ओली पत्नी राधिका र आरजुका साथ अमेरिका जाने

२१ भदौ , काठमाण्डौ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुने भएको छ । चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणका लागि भारत जाने योजना बनाएपनि भारतका तर्फबाट निमन्त्रणा नै नपाएपछि थाइल्याण्डबाट आफ्नो विदेश भ्रमण सुरु गर्ने योजना बनाएका प्रधानमन्त्रीले अन्ततः थाइल्याण्डपछि जाने भनिएको अमेरिकाबाट विदेश भ्रमण सुरु गर्ने भएका छन् ।

मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताए ।

Advertisement

एक मन्त्रीका अनुसार भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत रहने छन् । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ ।

त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्री अमेरिका जान लागेका हुन् । ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए ।

Advertisement

पछिल्लो पटक ३० असारमा प्रधानमन्त्री भएका ओली विदेश भ्रमणमा गएका छैनन् । भारत भ्रमणका लागि ओली वा नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्रीको अत्तोपत्तो नलाग्दा परराष्ट्र मन्त्री आरजु भने भारतको लामो भ्रमण गरेर फर्किसकेकी छन् । आरजुले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिइन् तर मोदीका तर्फबाट ओलीलाई भारत भ्रमणको निम्तो आएको छैन् ।

भारत भ्रमणबाट फर्किएपछि संसदीय समितिमा मोदीको नेपाल भ्रमणका लागि तयारी सुरु गरिसकिएको बताएकी छन् । ओलीको प्रधानमन्त्रीमा चौथो पटक आगमनसँगै छिमेकी मुलुक भारतले हेर्ने दृष्टिकोण के हो भन्ने अन्योल रहेको छ । परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण र भारतीय विदेशसचिव विक्रम मिश्रीको नेपाल भ्रमणबाट पनि भारतीय दृष्टिकोण प्रष्ट खुल्न सकेको छैन ।

जसको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारत नहुने देखिएको छ । बिमस्टेक सम्मेलनअन्तर्गत थाइल्याण्ड जाने र त्यही भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘साइडलाइन’ वार्ता गर्ने मनस्थितिमा रहेका ओली सो सम्मेलन रोकिएपछि अलमलमा थिए । जसले गर्दा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत र चीन नभई अमेरिका हुने देखिएको छ ।

थाइल्यान्डका प्रधानमन्त्री हेरफेर, बंगलादेशको आन्तरिक विवाद, म्यानमारमा आन्तरिक द्वन्द्व, श्रीलंकामा प्रधानमन्त्रीको चुनावलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो । यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच बैंककमा साइडलाइन वार्ता हुने तय थियो ।

मोदी पनि अहिले थाइल्याण्ड जाने तयारी छाडेर युरोप भ्रमणमा निस्केका छन् । अब अमेरिकामै मोदी र ओलीबिच साइडलाइन वार्ता हुने सम्भावना रहेको बताइएको छ । यद्यपि यो अझै निश्चित छैन् । सेप्टेम्बर २६ मा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको यो अमेरिका भ्रमण नभएर यूएनको महासभामा भाग लिन अमेरिका जान लागेको भनेर बुझ्नुपर्ने छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top