३० भदौ, काठमाडौं ।
विभागीय टोली एपिएफ एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ । रश्मीकुमारी घिसिङको दुई गोलप्रेरित एपिएफ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार कर्णाली प्रदेशमाथि ६–० को जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
जितसँगै एपिएफले अपराजित यात्रालाई निरन्तरता दिँदै पाँच खेलबाट १३ अंक जोडेको छ । नेपाल पुलिस ११ अंकसहित दोस्रो स्थानमा हुँदा त्रिभुवन आर्मी क्लब १० अंकका साथ तेस्रो स्थानमा छ ।
एपिएफको जितमा रश्मिकुमारी घिसिङले दुई गोल गरिन् भने निशा थोकर, गीता रानामगर र हेमा रावतले समान एक गोल गरे । यस्तै एक गोल भने एपिएफले उपहार पाएको थियो ।
कर्णालीकी वर्षा ओलीले आफ्नै पोस्टमा गोल गरेकी थिइन् ।