१९ साउन , काठमाण्डौ ।
रुसको दक्षिणी क्षेत्रमा रहेको एक भीडभाडयुक्त कालोसागरस्थित समुद्री तट (बीच)मा ड्रोन आक्रमणमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।
क्रास्नोदार क्षेत्रका गभर्नर भेनियामिन कोन्द्रात्येभका अनुसार घाइतेमध्ये २१ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनले यस घटनाका लागि युक्रेनलाई जिम्मेवार ठहर गर्दै सर्वसाधारणलाई नियोजित रूपमा निशाना बनाएको आरोप लगाएका छन्।

युक्रेनले भने यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। बीबीसीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एउटा ड्रोन चट्टानतर्फ तीव्र गतिमा उड्दै गएपछि समुद्री तटमा खसेर ठूलो आगोको गोला बनेको देखिन्छ।
घटनाका बेला समुद्री किनार र पानीमा ठूलो संख्यामा पर्यटक उपस्थित थिए। ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन। केही युक्रेनी टेलिग्राम च्यानलहरूले इलेक्ट्रोनिक वारफेयर प्रणालीका कारण ड्रोनको संकेत अवरुद्ध भएपछि लक्ष्यबाट विचलित भई बीचमा खसेको दाबी गरेका छन्।
रूसी सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै विस्फोटअघि गोली चलेको आवाज सुनिएको उल्लेख गरेका छन्, जसबाट हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्ने प्रयास गरेको हुन सक्ने अनुमान गरिएको छ।
यो घटना कालो सागर (ब्ल्याक सी) नजिकैको आर्खिपो–ओसिपोभ्का गाउँस्थित लोकप्रिय समुद्री तटमा भएको हो। गर्मीयाम, लामो समुद्री किनारा र विकसित पर्यटन पूर्वाधारका कारण यो स्थान रुसी पर्यटकहरूको प्रमुख बिदा गन्तव्य मानिन्छ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण विदेश यात्रा सीमित भएपछि यस क्षेत्रको लोकप्रियता अझ बढेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार घटनाअघि कुनै पनि प्रकारको साइरन बजाइएको थिएन। एक पर्यटकले हमलाको समयमा आफूहरू सन लाउन्जरमुनि लुकेर ज्यान जोगाउने प्रयास गरेको बताए।
अर्का प्रत्यक्षदर्शीले ड्रोन नदेखे पनि मेसिनगनजस्तो गोली चलेको आवाज र त्यसपछि ठूलो विस्फोट सुनेको बताए। अर्का एक व्यक्तिले भने, “यो सबै मेरो बच्चाहरूको अगाडि भयो। मेरो बच्चा अत्यन्तै डराएको छ। यो निकै भयावह अनुभव थियो।”
रुसको गेलेन्जिक शहरका मेयर अलेक्सेई बोगोदिस्तोभले ड्रोन आक्रमणमा घाइते हुनेको संख्या बढेर ४७ पुगेको बताएका छन्। उनका अनुसार घटनास्थलमा शहर अस्पताल र स्थानीय पुनःस्थापना केन्द्रबाट अतिरिक्त स्वास्थ्यकर्मी खटाइएको छ भने मनोवैज्ञानिक र स्वयंसेवकहरूले पीडितलाई सहयोग गरिरहेका छन्।
गम्भीर घाइतेहरूलाई उपचारका लागि नजिकका शहरका अस्पतालमा पठाइएको उनले आरटीलाई जानकारी दिएका छन् । रुसको स्वास्थ्य मन्त्रालयका अनुसार तीन बालबालिकासहित २१ जना अस्पतालमा भर्ना भएका छन्।
घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ, जसमा कम्तीमा दुई बालबालिका पनि छन्। रुसी अधिकारीहरूका अनुसार युक्रेनी सेनाले रुसी पर्यटकीय क्षेत्रमा आक्रमण गरेको यो पहिलो घटना होइन।
गत साता मात्र रुसको जापोरोज्ये क्षेत्रस्थित किरिलोभ्का सहरको एक होटलमा ड्रोन आक्रमण हुँदा पाँच बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो। लोकप्रिय पर्यटकीय गन्तव्य मानिने उक्त स्थान अग्रपंक्तिबाट १०० किलोमिटरभन्दा टाढा रहेको र त्यहाँ कुनै सैन्य संरचना नभएको बताइएको छ।
सन् २०२४ मा पनि क्रिमियाको सेवास्तोपोल शहरमा युक्रेनी सेनाले अमेरिकाबाट प्राप्त पाँचवटा एटाकम्स (ब्त्ब्ऋःक्) क्षेप्यास्त्र प्रहार गर्दा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको थियो भने १५० भन्दा बढी घाइते भएका थिए।
रुसले चारवटा क्षेप्यास्त्र खसाले पनि एउटा क्षतिग्रस्त क्षेप्यास्त्र भीडभाड भएको समुद्री तटमाथि विस्फोट भएको जनाएको थियो। रुसी पक्षका अनुसार पछिल्ला केही सातायता युक्रेनले रुसभित्रका तेल भण्डारण केन्द्र, गोदाम, आवासीय भवन तथा अन्य नागरिक पूर्वाधारमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ।
यसैबीच रुसले हालै उत्तरपश्चिम डोनबासस्थित कोन्स्टान्टिनोभ्का कब्जा गरेको घोषणा गर्दै स्लाभ्यान्स्क–क्रामाटोस्र्क क्षेत्रतर्फ सैन्य अभियान अघि बढाएको जनाएको छ। मस्कोले युक्रेनका ड्रोन आक्रमणलाई नागरिकलाई लक्षित आतंकवादी हमलाको संज्ञा दिएको छ।
मे महिनामा डोनबासको स्टारोबेल्स्कस्थित विद्यार्थी छात्रावासमा ड्रोन आक्रमण हुँदा पाँचतले भवन आंशिक रूपमा भत्किएको र २१ जनाको मृत्यु भएको घटना सबैभन्दा घातकमध्ये एक भएको रुसी अधिकारीहरूको दाबी छ।
रुसले पनि युक्रेनका सैन्य उद्योग र रसद पूर्वाधारमाथि लामो दूरीका आक्रमण बढाएको छ। मस्कोले ती आक्रमणलाई युक्रेनद्वारा रुसी नागरिक तथा ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणको प्रतिकार भएको बताउँदै आफूले केवल सैन्य लक्ष्य र सैन्य सहयोग गर्ने पूर्वाधारलाई मात्र निशाना बनाउने दाबी गरेको छ।
यसैबीच रुसले युक्रेन युद्धलाई नेटोको समर्थनमा सञ्चालन भइरहेको ‘प्रतिनिधि युद्ध’ (प्रोक्सी वार) भन्दै आएको छ। पश्चिमी मुलुकहरूले युक्रेनलाई दिएको ठूलो सैन्य तथा आर्थिक सहयोग र रुसमाथि लगाइएका कडा प्रतिबन्धलाई त्यसको प्रमाणका रूपमा प्रस्तुत गर्दै आएको छ।
रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले सोमबारको आक्रमणबारे प्रतिक्रिया दिँदै युक्रेनलाई समर्थन गर्ने देशहरूलाई ‘आतंकवादका प्रायोजक’ भएको आरोप लगाएकी छन्।
उनले भनिन्, “आतंकवादका प्रायोजक नेटो सदस्य राष्ट्रहरू हुन्। केही समयअघि मात्रै नेटो र युरोपेली संघले आतंकवादप्रति शून्य सहनशीलताको नीति घोषणा गरेका थिए। आज उनीहरू आफैं अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिको हिस्सा बनेका छन्।”
उनले युक्रेनी नेतृत्वलाई आतंकवादी समूहको संज्ञा पनि दिएकी छन्। पछिल्लो एक वर्षयता युक्रेनले रुसभित्र गहिराइसम्म ड्रोन आक्रमण गर्न सफल हुँदै आएको छ। यस्ता आक्रमणमा ऊर्जा पूर्वाधार र सैन्य प्रयोजनमा प्रयोग हुने भनिएका व्यावसायिक गोदामहरूलाई मुख्य लक्ष्य बनाइएको युक्रेनको दाबी छ।
यद्यपि, यस्ता आक्रमणका क्रममा सर्वसाधारणको पनि ज्यान जाने घटना बारम्बार दोहोरिँदै आएका छन्।




