प्रधानमन्त्रीलाई आयो चीनको निम्तोः मंसिर १७ गते चीन जाने

प्रधानमन्त्रीलाई आयो चीनको निम्तोः मंसिर १७ गते चीन जाने

२० कार्तिक , काठमाण्डौ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणमा जान लागेको चर्चा चलिरहँदा चीनले पनि यसका लागि औपचारिक निम्ता पठाएको छ । चीनबाट निम्तोको खबरकै बीच प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको छ ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र उनको स्वास्थ्य समस्या सम्बन्धी खबर आज हमाीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् । ‘उताबाट निम्तो आएको छ, अब यताबाट निर्णय गर्न बाँकी छ’, एक अधिकारीले भने ।

प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर भ्रमणको निम्तो आएको बताएको छ । गत ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

पहिलो विदेश भ्रमण प्रधानमन्त्री ओलीले चीनबाट सुरु गर्न लागेका हुन् । यद्यपि, उनको चाहाना भारतबाट गर्ने थियो, जसकालागि केही प्रयास पनि भएका थिए । तर सम्भव नभएपछि ओली चीन जान लागेका हुन् ।

प्रधानमन्त्रीले समकक्षी प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएपनि भारत र मोदीका तर्फबाट ओलीलाई निम्ता आएको छैन् । मोदी र ओली बीच भने राष्ट्रसंघको महासभामा साइडलाइन भेटवार्ता भएको थियो ।

यसअघि परराष्ट्र मन्त्री आरजु राणाले समेत भारतको भ्रमण गरिसकेकी छन् । यसैबीच अहिले भने प्रधानमन्त्री बिरामी परेका छन् । हिजो सोमबारदेखि सामान्य ज्वरो आएर उनी घरमै आराम गरिरहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

‘हिजोदेखि ज्वरो आएको हो,’ सचिवालयका ती सदस्यले भने, ‘अहिले सामान्य नै छ । आराम गरिरहनुभएको छ ।’ बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ । उनको स्वास्थ परीक्षण चलिरहेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.