एजेन्सी, असोज ९
नेपालका युवा लेग स्पिनगर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१८ मा छनोट भएका छन् । युनाइटेड अरब इमिरेट्स (युएई ) मा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान ओइन मोर्गन आइकन खेलाडी र कप्तान रहेको टिम केरला किंग्सले ड्राफ्टमार्फत छनोट गरेको हो ।
सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाख (३४ लाख ८३ हजार ) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । सन्दीपको टिममा विस्फोटक ब्याटम्यान क्रिस गेल, किरण पोलार्ड, तिब्र गतिका बलर जुनैद खान र अलराउण्डर टम कुरान जस्ता स्टार क्रिकेटर रहेका छन् ।
टी–१० लिगमा कुल ६ टिम सहभागी रहेका छन् जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन् ।
केरला किंग्सको आइकन मोर्गन, मराठाको राशिद खान, पख्तुन्सको शहिद अफ्रिदी,पन्जाबीको शोयब मलिक, कराचियन्सको शेन वाटसन, बेङ्गालको सुनिल नारायण, नर्थर्न वारियर्सको ड्यारेन स्यामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम रहेका छन् ।