७ जेठ , काठमाण्डौ ।
के तपाईंले कहिल्यै सोच्नुभएको छ— एउटा यस्तो राजनीतिक दल, जसले आफूलाई अल्छी भन्छ, जसको नाम एउटा किराको नाममा राखिएको छ, र जसले केवल ४८ घण्टामा लाखौँ मानिसलाई आफ्नो पछि लगाउन सफल भयो ? हो, छिमेकी देश भारतमा अहिले एउटा अनौठो र विस्फोटक डिजिटल आन्दोलन सुरु भएको छ, कक्रोच जनता पार्टी ।
सुन्दा अप्र्याप्त लाग्न सक्छ , तर यो त भारतका लाखौँ शिक्षित तर बेरोजगार युवाहरूको त्यो आक्रोश हो, जसले अहिले दिल्लीको सत्तालाई प्रश्न गरिरहेको छ । “म पनि कक्रोच, “हामी अल्छी छौँ तर जीवित छौँ”— यस्ता अनौठा नाराहरू किन भारतभर भाइरल भइरहेका छन् ? एउटा सामान्य मजाक कसरी जेन–जी पुस्ताको राजनीतिक विद्रोह बन्यो ? आज हामी भारतमा शसक्त रुपमा जन्मिएको कक्रोच जनता पार्टीका बारेमा चर्चा गर्छाै ।
कुनै पनि ठूलो आन्दोलनको पछाडि एउटा झिल्को हुन्छ । यो आन्दोलनको झिल्को भारतको सर्वोच्च अदालतबाट सल्कियो । गत मे १५ मा, एउटा मुद्दाको सुनुवाइका क्रममा सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले एउटा यस्तो टिप्पणी गरे, जसले भारतीय युवाहरूको आत्मसम्मानमा चोट पु¥यायो ।
उनले सामाजिक सञ्जालमा सक्रिय र प्रणालीमाथि प्रश्न उठाउने केही युवाहरूलाई कक्रोच अर्थात साङ्लो जस्तो भनेर टिप्पणी गरेको आरोप लाग्यो । उनको आशय थियो— “रोजगार नपाएका र पेसामा स्थान नभएका कक्रोचजस्ता युवाहरू प्रणालीमाथि आक्रमण गरिरहेका छन् ।” हो, यही शब्दले आगो बाल्यो ।
जब यो खबर सार्वजनिक भयो, बेरोजगारी र परीक्षा घोटालाले थलिएका युवाहरूले यसलाई आफ्नो अपमान ठाने । विवाद यति बढ्यो कि न्यायाधीशले पछि स्पष्टीकरण नै दिनुप¥यो । उनले भने— “मैले सबै युवालाई भनेको होइन, नक्कली डिग्रीधारीलाई भनेको हो । युवा त विकसित भारतका आधारस्तम्भ हुन् ।”
तर, तीर कमानबाट निस्किसकेको थियो । युवाहरूले एउटा कुरा बुझिसकेका थिए— सत्ताको नजरमा उनीहरूको हैसियत कक्रोच भन्दा बढी केही छैन । र, यहीँबाट जन्मियो एउटा नयाँ पहिचान— ‘कक्रोच जनता पार्टी’ । जब अपमानलाई हतियार बनाइन्छ, तब एउटा नयाँ शक्ति जन्मिन्छ ।
३० वर्षीय विद्यार्थी अभिजीत दीपके, जो हाल बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका छन्, उनले एउटा पोस्ट गरे— “सबै कक्रोचहरू एकजुट भए भने के हुन्छ ?” यो एउटा पोस्टले इन्टरनेटमा सुनामी ल्यायो । केही घण्टाभित्रै उनले कक्रोच जनता पार्टीको घोषणा गरे । रोचक कुरा के छ भने, यो पार्टी बनाउन उनले कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोग गरे ।
च्याटजीपीटी र क्लाउड जस्ता टुल प्रयोग गरेर २४ घण्टाभित्रै पार्टीको लोगो, नाम, वेबसाइट र एउटा विस्तृत घोषणापत्र तयार भयो । नतिजा के भयो ? ४८ घण्टामा इन्स्टाग्राममा ९० लाखभन्दा बढी फलोअर । ३ लाख ५० हजारभन्दा बढी मानिसले सदस्यता फाराम भरेको दाबी । र एउटा यस्तो ’पार्टी एन्थम’ जुन अहिले हरेक युवाको मोबाइलमा बजिरहेको छ ।
यो पार्टीको नारा अरूभन्दा फरक छ । उनीहरू आफूलाई ’धर्मनिरपेक्ष, समाजवादी, प्रजातान्त्रिक र अल्छी’ भन्छन् । आखिर किन अल्छी त ? भारतीय समाजमा बेरोजगार युवालाई प्रायः अल्छी भनेर गाली गरिन्छ । सीजेपीले यसैलाई व्यंग्य बनाएको छ । उनीहरू भन्छन— “हामी अल्छी होइनौँ, प्रणालीले हामीलाई अवसर नै दिएको छैन । त्यसैले हामीले यो परिचयलाई नै स्वीकार ग¥यौँ ।”
उनीहरूको घोषणापत्रमा निकै गम्भीर मुद्दाहरू छन्ः विशेषगरी निट परीक्षामा भएको धाँधली र विद्यार्थीहरूको आत्महत्याको विषयमा यो आन्दोलन निकै आक्रामक छ । भारतमा हरेक वर्ष ८० लाख स्नातक उत्पादन हुन्छन्, तर काम छैन। कर्पोरेट मिडिया र न्यायिक नियुक्तिमा हुने राजनीतिक हस्तक्षेपमाथि यसले कडा प्रश्न उठाएको छ । कतिपयले यसलाई डिजिटल जोक भनिरहेका छन् ।
तर विश्लेषकहरू भन्छन्— यो त्योभन्दा धेरै ठुलो कुरा हो । चर्चित युट्युबर मेघनाद एस भन्छन्, “यो पार्टी वास्तविक नहोला, तर यसले उठाएका मुद्दा र यसलाई मिलेको समर्थन वास्तविक राजनीतिभन्दा बढी शक्तिशाली छ ।” अहिलेको जेन–जी पुस्ता परम्परागत राजनीतिक भाषण सुन्न चाहँदैन । उनीहरू मीम, व्यंग्य र भिडियोमार्फत आफ्नो आक्रोश व्यक्त गर्छन् । कक्रोच जनता पार्टीले युवाहरूको यही ’डिजिटल भाषा’ समात्न सफल भयो ।
संस्थापक अभिजीत भन्छन्, “सत्तामा बसेकाहरूले नागरिकलाई कक्रोच र परजीवी ठान्छन् । तर उनीहरूले बिर्सिएका छन् कि कक्रोचहरू त्यहीँ जन्मिन्छन् जहाँ फोहोर र सडेगलेको प्रणाली हुन्छ । आज भारत त्यस्तै बनेको छ ।” यो आन्दोलनमा विपक्षी नेताहरू महुआ मोइत्रा र कीर्ति आजादले पनि समर्थन जनाएका छन् ।
पूर्व सरकारी कर्मचारी आशिष् जोशी भन्छन्, “भारतमा अहिले डर र घृणाको वातावरण छ । कक्रोचहरू सजिलै मर्दैनन्, उनीहरू बाँचिरहन्छन् र अब उनीहरू प्रणालीमाथि कब्जा गर्न खोज्दै छन् ।” एकातिर भारतभित्र यो डिजिटल विद्रोह चलिरहेको छ, अर्कोतिर अन्तर्राष्ट्रिय मञ्चमा भारतको लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठिरहेको छ ।
हालै प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वे भ्रमणका क्रममा एक पत्रकारले भारतमा प्रेस स्वतन्त्रता र पत्रकार सम्मेलन नगर्ने विषयमा कडा प्रश्न सोधिन् । मोदीले त्यसको प्रत्यक्ष जवाफ दिएनन्, बरु अधिकारीहरूले बचाउ गरे । यो भिडियो पनि भारतमा कक्रोच आन्दोलनसँगै भाइरल भयो । यसले के देखाउँछ भने, भारतीय युवाहरू अब केवल घरेलु मुद्दामा मात्र होइन, विश्वव्यापी मञ्चमा आफ्नो देशको छवि र जवाफदेहिताप्रति पनि सचेत छन् ।
उनीहरू डिजिटल नागरिक हुन्, जसलाई अब परम्परागत प्रोपोगाण्डाले भुलाउन सकिँदैन । भारतमा क्रकोजबाट तहल्का मच्चाउने अभिजीत महाराष्ट्रको छत्रपति सम्भाजीनगरका हुन् । स्नातक अध्ययनका लागि पुणे गएको थिएँ । त्यसपछि केही वर्ष आम आदमी पार्टीको कम्युनिकेसन टिममा उनले काम गरे ।
पछिल्लो समय उनले अमेरिकी बोस्टन विश्वविद्यालयबाट स्नातक पूरा गरेका छन् । विश्लेषकहरूले कक्रोज अभियानलाई नेपाल, श्रीलंका र बंगलादेशमा देखिएको युवा आन्दोलनसँग तुलना गर्न थालेका छन् । यद्यपि अभिजीत दीपके भन्छन् कि भारतीय युवाहरू परिपक्व छन् र उनीहरू शान्तिपूर्ण तरिकाले नै परिवर्तन चाहन्छन् ।
अहिले दक्षिण एसियाभरि नै जेन–जी अर्थात् नयाँ पुस्ताको राजनीतिक विद्रोह चर्चामा छ । श्रीलंकामा जनताले राष्ट्रपति भवन कब्जा गरे, नेपालमा जेनजी आन्दोलनपछि बालेन शाहजस्ता स्वतन्त्र शक्तिहरूको उदय भयो र बंगलादेशमा पनि विद्यार्थी आन्दोलनले सत्ता नै ढाल्ने स्थिति सिर्जना ग¥यो । तर, के भारतको यो कक्रोच आन्दोलन पनि त्यस्तै सडक संघर्षमा परिणत होला त ?
यस प्रश्नमा कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको जवाफ निकै रोचक र अलि विवादास्पद पनि छ। उनी भन्छन्— “भारतीय जेन–जीको तुलना श्रीलंका, नेपाल वा बंगलादेशसँग गर्नु हाम्रो अपमान हुनेछ । ” अभिजीतको तर्क छ कि अन्य देशमा आन्दोलनहरू प्रायः हिंसात्मक वा भौतिक तोडफोडमा परिणत भए, तर भारतीय युवाहरूले ’व्यंग्य’ र ’सिर्जनात्मकता’लाई हतियार बनाएका छन् ।
उनी भन्छन्— “हाम्रा युवाहरू कक्रोचको पोसाक लगाएर यमुना नदी सफा गरिरहेका छन्, फोहोर उठाइरहेका छन्। उनीहरूले ढुङ्गा हानेर होइन, प्रणालीको खिल्ली उडाएर आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्। उनीहरू हिंसा भड्काइरहेका छैनन्, बरु प्रणालीलाई ऐना देखाइरहेका छन् ।”
अभिजीतले उठाएको सबैभन्दा गम्भीर र शक्तिशाली प्रश्न त अझ बाँकी नै छ, जसले सिधै भारतको केन्द्रीय सत्तालाई निशाना बनाएको छ । उनी भन्छन्—“अहिलेको यो नयाँ पुस्ता हाम्रो केन्द्रीय मन्त्रिमण्डल भन्दा धेरै गुणा बढी शिक्षित छ। त्यसैले अब प्रश्न यो हुनुपर्छ कि— हामीजस्ता शिक्षित मानिसहरूमाथि अशिक्षित मानिसहरूले शासन किन गरिरहेका छन्”?
यो प्रश्नले भारतमा मात्र नभइ समग्र दक्षिण एसियाली राजनीतिमै एउटा ठुलो बहस छेडेको छ। कक्रोच एउटा यस्तो जीव हो, जो आणविक विस्फोटमा पनि बाँच्न सक्छ भनिन्छ । सायद भारतका युवाहरूले पनि यही सन्देश दिन खोजेका छन्— कि उनीहरूलाई जतिसुकै दबाउन खोजे पनि, अपमान गरे पनि, उनीहरू बाँच्नेछन् र प्रणालीलाई प्रश्न गरिरहनेछन् ।
यो आन्दोलनले एउटा कुरा प्रष्ट पारेको छ— अबको राजनीति भाषणमा मात्र होइन, स्मार्टफोनको स्क्रिन र डिजिटल क्रान्तिमा पनि हुनेछ । कक्रोच जनता पार्टी अहिले भारतमा राजनीतिक दल मात्र होइन, यो एउटा यस्तो ऐना बनेको छ, जसले सत्तालाई उसको कुरुप अनुहार देखाइदिएको छ । विश्लेषकहरु भन्छन्, यदि देशका युवाहरूले आफूलाई कक्रोच भन्नुमा गर्व गर्न थाल्छन् भने, बुझ्नुहोस् कि प्रणालीमा कतै न कतै ठुलो खराबी छ ।



