२६ असोज , एजेन्सी ।
लेबनानमा आक्रमण जारी राखेको इजरायलले त्यहाँ रहेका शान्ति सेनामाथि पनि गोली हानेको छ । इजरायल डिफेन्स फोर्सले लेबनानको नाकोरा क्षेत्रस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन–युनिफिलको पोस्टमाथि हमला गर्दा दुईजना श्रींलकाली सैनिक घाइते भएका छन् ।
त्यस्तै लेबनानमा खटिएका दुई इन्डोनेसियाली सैनिक इजरायली ट्याङ्कले गोली चलाउँदा भ्यू टावरबाट खसेर घाइते भएका छन् । इजरायली सेनाले घटनाको जिम्मेवारी लिँदै युनिफिल बेसको वरपर खतरा पहिचान गरी गोली चलाएको दाबी गरेको छ ।
घटनाको ‘उच्च तहमा’ छानबिन गरिने पनि इजरायली सेनाले स्पष्ट पारेको छ । श्रीलंकाली विदेश मन्त्रालयले शान्ति मिसनमा गएका आफ्ना सैनिक घाइते भएपछि इजरायली हमलाको ‘कडा निन्दा’ गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा शान्ति सैनिकमाथि गोली चलाउन बन्द गर्न इजरायललाई आग्रह गरेका छन् । त्यस्तै फ्रान्स, इटाली र स्पेनका नेताहरूले जारी गरेको एक संयुक्त विज्ञप्ति इजरायलको कार्यको निन्दा गर्दै त्यसलाई तुरुन्तै अन्त्य गर्न आह्वान गरिएको छ ।
हाल ५० देशका करिब १०,००० शान्ति सैनिक ८ सय नागरिक कर्मचारीसँगै लेबनानमा तैनाथ रहेका छन् । यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।
टेलिभिजनमा सम्बोधनमा उनले युद्धविरामको एउटा अङ्शका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको र यसमा हिजबुल्लाह पनि सहमत भएको बताएका छन् ।
प्रधानमन्त्री मिकातीले लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषदलाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने बताए ।लेबनानको राजधानी बेरुतको मध्यभागमा इजरायलले अस्ति बिहीवार गरेको हवाई आक्रमणमा २२ जनाले ज्यान गुमाएका छन् ।
यो घटनालाई इजरायलले लेबनानमा हिजबुल्लाह समूहविरुद्ध गएको महिना आक्रमण थालेयताकै सबैभन्दा घातक आक्रमण मानिएको छ । लेबनानको सरकारका अनुसार चर्कँदो द्वन्द्वका कारण विगत एक वर्षमा १२ लाख मानिसले आफ्नो घर छाडेका छन् ।
यसैबीच यता लेबनानको राजधानी बेरुत नजिकै रहेका यमनका हुथी लडाकुहरूले रकेट र मिसाइलले दुईवटा जहाजलाई निशाना बनाएको बताइएको छ । हुथी लडाकुहरूले निशाना बनाएका दुई जहाजमध्ये एउटा अमेरिकी तेल ट्याङ्करको रूपमा पहिचान गरिएको छ ।
यसको नाम ‘ओलम्पिक स्पिरिट’ हो । हुथी लडाकुहरुले निशाना बनाउँदा अमेरिकी जहाज ‘ओलम्पिक स्पिरिट’ लाल सागरमा तैनाथ रहेको थियो । दोस्रो जहाज ’सेन्ट जोन’ थियो जसलाई हिन्द महासागरमा हुथी लडाकुहरूले निशाना बनाएका थिए।
नोभेम्बर २०२३ देखि, हुथी लडाकुहरूले कुल १ सय जहाजहरूलाई निशाना बनाएका छन् । तीमध्ये दुईवटा जहाज पनि डुबेका छन् । गाजामा इजरायलको सैन्य अभियानको बदला लिन यो आक्रमण गरिएको होथी लडाकुहरूले बताएका छन् ।