४ कार्तिक , विराटनगर ।
इजरायलले गाजापट्टी र लेबनानमा युद्ध जारी राख्दै अब इरानमा पनि आक्रमण गर्नसक्ने सम्भावनाकाबीच अमेरिकको दुई अति गोप्य दस्ताबेजहरु लिक भएका छन् । जसले विश्वभर तरंग पैदा भएको छ । किनभने ती दस्ताबेजहरुले इजरायलले इरानमाथि निकै ठुलो आक्रमणको तयारी गरिरहेको जनाएका छन् ।
यी दस्ताबेजहरूमा इरानमा इजरायली आक्रमणको लागि सैन्य तयारीबारे उल्लेख छ । दस्ताबेज अमेरिकाको नेशनल जियोस्पेशियल इन्टेलिजेन्स एजेन्सीका हुन् । सो एजेन्सीले अमेरिकाको जासुसी उपग्रहहरूले खिचेका तस्बिर र जानकारीको विश्लेषण गर्ने गरेको छ ।
लिक भएका दस्ताबेजहरूमा इजरायली सैन्य अभ्यास र अपरेशनसम्बन्धी जानकारी समावेश छ । अमेरिकी मिडिया रिपोर्टकाअनुसार अक्टोबर १५ र १६ मा दुई कागजातहरू इरान समर्थक प्रयोगकर्ताहरूले टेलिग्राममा प्रसारित गरेका थिए । लिक भएको कागजातमा इजरायली सैन्य अभ्यासको विश्लेषण छ ।
यो अभ्यास इरानमाथि प्रतिकारात्मक आक्रमणको तयारी भएको देखिन्छ । यसैपनि इजरायल र इरानबिच लामो समयदेखि तनाव छदैँथियो । पछिल्लो समय यो झन बढ्दै गएको छ । केही समयअघि सिरियामा इजरायलले गरेको हमलामा इरानी सेनाका शीर्ष कमान्डरको मृत्यु भएपछि इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो ।
साथै, विगतमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह इजरायली आक्रमणमा मारिएपछि इरानले पनि इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो । इजरायलले इरानको आक्रमणको बदला लिने धम्की दिएको थियो ।
यस्तोमा चुहिएका दस्तावेजमध्ये एउटाको शीर्षक ‘इजरायल हवाई बल इरानमाथि आक्रमणको तयारी गर्दैछ’ रहेको छ । यसमा हालैको इजरायली सैन्य अभ्यासको रूपरेखा दिइएको छ । दोस्रो दस्तावेजमा हतियार र अन्य सैन्य सम्पत्तिहरू रणनीतिक स्थानहरूमा सार्ने इजरायली प्रयास देखिन्छ ।
लिक भएका यी दस्ताबेजहरूले इजरायलले इरानमाथि ठुलो आक्रमणको तयारी गरिरहेको थाहा हुन्छ । यी गुप्तचर दस्ताबेजहरू चुहावटले अमेरिकी सरकारमा कथित रूपमा हलचल मच्चाएको छ । अमेरिकी अधिकारीहरूले चुहावटको गम्भीरताप्रति सचेत भएका छन् । यसबारे अनुसन्धान गरिरहेका छन् ।
चुहावटको सही स्रोत अज्ञात छ, तर प्रारम्भिक सङ्केतहरूले कागजातहरू निम्न स्तरको अमेरिकी सरकारी कर्मचारीद्वारा चुहिएको हुन सक्ने देखाएको छ । यो सूचना कसरी चुहावट भयो र थप दस्ताबेज चुहिन सक्छन् कि भनेर रक्षा मन्त्रालय, अमेरिकी गुप्तचर एजेन्सीहरू र एफबीआई मिलेर अनुसन्धान गरिरहेका छन् ।
इरानमाथि ठूलो विध्वंशको बादल मडारिरहँदा यता लेबनान गाजाकै स्थितिमा पुग्न लागेको छ । इजरायली सेनाले लेबनान र गाजामा लगातार हमला गरिरहेको छ । पछिल्लो पटक इजरायल एयर फोर्सले दक्षिणी लेबनानमा ६५ भन्दा धेरै हिजबुल्लाहका लडाकुहरु मारिएको र १७५ भन्दा धेरै ठेगानाहरुलाई ध्वस्त पारेको जनाएको छ ।
ती ठेगानाहरुमा हिजबुल्लाहका हतियार, लन्चिंग पिट र अन्य आधारभुत ढाँचाहरु थिए । यता हिज्बुल्लाहले पनि शनिवार क्यासरियामा इजरायली प्रधानमंत्री बेंजामिन नेतन्याहूको नीजि घरमा ड्रोन हमला गरेको थियो । नेतन्याहु सो बेला घरमा नभएकाले बाँचेको पनि बताइएको छ ।
हमलामा उनको घरमा क्षति पुगेको छ । लेबनानतर्फबाट ३ वटा ड्रोन प्रहार गरिएकामा एउटा नेतन्याहुको घरमा खसेको तर त्यहाँ उनी नबस्ने भएकाले कुनै मानवीय क्षति भने नभएको बताइएको छ । यो घटनाले भने मिडिल ईस्टमा हलचल बढाएको छ ।
यो घटनापछि नेतन्याहूले शनिवार नै बयान जारी गर्दै भनेका छन्, ‘इरानका जो जो एजेंटहरुले आज मेरो र मेरी पत्नीकोको हत्या गर्ने प्रयास गरे, तिनीहरुले एउटा ठूलो भूल गरे । अब युद्ध जारी राख्न कसैले पनि रोक्न सक्दैन र जसले पनि इजरायलीहरुलाई नोक्सान पुर्याउन खोज्छ उसले भारी मूल्य चुकाउनु पर्छ’ ।
यो हमलाले आफ्नो संकल्पलाई कमजोर पार्न नसक्ने पनि उनले बताए । इरानलक्षित उनले अगाडि भने, म बाचा गर्छु कि तपाइँका आतंकबादीहरुलाई सिध्याउने हमला जारी रहन्छ । हामीले गाजाबाट आफ्ना बन्धकहरुलाई फिर्ता ल्याउने छौं, हामी उत्तरमा आफ्ना नागरिकहरुलाई पनि फिर्ता ल्याउने छौं ।
यता शनिवार इजरायलको क्यासरियामा हिजबुल्लाहले हमला गर्नुको पछाडी त्यहाँ आईडीएफ र मोसादको सिक्रेट अफिस पनि रहेकाले हो । हिजबुल्लाहले हमला गर्नुको मुख्य कारण इजरायलको इन्फर्मेशन पवारलाई तोड्नु थियो । यसैबीच नेतन्याहूको बयानपछि इरानले पनि जवाफ दिएको छ ।
इरानी न्यूज एजेंसी ईर्नाले भनेको छ कि नेतन्याहूको घरमा हमला गर्नुको पछाडी लेबनान स्थित हिजबु्ल्लाहको हात छ । यसमा हाम्रो कुनै लेनादेना छैन । यता हिजबु्ल्लाले भने अहिलेसम्म हमलालाई स्वीकारेको छैन । यस्तै हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पनि प्रतिक्रिया दिएका छन् ।
उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा पोस्ट गर्दै हमास जीवित थियो र जीवित रहने बताएका छन् । उनले कमाण्डर याह्या सिनवार आफ्ना सहिद साथीहरूसँग सामेल भएको उल्लेख गरेका छन् । इरानका सर्वोच्च नेताले भने, ’सधैँ झैँ हामी प्यालेस्टिनी मुजाहिदीन र योद्धाहरूको साथमा छौँ।
खामेनीले याह्या सिनवारको मृत्यु प्रतिरोधी मोर्चाका लागि दुःखद भएको बताए । तर शेख अहमद यासिन, फताही शाककी, रन्तिसी र इस्माइल हनियापछि पनि यो मोर्चा रोकिएको छैन र यो याह्या सिनवारको मृत्युपछि पनि अगाडि बढ्ने उनले बताएका छन् ।
सिनवारको मृत्यु पछि हमासको भविष्यप्रति प्रश्न उठिरहेका बेला इरानका सर्वोच्च नेताको भनाई आएको हो । यसैबीच याह्या सिन्वारको उत्तराधिकारी चयन गर्नका लागि अब छिट्टै छलफल सुरु हुने बताइएको छ ।
अहिलेसम्म सबैभन्दा बलियो उम्मेदवारका रूपमा गाजाबाहिर रहेका उक्त समूहका सबैभन्दा वरिष्ठ अधिकारी एवं सिन्वारका उपनेताका रूपमा काम गरेका खलिल अल–हायालाई हेरिएको छ । कतारमा बस्ने अल–हायाले हाल हमास र इजरेलबीचको युद्धविराम वार्तामा आफ्नो समूहको नेतृत्व गर्दै आएका छन् । उनीसँग गाजाको अवस्थाबारे राम्रो ज्ञान, सम्बन्ध र बुझाई छ ।
यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानका केही भागका मानिसहरूलाई थप कारबाहीका लागि आफ्ना घर खाली गर्न आग्रह गरेको छ । इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा भनेका छन्, ‘तिमीहरू हिजबुल्लाहसँग सम्बन्धित भवनहरू नजिकै बसिरहेका छौ ।
जसविरुद्ध इजरायली सेनाले आगामी दिनमा कारबाही गर्नेछ । लेबनान र गाजालाई धुलो बनाइसकेको इजरायलले अब इरानमाथि ठूलो हमलाको तयारी गरेको भन्ने सार्वजनिक भएको अमेरिकी दस्तावेजबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।