‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल,दर्शकले आँशु थाम्नै सकेनन्

‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल,दर्शकले आँशु थाम्नै सकेनन्

१९ कार्तिक, काठमाण्डौ ।

दशैंको अवसर पारेर रिलिज भएका १२ गाउँ, छक्का पन्जा ५ तथा ज्वाइँ साबले पाएको सफलता पछ्याउदै तिहारको अवसरमा बिहीबार रिलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले समेत देशभरका सिनेमाहलहरुमा उत्साहजन रुपमा दर्शकको साथ पाएको छ ।

पहिलो दिनमा नै हाउसफुल हुन् नसकेको चलचित्रले दर्शकको प्रतिक्रिया र समीक्षाले दोस्रो दिनपछि नै उत्साहजनक रुपमा दर्शकको साथ पाएको छ । प्रत्येक मल्टिप्लेक्सले अहिले यो चलचित्रलाई सुरुका दिनमा दिएको शोमा दोब्बरभन्दा धेरै शो उपलब्ध गराएका छन् भने हरेक शो हाउसफुल चलिरहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्र निर्माता तथा वितरक सेफेन सिज इन्टरटेन्मेन्टका निर्देशक विनोद पौडेलले चलचित्रले हिन्दी चलचित्र सिंघम र भुलभुलैयालाई समेत पछि पारेको बताएका छन् । लक्ष्मीपूजाका दिन रिलिज भएको यो चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंभित्र र बाहिर समान १९÷१९ शो दिएर जम्मा ३८ शो दिएको थियो ।

आज क्यूएफएक्सले यो सिनेमालाई काठमाडौंमा ३१ र काठमाडौंबाहिर ३३ शो दिएको छ । आज क्यूएफएक्सका आउटलेटमा यो चलचित्रले ६४ शो पाएको छ । क्यूएफएक्सले आज ‘पूर्ण बहादुरको सारङ्गी’लाई ठूलो हल उपलब्ध गराएको छ ।

क्यूएफएक्सकै तुलनामा अन्य हलले पनि ‘पूर्ण बहादुरको सारङ्गी’लाई शो प्रदान गरेका छन् ।सुरुमा दुई शो उपलब्ध गराएका हलले अहिले बढाएर सात शो सम्म पुर्याएका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ले बलिउडका ठूला दुई चलचित्र ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई पनि पछि पारेको छ ।

यी दुई चलचित्रले भन्दा ‘पूर्ण बहादुरको सारङ्गी’ले आज धेरै शो पाएको छ । बाबुबाट पाएको सारङ्गीलाई नै पुर्खाको सम्पत्ति मान्ने र गन्धर्व कुलमा जन्मिएपछि सारङ्गी रेट्दै गीत गाएर अरुले जे दिन्छन् त्यसकै भरमा गुजारा गर्नु मुल धर्म रहेको सोच भएका पात्र हुन् पूर्णबहादुर।

यही पात्र मार्फत सीप अनुसारको कर्मसँगै जोडिएको आर्थिक विपन्नता र त्यसले ल्याउने पारिवारिक विचलनलाई चलचित्रमा उतारिएको छ । बाबुबाट सम्पत्तिको नाममा पाएको सारङ्गी रेटेर जीविकोपार्जनमा रमाइरहेका पूर्णबहादुर प्रारम्भमा छोरालाई पनि पुर्खाकै सीप सिकाउने पक्षमा हुन्छन्।

तर, जब उनले सामाजिक सम्मानसँग शिक्षा जोडिन्छ भन्ने बुझ्छन् अनि छोरालाई गाइने हैन डाक्टर बनाउन चाहन्छन्। बालकदेखि प्रौढसम्मले हेपिरहेको देखेका कमल बाको भागमा सम्मान ल्याउन चाहन्छन्। ’मेरा बालाई किन सबैले हेप्छन? भन्ने प्रश्न उनका छोरामा बिझिरहेको हुन्छ ।

यही प्रश्नका बीच छोराले बाको सामाजिक सम्मान फिर्ता ल्याउँछन् कि बाले छोरालाई डाक्टर बनाउँछन ? भन्ने कथा नै चलचित्रमार्फत प्रस्तुत गरिएको छ । फिल्मले राजनीतिक विषय पनि छोएको छ।चलचित्रमा पञ्चायतविरुद्धदेखि देश बदल्न बन्दुक बोकेर जंगल पस्नेहरूसम्मले ल्याएको परिवर्तनसँग एक निम्न वर्गको गाइनेको जीवन जोडेर देखाउने प्रयास गरिएको छ।

फिल्मको मुख्य केन्द्रमा छन् पूर्णबहादुर (विजय बराल)। उनका दुई साथी छन् बिरे (मुकुन भुसाल) अनि माइला ( बुद्धि तामाङ)। मास्टर (भोलाराज सापकोटा), बाटुली (अन्जना बराइली), कमल (प्रकाश सपुत)सँगै माओत्से गुरुङ, देशभक्त खनाल, शंकर आचार्य, सुभास गजुरेल, विनोद न्यौपाने लगायतका कलाकार छन् ।

’बा’ मात्र पूर्णबहादुरको सारङ्गी हेर्न गए ’छोरा’ सम्झिएर आँशु झारेका छन् । ’छोरा’ एक्लै गए ’बा’ सम्झिएर आँखा टिलपिल हुने दर्शकले प्रतिक्रिया दिइरहेका छन् । यसैले धेरै दर्शक हलबाट बाहिर निस्किदा आँशु पुच्छ्दै बाहिरि रहेका छन् ।

चलचित्रका बारेमा विजय बरालले भनेका छन् । ‘बाबुहरू आफ्नो पूरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटी बाबुसँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ, बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ,’उनले थप भनेका छन्,‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ, बाबुसँग सम्बन्ध खुलेर जान्छ, हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ।’

चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका छन् भने चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सार्वजनिक प्रदर्शनमा आएको छ। सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.