४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल खुले

३ असोज , काठमाण्डौ ।

Advertisement

सरकारले हरेक वर्ष झैँ यसवर्षपनि चाडवाड लक्षित सुपथ मूल्य पसल संचालनमा ल्याएको छ । दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको हो । देशभरका ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल आज बिहीबारदेखि सञ्चालनमा आएको छ ।

सहुलियत पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा निर्णय गरेको थियो । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

Advertisement

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायका बिक्री कक्षहरु सञ्चालनमा रहेका छन्। उपत्यकाका सुपथ मूल्य पसलमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ। उपत्यकाबाहिर भने कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरु, जनशक्ति, आर्थिक स्रोत र साधनको सीमितताले सबै जिल्ला र पालिकामा पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु चुनौतीपूर्ण भएको कम्पनीले जनाएको छ।

५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ । त्यस्तै तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोको ७ रुपैयाँ छुट दिइएको छ ।

Advertisement

यस्तै कम्पनीले कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएको छ । आवश्यकता अनुसार खाद्यान्नका लागि कम्पनीले ठेक्का लगाइसकेको जनाएको छ । चाडपर्व लक्षित गरेर कम्पनीले जिउँदो खसी–बोका र च्यांग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले मकवानपुर, तुल्सीपुर लगायत स्थानबाट खसी–बोका १ हजार ५ सय वटा ल्याएर बेच्ने जनाएको छ । यस्तै मुस्ताङको कालो च्यांग्रा ३ सय वटा बेच्ने जनाएको छ । च्यांग्रा र खसी–बोका कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा मात्रै पाइने छ ।

च्यांग्रा र खसी–बोका घटस्थापना आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बेच्ने कम्पनीले जनाएको छ । दुग्ध विकास संस्थानले गत भदौ १ गतेदेखि नै आगामी कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ ।

चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ। त्यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो। चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको थियो । सहुलियत पसल आगामी २ माघसम्म सञ्चालन हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top