३ असोज , काठमाण्डौ ।
प्रतिनिधिसभा बैठकमा नआएको भनेर आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन शाहले जेनजी सांसदहरूसंग भेट गरेर आफ्नो असन्तोष सुनाएका छन् । शुक्रबार रास्वपाबाट प्रतिनिधित्व गर्ने ११ जेनजी सांसदसँग प्रधानमन्त्री बालेनले नयाँ प्रतिनिधिसभामा युवाहरूको संख्या ठूलो भए पनि त्यसलाई सन्चालन गर्ने पारा पुरानै भएको भन्दै गुनासो समेत गरेका छन् ।
उनले जेनजीहरूबाट त्यसमा निर्णायक हस्तक्षेप चाहिएको पनि अपेक्षा राखे । अढाइ घण्टा चलेको बैठकमा सुरुमै प्रधानमन्त्रीले जेनजी सांसदलाई सोधे, ‘मैले तपाईंहरूको अपेक्षा कत्तिको पूरा गर्न सकेको छु ? के मैले तपाईंको पुस्तालाई प्रतिनिधित्व गर्न सकेको छु ?’

सांसदपिच्छे हरेकका धारणा सुन्दै, लगत्तै जवाफ दिएका प्रधानमन्त्रीले भने, ‘तपाईंहरू जुन उमेर समूहको हनुहुन्छ, त्यही उमेर समूहको बन्नुस् । ५० वर्षको माननीयजस्तो देखिने प्रेसर नलिनुस् । तपाईंहरूभन्दा जुनियर पुस्ता पनि आइसक्यो, उनीहरूसँग पनि भेट्नुहोस् ।’


उनले एमालेका केही युवा सांसदको नाम लिँदै उनीहरूले केपी ओली पुस्ताको प्रवृत्तिबाट आफूलाई बाहिर निकाल्न नसकेको कटाक्ष गरे । प्रधानमन्त्रीले अहिलेको सरकार वा संसदमा रहेर भ्रष्टाचारजन्य क्रियाकलाप नहुने भएकाले राजनीतिसँगै साइड बिजनेस थाल्ने योजना बनाउन उनीहरूलाई आग्रह गरे ।
उनले भने, ‘साइड बिजनेस गर्नुस् । आर्थिक स्वरोजगार बन्ने बाटो अपनाउनु होस् । नत्र पछि गाह्रो हुन्छ ।’ प्रधानमन्त्री बालेनले संसदका इस्युमा नयाँपन ल्याउन जेनजी सांसदले मेहनत गर्नुपर्ने बताए । हरेक प्रश्नका जवाफहरू एआईसँग सोधेर नीतिनिर्माता र नेता बन्न नसकिने बालेनको भनाइ थियो ।

‘परिपक्वता भनेको कामबाट आउँछ, अध्ययनबाट आउँछ । जे पनि एआईलाई सोधेर परिपक्व नेता बन्न सकिँदैन, तपाईंहरू भनेको नीतिनिर्माता हो, त्यसै अनुसार तयारी गर्नुहोस्,’ प्रधानमन्त्रीले भनेको उद्धृत गर्दै सहभागीहरूले भने, ‘गर्नुस् कोसिस । अप्ठेरो परेछ भने बरु हाम्रो सचिवालयसँग भन्नुहोस् ।’
प्रधानमन्त्रीलाई भेटेर रास्वपा सहमहामन्त्री तथा सांसद पुरुषोत्तम यादवले धेरैवटा सरकारी नियुक्तिमा मधेसीलाई किन विभेद भनी सोधेका थिए । उनले जेनजी आन्दोलनका क्रममा गिरफ्तारहरूलाई अहिलेसम्म छाड्न नसकिएको बारे प्रश्न उठाए । उनले मधेसका नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध आदिले युवाहरूलाई पारेको असरबारे आवाज राखे ।

अर्का नेता शिव यादवले मधेसीहरूलाई अहिले पनि अवसरहरूमा विभेद जारी रहेको भन्दै ध्यानाकर्षण गराए । उनले अस्पतालहरूमा एन्टिस्नेक भेनम अभावले सर्पदंशका बिरामीलाई परेको मारबारे अवगत गराए । बब्लु गुप्ताले वर्षायाम बित्न लाग्दा पनि कृषि मन्त्रालयबाट मलको समस्या समाधान हुन नसकेको भन्दै आलोचना गरे ।
अर्की सांसद श्रद्धा कुँवरले युवाहरूकै विशाल मतबाट सरकार बने पनि अझै पनि समाजमा युवालाई उर्जाशीलताको भावना जगाउन नसकेको टिप्पणी गरिन् । उनले किसानका मुद्दाहरूमा राज्य अझै उदार बन्न नसकेको, महँगी बेरोजगारी लगायत समस्याले जनता प्रताडित भइरहेको विषय प्राथमिकतासाथ उठाइन् ।
सांसद मनिष खनालले युवाहरूलाई खेलकुद, मनोरन्जन लगायत विषयमा जोड्नुपर्नेमा औंल्याए । उनले नेपालको प्राकृतिक विपद्बारे विदेशका ठूला स्पोर्ट म्याचहरूमा कतै मौनधारण, कतै सोसल मिडिया एपियरेन्स अनि सहायताकै आह्वान चलिरहे पनि त्यसलाई स्पोट्र्स डिप्लोमेसीसँग जोड्न नसकिएको टिप्प्णी गरे ।

खनालले ‘चितवन राष्ट्रिय निकुन्ज क्षेत्र आसपास व्यापार व्यवसाय गर्नेहरूलाई हैरानी भएको, मध्यवर्ती क्षेत्रमा जीवनयापन कष्टकर हुँदै गएको जस्ता विषयमा ध्यान दिन सुझाए । प्रशान्त उप्रेतीले त्रिशुली सडक अवरुद्ध भइरहँदा भीमफेदी हेटौडाको सडक खण्डमा चाप पर्न गएको अवगत गराउँदै अब वैकल्पिक मार्गहरूका बारेमा तयारी गर्नुपर्ने विषय उठाए ।
उनले पिउने पानीको प्रबन्धजस्ता आधारभूत विषयमा आजका दिनमा समेत प्रश्न उठाइराख्नुपर्ने स्थिति आउनु दुखद भनी क्षोभ व्यक्त गरे । यस्तै खिमा विक, स्मृति सेन्चुरी, सुलभ खरेल, केपी खनाल आदिले विभिन्न मुद्दाहरू उठाएका थिए ।
सांसदहरूको प्रश्न तथा टिप्पणीमा जवाफ दिँदै प्रधानमन्त्री बालेनले रोजगारी लगायत विषय नै अहिलेको प्राथमिकता भएको, तर सांसदहरू बरालिएको टिप्पणी गरे । ‘तपाईंहरू २५ वर्षमा सांसद भएको मान्छे, ३० वर्षको हुँदा के गर्नुहुन्छ ? तयारी गर्नुपर्दैन ?’ सांसदहरूले बालेनको भनाइ उद्धृत गर्दै सुनाए, ‘त्यसैले अरुभन्दा भिन्न हुने कोसिस गर्नुपर्छ ।’
झन्डै दुई घन्टा लामो कुराकानीको सुरूआतमा प्रधानमन्त्री शाहले आफूले धेरै अघिदेखि नयाँ पुस्ताका सांसदलाई भेट्न चाहेको भए पनि परिस्थिति नमिलेको बताएका थिए । शाहले जेनजी उमेर समूहका सांसदहरूलाई कक्षा ११ र १२ मा पढ्ने युवाका कुराहरू, स्टार्टअपको विषय संसदमा उठाउन सुझाव दिए ।

त्यस्तै, युवा सांसदहरूलाई आफूले गरिरहेको बिजनेस भए निरन्तरता दिन र नभए व्यवसायमा लाग्न पनि सुझाव दिएका हुन् । छलफलमा सहभागी अर्का सांसद मनिष खनालले प्रधानमन्त्री शाहले संसदमा एआई र डेटाका विषय उठाउन सुझाव दिएका थिए ।
’प्रधानमन्त्रीले संसदको बैठक हेर्नु हुँदो रहेछ,’ खनालले भने, ’उहाँले संसदमा नयाँपन देखिएन भन्नुभयो। फ्रेस पार्लिमेन्टेरियनले विषय उठाउँदा समाधान सहित उठाउनुहोस् भन्नुभयो।’ ’जेनजी उमेर समूहका कुरा उठाउनुहोस् भन्नुभयो। युवा पुस्तालाई रोजगारीसँग जोड्ने कुरा उठाउनुहोस् भन्ने उहाँको सुझाव थियो,’ खनालले भने, ’सुशासन र विधिका कुरा सदनमा सधैं उठ्छन्। तपाईंहरू समाधानसहित उठाउनुहोस् भन्नुभयो।’
छलफलका सहभागी सांसद केपी खनालका अनुसार प्रधानमन्त्री शाहले स्टार्टअप र व्यवसाय गर्न जरूरी भएको बताएका थिए। ’अर्को कार्यकालमा सांसद हुनुभएन भने के हुन्छ? त्यसैले व्यवसाय भए बढाउनुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ खनालले भने, ’तपाईंहरू पुराना सांसद भन्दा पृथक देखिनुपर्छ भन्नुभयो।’
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई जनताले नेता भनेर बुझ्न नहुने बताएका थिए । ’जेनजी पृथक हुन्। आउँदो पुस्ताको कुरा गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा थियो,’ खनालले भने, ’प्रधानमन्त्रीले हामीलाई ’नेता जस्तो कुरा नगर्न’ सुझाव दिनुभयो। नेताको जस्तो कुराले जनता वाक्क छन्। हामी नेताजस्तो कुरा नगरौं भन्ने प्रधानमन्त्रीको धारणा थियो।’
प्रधानमन्त्री शाहले सुहाङ नेम्वाङले केपी ओलीले उठाउने जस्तो कुरा उठाए पुस्तान्तरण हुन नसक्ने उदाहरण समेत दिएका थिए । यसैबीच प्रधानमन्त्री शाहले युवाले सडकमा मागेको सुशासन आफूहरूले प्रविधिबाट सुनिश्चित गर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्। उनले पुरानै बाटो मात्र हिँड्ने नभइ कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर अर्थतन्त्र निर्माण गर्ने बताए ।
’हामी पुरानै बाटो मात्र हिँड्ने छैनौँ। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ,’ उनले भने, ’डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो। युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ।’
शाहले वर्तमान सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। उनले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद र असमानताको अन्त्य, विकास, समृद्धि, सामाजिक न्याय तथा समतामूलक समाज निर्माणको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।



