दुई महिना यताकै न्यून मूल्य हो । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको युद्धका कारण रिपब्लिकन पार्टीले निर्वाचनमा पराजय बेहोर्नुपरेको टिप्पणी गरेपछि तेलको मूल्यमा गिरावट आएको हो ।

भान्सको अभिव्यक्तिपछि लगानीकर्ताहरूले मध्यपूर्वमा द्वन्द्व थप चर्किने सम्भावनाको पुनर्मूल्यांकन गरेका छन् । युद्ध अन्त्य गर्ने, जीवनयापनको लागत घटाउने र इजरायलसँगको अमेरिकी सम्बन्धको समीक्षा गर्ने उनको प्रस्तावलाई पनि बजारले सकारात्मकरूपमा लिएको देखिएको छ ।
निर्वाचन परिणामलाई मध्यपूर्वमा तनाव कम हुन सक्ने संकेतका रूपमा समेत हेरिएको छ । बुधबार अमेरिकी सेयर बजारका प्रमुख सूचकांकमा पनि वृद्धि भएको छ । डाउ जोन्स इन्डस्ट्रियल एभरेज तीन प्रतिशतले बढेको छ भने एसएन्डपी ५०० मा १.६ प्रतिशत र प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिटमा १.४ प्रतिशतको वृद्धि भएको छ ।
भारतको सेयर बजारमा पनि उल्लेख्य सुधार देखिएको छ । सेन्सेक्स एक हजार ३८८.४३ अंक अर्थात् १.८ प्रतिशतले बढेको छ भने निफ्टी ३८२.१५ अंक अर्थात् १.५९ प्रतिशतले उकालो लागेको छ । यसैबीच चुनावमा रिपब्लिकन पार्टीको ठूलो हारपछि बुधबार अमेरिकी वित्त मन्त्रालयले भारत र टर्कीका कम्पनी तथा व्यापारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयले इरानी शासनलाई समर्थन गर्ने कुनै पनि व्यक्ति वा संस्थाविरुद्ध कारबाही जारी राख्ने चेतावनी दिएको छ। यी प्रतिबन्ध राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अभियानअन्तर्गत लगाइएको हो। यस अभियानको उद्देश्य इरानलाई तेल बिक्री गरेर आम्दानी गर्नबाट रोक्नु रहेको छ।
अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले बुधबार मन्त्रालयको निर्णय सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामीले पटक–पटक भनेका छौँ, ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत या त तपाईं हाम्रो पक्षमा हुनुहुन्छ या विपक्षमा। तपाईं कहाँ हुनुहुन्छ भन्ने हामीलाई थाहा छ।
इरानी शासनलाई निरन्तर समर्थन गर्नेहरूविरुद्ध प्रतिबन्ध लगाउनेछौँ, चाहे उनीहरूले स्थल, समुद्र वा हवाई मार्गबाट यस्तो गरिरहेका हुन्।’ मन्त्रालयको निर्णयअनुसार भारतमा रहेका सुनील कुमार शर्मा र उनकी पत्नी जसप्रीत प्रीति शाहिदको ठूलो आपराधिक सञ्जाललाई प्रतिबन्धको निशाना बनाइएको छ।
उक्त सञ्जालले इरानको ‘स्यान्डो फ्लीट’ लाई सहयोग गर्दै आएको अमेरिकी आरोप छ । प्रतिबन्धित व्यक्तिको सूचीमा चण्डीगढका अश्वनी कुमार धीमान र इश्विन्दर सिंह पनि छन् ।
त्यस्तै, एलेक्सार्या मिडिया एन्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड, आर्यावर्त मेरिटाइम एन्ड एजुकेसनल ट्रस्ट, एलेक्सार्या फिनसर्भ प्राइभेट लिमिटेड, आर्यावर्त शिप म्यानेजमेन्ट प्राइभेट लिमिटेड, इस्वातिनी मेरिटाइम अफेयर्स एन्ड इन्टरनेसनल शिप रजिस्ट्री प्राइभेट लिमिटेड (सिंगापुर), फ्युगो ग्राउन्ड सर्भिसेज इंक(टर्की), ओस्यानिक टेक्नोलोजिज इन्डिया, पोलिनेसिया मेरिटाइम प्राइभेट लिमिटेड, प्रिसेप्ट ट्रेन्ड्स प्राइभेट लिमिटेड र विहारा बोटिङ प्राइभेट लिमिटेड (केरल) लगायतका कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी वित्त मन्त्रालयका अनुसार उक्त सञ्जालले प्रतिबन्धित जहाजहरूलाई नक्कली झण्डा र प्रमाणपत्र उपलब्ध गराउने गरेको थियो। ती जहाजहरू इरानी पेट्रोलियम पदार्थ ओसारपसारमा प्रयोग हुँदै आएका थिए । इरानी सेना तथा उसका सहयोगी संगठनका लागि काम गर्ने जहाजहरू पनि यसमा संलग्न रहेको मन्त्रालयको दाबी छ ।
यसैबीच अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्रेटिक पार्टीले नियन्त्रण कायम गर्नुका साथै रिपब्लिकनहरूको परम्परागत गढ मानिने टेक्सस राज्यमा समेत ऐतिहासिक जित हासिल गरेपछि विश्वकै शीर्ष धनाढ्य इलोन मस्कको व्यापारिक साम्राज्यमाथि लगानीकर्ताहरूको संशय बढेको छ ।
चुनावी नतिजा सार्वजनिक भएसँगै बुधबार मस्कका प्रमुख कम्पनीहरू टेस्ला र स्पेसएक्सको सेयर मूल्यमा भारी गिरावट आउँदा संयुक्त बजार पुँजीकरणबाट १२० अर्ब अमेरिकी डलरभन्दा बढी रकम गुमेको छ । न्युयोर्कको सेयर कारोबारमा टेस्लाको सेयर २.४ प्रतिशत र स्पेसएक्सको सेयर ४.९ प्रतिशतले ओरालो लागेको छ ।
रिपब्लिकन पार्टीका प्रमुख चन्दादाता रहेका मस्कविरुद्ध डेमोक्रेटहरूको देशव्यापी लहर र विशेषगरी टेक्ससमा भएको उलटफेरले लगानीकर्ताहरूलाई त्रसित बनाएको हो । मस्कले यस निर्वाचनमा रिपब्लिकन पार्टीको पक्षमा करिब ४५ करोड डलर खर्च गरेका थिए ।
त्यसमा २० करोड ५० लाख डलर टेक्ससका चुनावी प्रतिस्पर्धामा मात्र खन्याइएको थियो । उनले आफ्ना २४ करोड फलोअर्स रहेको सामाजिक सञ्जाल ‘एक्स’ मार्फत डेमोक्रेटविरुद्ध मतदान गर्न खुला आह्वानसमेत गरेका थिए । मस्कले सन् २०२० पछि क्यालिफोर्निया छाडेर टेक्ससलाई आफ्नो व्यवसायको मुख्य मुख्यालय बनाएका थिए ।
तर, टेक्ससमा डेमोक्रेटिक उम्मेदवार जीना हिनोजोसा गभर्नरमा निर्वाचित हुनु र सिनेट सिटसमेत डेमोक्रेटले कब्जा गर्नु मस्कका लागि ठूलो राजनीतिक चुनौती बनेको छ । नवनिर्वाचित गभर्नर हिनोजोसाले डेटा सेन्टरहरूको अनियन्त्रित विस्तारविरुद्ध चुनावी अभियान चलाएकी थिइन् ।
राज्यस्तरमै विपक्षीको पकड बनेपछि अब ह्वाइट हाउसको राष्ट्रपतीय ‘भिटो’लाई समेत बाइपास गरेर मस्कका परियोजनाहरूमा कानुनी तथा प्रशासनिक अड्चन खडा गर्न डेमोक्रेटहरूलाई सहज हुने विश्लेषकहरूको ठहर छ । बजार विज्ञहरूका अनुसार, डेमोक्रेट नेतृत्वको संसद्ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासमा कडा नियमन लगाउने, सरकारी ठेक्काहरूमा छानबिन बढाउने र टेस्ला तथा स्पेसएक्सबीच हुन लागेको सम्भावित ऐतिहासिक मर्जरलाई रोक्न सक्ने सम्भावना छ ।
सरकारी ठेक्काबाटै अर्बौं डलर आम्दानी गर्दै आएको स्पेसएक्स र एआई दौडमा रहेको टेस्ला दुवै आगामी दिनमा कडा संसदीय निगरानीमा पर्ने देखिएको छ । जनवरीमा नयाँ कंग्रेसले कार्यभार सम्हाल्नुअघि नै मस्कले टेस्ला र स्पेसएक्सको मर्जर सम्झौतालाई छिटो टुंग्याउन दबाब बढाउन सक्ने अनुमान गरिएको छ ।
चुनावी परिणामपछि मस्कले सामाजिक सञ्जाल ‘एक्स’मा व्यंग्य गर्दै लेखेका छन्, ‘लाग्छ मेरो चुनावलाई प्रभावित पार्ने ‘स्पेस लेजर’ले यसपटक काम गरेन । अब अन्तरिक्षमै डेटा सेन्टर खोल्ने विकल्प राम्रो देखिँदैछ ।’ विश्लेषकहरूले टेक्ससमा व्यावसायिक दबाब र अवरोध तीव्र भएमा मस्कले आफ्ना कम्पनीहरूलाई पुनः अर्को राज्यमा स्थानान्तरण गर्न सक्ने विकल्प खुला राखेको बताएका छन् ।
रोचक कुरा के छ भने समग्र अमेरिकी प्रविधि बजार र वातावरणमैत्री नीतिको लाभ पाउने आशामा रिभियन र लुसिडजस्ता अन्य विद्युतीय सवारी उत्पादकहरूको सेयर उकालो लागे पनि ट्रम्प र रिपब्लिकनसँग मस्कको अत्यधिक राजनीतिक निकटताका कारण टेस्ला र स्पेसएक्सले भने आगामी दुई वर्ष निकै कठिन कानुनी र राजनीतिक चुनौतीको सामना गर्नुपर्ने जोखिम देखिएको छ ।



