५ जेठ , काठमाण्डौ ।
नेपाल क्रिकेटसँग सम्बन्धित बहुचर्चित कानुनी विवाद अन्ततः साम्य हुने संकेत देखिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिकता, स्वामित्व तथा बौद्धिक सम्पत्तिलाई लिएर लामो समयदेखि नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अदालत पुगेको जोरा स्पोट्र्स म्यानेजमेन्टले आफूले दायर गरेका सम्पूर्ण मुद्दा फिर्ता लिएको घोषणा गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत तथा उच्च अदालत पाटनमा दायर सबै मुद्दा फिर्ता लिइएको जानकारी दिएका हुन् । ती मुद्दाहरू नेपाल प्रिमियर लिगको आधिकारिकता, स्वामित्व अधिकार, ट्रेडमार्क तथा बौद्धिक सम्पत्तिसँग सम्बन्धित थिए ।
अख्तरका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहल तथा अनुरोधपछि खेल क्षेत्रको समग्र हितलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो । उनले खेल विकासका लागि सबै पक्षबीच सहकार्य, समन्वय र आपसी समझदारी आवश्यक रहेको भन्दै त्यसैअनुसार आफूले कानुनी विवाद अन्त्य गर्ने निर्णय गरेको बताएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, “खेल क्षेत्रको अभिभावक निकायका रूपमा परिषद्ले सम्पूर्ण मुद्दाहरू फिर्ता लिन अनुरोध गर्नु तथा खेल विकासमा सबै पक्ष एकजुट हुनुपर्ने सन्दर्भमा, यदि सम्बन्धित विपक्षीहरू समेत सहमत हुने हो भने आपसी समझदारी, सहकार्य र समन्वयका आधारमा मुद्दा फिर्ता लिन हामीलाई कुनै आपत्ति रहने छैन । यसै विज्ञप्तिमार्फत नेपाल क्रिकेट संघविरुद्ध रहेका सम्पूर्ण मुद्दाहरू फिर्ता लिएको जानकारी गराउँदछु ।”
यद्यपि, उनले आफ्नो नाममा दर्ता रहेको ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ कम्पनी तथा सो कम्पनीको बैंक खातामाथिको स्वामित्व भने यथावत् रहने स्पष्ट पारेका छन् । यसले भविष्यमा एनपीएलको सञ्चालन, ब्रान्ड अधिकार तथा व्यवस्थापनका विषयमा थप छलफल र सहमतिको आवश्यकता रहने संकेत गरेको छ ।
आमिर अख्तरले आफू विभिन्न उमेर समूह तथा राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गरिसकेको खेलाडी भएको स्मरण गर्दै खेलाडी जीवनदेखि नै क्रिकेट र समग्र खेल क्षेत्रभित्र देखिएका विकृति, विसंगति र व्यवस्थापकीय कमजोरीविरुद्ध आवाज उठाउँदै आएको बताएका छन्।
खेल जीवनपछि पनि खेलकुदको विकास र सुधारका लागि सम्बन्धित निकायभित्र जायज विषय उठाउँदा पर्याप्त सुनुवाइ नभएपछि आफू अदालत जान बाध्य भएको उनको भनाइ छ । उनले आफ्नो कानुनी लडाइँ कुनै व्यक्तिगत द्वेष वा स्वार्थका कारण नभई नेपाली खेलकुद क्षेत्रलाई व्यवस्थित, पारदर्शी र व्यवसायिक बनाउने उद्देश्यले अघि बढाइएको दाबी गरेका छन् ।
अख्तरले नेपालमा खेललाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्न सके देशको अर्थतन्त्रमा समेत सकारात्मक तथा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद् तथा अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै नेपाली क्रिकेट र समग्र खेल क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जोरा स्पोट्र्स र क्यानबीचको विवाद नेपाली क्रिकेटकै सबैभन्दा चर्चित विवादमध्ये एक मानिएको थियो । विशेषगरी नेपाल प्रिमियर लिगको नाम, अधिकार र सञ्चालन प्रक्रियालाई लिएर उत्पन्न भएको विवादले क्रिकेट प्रशासनमा तरंग ल्याएको थियो । अब मुद्दा फिर्तासँगै क्यान र जोरा स्पोट्र्सबीच सहकार्यको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ ।



