६ जेठ,काठमाण्डौ।
मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपाली टोलीले १५ बल अगावै आठ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ३२ र रुवि पोद्दारले १५ रन बनाइन् । नेपालको जितमा सम्झना खड्काले महत्वपूर्ण भूमिका निभाएकी हुन् । उनले ३९ बलमा २ चौकासहित ३२ रन बनाइन् । कविता जोशी ६ र रिया शर्मा चार रनमा अविजित रहे । सीता रानामगरले पाँच र कविता कुँवरले तीन रन बनाइन् ।
कप्तान इन्दु बर्मा र रुविना क्षेत्री समान एक रनमा क्याच आउट भए। विन्दु रावल र पूजा महतो शून्यै आउट भए । मलेसियाका लागि नुर क्वायसाले तीन विकेट लिइन्। एल्सा हन्टर र आस्या लिसाले समान दुई विकेट लिए। नुर डानियाले एक विकेट लिइन् ।
त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ६७ रन बनाउँदा अलआउट भयो । मलेसियालाई कम स्कोरमा रोकन पूजा महतोले तीन विकेट लिइन् । उनले आफ्नो स्पेलमा १३ रन खर्चिइन्।
मनिषा उपाध्यायले चार ओभरमा एक मेडन राख्दै १७ रन दिएर दुई विकेट लिइन् । कविता कुवँरले तीन ओभरमा एक मेडन राख्लै १२ रन खर्चेर एक विकेट झारिन्। रिया शर्माले २.५ ओभरमा १३ रन दिएर दुई विकेट लिइन् । सीता रानामगरले तीन ओभरमा एक मेडन राख्दै ११ रन खर्चेर एक विकेट आफ्नो नाममा गरिन् ।
मलेसियाका लागि इल्सा हन्टरले १० रन बनाइन्। अन्य कुनै ब्याटरले दोहोरो अंकको छुन सकेनन् । मलेसिया रहेको नेपाली टोलीले दोस्रो खेल शुक्रबार खेल्नेछ । जितसँगै दुई खेलको टि ट्वान्टी सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । एसियन खेलकुद छनोट खेल्न नेपाली टोली मलेसिया पुगेको हो । छनोट शनिवार सुरु हुनेछ ।



