६ जेठ,काठमाण्डौ।
प्रधानन्यायाधीश डा. मनोज शर्माले मुद्याको सुनुवाइ गर्न थालेका छन् । प्रधानन्यायाधीसमा सिफारिस भएको भोलिपल्टै सर्वोच्चमा खटपट भएपछि इजलासमा नबसेका शर्मा १२ दिनपछि इजलासमा फर्किएका हुन् । उनी मंगलबार प्रधानन्यायाधीश नियुक्त भएपछि बुधबार गोला तानेर इजलासमा बसेका हुन् ।
आज श्रीकान्त पौडेलसँग शर्माको संयुक्त इजलास थियो । आज प्रधानन्यायाधीश शर्मासहितको इजलासले धमाधम मुद्दाको सुनुवाइ गरिरहेको छ । शर्मा रहेको इजलासमा ३२ वटा मुद्दाको पेसी तोकिएका छन् । जसमा ६ वटा रिट निवेदनमा सुनुवाइ सकिएको छ । वैशाख २४ गते शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका थिए ।
त्यसको भोलिपल्टै गोला तान्न हलमा पुगेपछि तत्कालीन कायममुकामय प्रधानन्यायाधीशसँग उनको सामान्य खटपट परेको थियो । त्यसपछि उनी गोला नतानी आफ्नो च्याम्बरमा फर्किएका थिए । त्यसयता उनी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया नटुंगिएसम्म मुद्दाको सुनुवाइमा गएनन् ।
यसबीच नवनियुक्त प्रधानन्यायाधीश शर्माले न्याय सम्पादनमा शङ्का उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताएका छन् । सर्वोच्च अदालतमा मंगलबार साँझ पदभार ग्रहण गरे लगत्तै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शङ्का उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने प्रतिक्रिया दिएका थिए ।
उनले आफ्नो पहिलो प्राथमिकता भनेको स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राख्ने भएको बताए । न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा म बाट कुनै हस्तक्षेप हुने छैन, उनले भने ।
‘न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ हो शर्माले भने, ‘त्यसैले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै मेरो कार्यकालको मूल ध्येय रहनेछ।’
यता शर्मा प्रधानन्यायाधीश भएर फर्किएकै दिनदेखि न्यायाधीश सपना मल्ल प्रधान भने बिदामा बसेकी छन्। मल्लले २० दिनको बिदा लिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए । आफूभन्दा जुनियर न्यायाधीश सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त भएपछि मल्ल असन्तुष्ट थिइन् ।
शर्मा प्रधानन्यायाधीश नियुक्त हुनुअघि उनी आफैँले कायममुकायम प्रधानन्यायाधीशको रूपमा बिदा स्वीकृत गरेकी हुन् । सर्वाेच्चका न्यायाधीश बिदामा बस्नका लागि प्रधानन्यायाधीशसमक्ष स्वीकृतिका लागि पेस हुने गर्छ। शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुपूर्व नै मल्लले आफ्नो बिदा आफैँले स्वीकृत गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
यसअघि मल्ल सर्वोच्चको न्यायाधीश वरीयतामा पहिलो रोलक्रममा थिइन् । मल्ल पछिको दोस्रो रोलक्रममा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुँयाल थिए । उनीहरू सबैलाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदको कारण अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । डा. शर्माले मंगलबारै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका थिए । तर नवनियुक्त प्रधानन्यायाधीशको पदभार ग्रहणमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल उपस्थित थिइनन् ।
न्यायाधीश प्रधान उपस्थित नभएपछि वरिष्ठताका आधारमा कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई फुलमाला पहिरिएर स्वागत गरेका थिए । यसैबीच मल्लको कार्यकक्ष सारिएको छ । यसअघि मल्ललाई कामु प्रधान न्यायाधीशको हैसियतमा नयाँ भवनको तेस्रो तलामा सचिवालयसँगै च्याम्बरको व्यवस्था थियो ।
अब उक्त स्थानमा नवनियुक्त प्रधान न्यायाधीश शर्माको इन्ट्रि भएपछि सर्वोच्च प्रशासनले मल्ललाई एनेक्स भवनको तेस्रो तलामा च्याम्बर रहने व्यवस्था गरिएको छ । यस्तै न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद पनि हटेको छ । सर्वोच्च अदालतमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्याय परिषद् सदस्य रहेका रेग्मीको बरिष्ठतम् पद हटेको हो ।
त्यस्तै न्यायाधीश रेग्मीको सदस्यता समेत खोसिएको छ । यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान रहेका बेला उनले न्याय परिषद् सदस्यमा बरिष्ठतम् न्यायाधीशमा रेग्मीलाई सिफारिस गरेकी थिइन । अब मङ्गलबर देखि सपना कामु प्रधानन्यायाधीशबाट हटेर प्रधान बरिष्ठतम् न्यायाधीश बनेकी हुन् ।



