सडक यातायात सहज नभएसम्म विमानको टिकट सस्तो

१४ असोज ८१, मंगलबार

१५ असोज ,काठमाण्डौ ।
संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि यतिबेला हवाई यात्रीको चाप बढेको छ । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं भित्रिने मुख्य सडकमार्ग अवरुद्ध छन् ।

Advertisement

सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको छ । यो क्रममा हवाई उडानमा नयाँ रेकर्ड कायम भएको छ । यस्तै सडक यातायात सहज नभएसम्म विमानको टिकट पनि सस्तो भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

Advertisement

उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् ।

प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए । एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ । यसअघि अघिल्लो वर्ष दशैँका बेला यस्तो उडान चाप थियो ।

Advertisement

विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए ।

विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताए । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले बताए ।

हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् । यसैबीच सडक यातायात सहज नभएसम्म आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले महँगो दरको टिकट नबेच्ने जनाएका छन् ।

आन्तरिक वायुसेवाहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले यसअघि गरेको निर्णय अनुसार बुधबारसम्मको लागि महँगो भाडादरको टिकट नबेच्ने उल्लेख थियो।

बुधबारसम्म पनि सडक यातायात सहज नहुने देखिएकोले वायुसेवा कम्पनीहरुले पनि महँगो भाडादर नलिने र आम सर्वसाधारणलाई राहत दिने प्रयास गरेको वायुसेवा सञ्चालकहरुको भनाइ छ ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा तत्कालका लागि माथिल्लो सिमाको (महँगो) भाडादर नलिने निर्णय गरेको उल्लेख छ । यसअघि एक्कासी हवाई उडानमा भाडा बढाइएपछि चर्को आलोचना भएको थियो ।

स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक संजालबाट एयरलाइन्सहरुलाई भाडा नबढाउन आग्रह गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top