६ कार्तिक , एजेन्सी ।
नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीले ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड हात पारेकी छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चौधरीलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
चौधरीसहित ६ देशका सामाजिक अभियन्तालाई सोमबार अमेरिकाको वासिङटन डिसीमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । स्टेट डिपार्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीका रूपमा मालिकको घरमा पुगेकी थिइन् ।
उनलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गरेकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गरिरहेकी छन् ।
चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायले भोगिरहेका विभेद र शोषणविरुद्ध काम गरिरहेकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।
अमेरिकी स्टेट डिपार्टमेन्टले भनेको छ , सुश्री चौधरीलाई नेपालमा सीमान्तकृत जाति र जातीय समुदायको अधिकारलाई अगाडि बढाउने र प्रणालीगत जातीय भेदभाव र छरछिमेक दुव्र्यवहार विरुद्ध लड्नको लागि उनको समर्पणको लागि सम्मान गरिएको छ।
स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमार राज खरेल पनि सहभागी थिए । अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्न थालेको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुन् ।
गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गरेकी थिइन् । उर्मिला सहित यो अवार्ड डिन्टी सुले ताइरु (घाना) ,जोन लिर्डम (नेदरल्याण्ड) ,एल्विस शाकजिरी (उत्तरी म्यासेडोनिया), तान्या दुआर्टे (मेक्सिको) र बोलिभियाकी तोमासा यारहुई जैकोमले पनि हात पारेकी छन् ।