युक्रेनमा हवाई सतर्कता जारी, जेलेन्स्कीले मागे सहयोग

युक्रेनमा हवाई सतर्कता जारी, जेलेन्स्कीले मागे सहयोग

२६ कार्तिक, विराटनगर।

रुस–युक्रेन युद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चुनावी वाचा पुरा गर्ने चर्चा चलिरहँदा यी दुई देशले आपसमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि १४५ वटा ड्रोन प्रहार गरेको छ ।

यो जुन द्वन्द्वका क्रममा एकै रातको आक्रमणमा अहिलेसम्मकै सबैभन्दा धेरै हो । रुसले आइतबार मस्कोतर्फ लक्षित ३४ वटा युक्रेनी ड्रोन खसालेको पनि बताएको छ । यो सन् २०२२ मा युद्ध सुरु भएयता राजधानीमाथि गरिएको सबैभन्दा ठूलो आक्रमण प्रयास थियो ।

यसबीच देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् । युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै लेखेको छ, “ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग–३१ के उडान भयो” भन्दै पोस्ट गरेको छ ।

यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी युक्रेनमा कम्तीमा छ जनाको मृत्यु भएको छ । यो घटना मस्को र किभले एक अर्कामाथि रेकर्ड सङ्ख्यामा राति ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो ।

क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी शहर मिकोलाइभमा पाँच जनाको मृत्यु भएको छ भने जापोरिझ्जियामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

“पाँच जनाको मृत्यु भएको छ”, मिकोलाइभका गभर्नर भिटाली किमले सोमबार बिहान टेलिग्राममा लेखेका छन् । यसअघि चार जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा धेरै आवासीय भवनमा आगलागी भएको थियो ।

पूर्वतर्फ करिब तीन सय किलोमिटर टाढा जापोरिझ्जियामा युक्रेनको राज्य आपत्कालीन सेवा एजेन्सीले रुसले गरेको तीन वटा हवाई आक्रमणमा एक पुरुषको मृत्यु भएको र धेरै भवन क्षतिग्रस्त भएको जनाएको छ ।

जापोरिझ्जियाका गभर्नर इभान फेडोरोभका अनुसार पाँच बालबालिकासहित १८ जना घाइते भएका छन् । “चार, १६ र १७ वर्षका बालक र १५ र १७ वर्षका बालिकाले आवश्यक चिकित्सा सहायता पाएका छन”, उनले टेलिग्राममा भनेका छन् ।

खासमा रुसी सेनाले कुस्र्क क्षेत्रमा रहेका युक्रेनी ठेगानाहरुमा ठूलो हमला गर्ने तयारी गरिरहेको छ । कुस्र्क रुसी क्षेत्र हो, जो हाल युक्रेनले कब्जा गरेको छ । रिपोर्टका अनुसार यसका लागि रुसले उत्तर कोरियाली सैनिकहरु समेतलाई मिलाएर हजारौंको संख्यामा सैन्य टुकडी जम्मा गरिरहेको छ ।

युक्रेनी राष्ट्रपतिले विहीबार नै भनेका थिए, करिब ११ हजार उत्तर कोरियाली सैनिक त्यो क्षेत्रमा छन्, जहाँ रुसी क्षेत्रमा युक्रेनको तीन महिनादेखि घुसपैठ गर्दै आएको छ । न्युयोर्क टाइम्सले पनि आफ्नो रिपोर्टमा उल्लेख गरेको छ कि लगभग ५० हजार रुसी र उत्तर कोरियाली सैनिकहरु हमलामा सहभागि हुनका लागि तयारी अवस्थामा छन् ।

युक्रेनी कमाण्डरले सीएनएनलाई भनेका छन्, उत्तर कोरियाली सैनिक कुस्र्कमा सिधै युद्ध अभियानमा भाग लिइरहेका छन् । यसो हुँदा अब कुस्र्कमा सिधा वार अपरेशनको तयारी भइरहेको देखिन्छ ।

यसबीच जेलेन्स्कीले आफना सहयोगी देशहरुसंग रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरुलाई युद्धको मैदानमा पुग्नु अघि नै आवस्यक कदम उठाउन अपिल गरेका छन् । यस्तै जेलेन्स्कीले ती शिविरहरुमा युक्रेनी हमलाको सम्भावना रहेको बताएका छन्, जहाँ उत्तर कोरियाली सैनिकहरुलाई प्रशिक्षण दिइराखिएको छ, जुन स्थानका बारेमा कीभलाई जानकारी छ ।

यसबीच जेलेन्स्कीले भनेका छन्, युक्रेनले रुसको निकै भित्रसम्मको भूमिमा हमला गर्नका लागि पश्चिमी देशहरुमा निर्मित लामो दुरीको हतियारहरुको प्रयोग गर्न सक्दैन, जबसम्म उसलाई आफ्ना सहयोगीहरुबाट स्वीकृति मिल्दैन ।

जेलेन्स्कीले टेलिग्राममा पोष्ट गर्दै भनेका छन्, अमेरिका हेरिरहेको छ, बेलायत हेरिरहेको छ, जर्मनी हेरिरहेको छ । सबैजना मात्रै यो कुरा पर्खिबसेका छन् कि कतिबेला उत्तर कोरियाली सेनाले युक्रेनीमाथि हमला गर्न सुरु गर्छ ।

जेलेन्स्कीले आफ्ना सहयोगीहरुलाई गुनासो गर्दै थप सहयोगको अपिल गरिरहँदा यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् । यो सम्झौता प्योङयाङले युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको खबरका बीच आएको छ ।

पुटिनले जुन महिनामा उत्तर कोरियाको भ्रमणका क्रममा यो सम्झौता गरेका थिए तर लागू हुनका लागि रुसको संसद्बाट पारित हुनुपर्ने र उनीबाट हस्ताक्षर गरिनुपर्ने थियो । क्रेमलिनले शनिबार साँझ आफ्नो वेबसाइटमा सन्धि अनुमोदन गर्ने हस्ताक्षर गरिएको कानून प्रकाशित गरेको छ ।

यो सम्झौताले शीतयुद्धभरि कम्युनिस्ट सहयोगी रहेका दुई राष्ट्रबीच महिनौँदेखिको गहिरो सुरक्षा सहयोगलाई औपचारिक रूप दिएको छ । उत्तर कोरिया युक्रेनमाथि रुसको पूर्ण–स्तरीय आक्रमणको सबैभन्दा मुखर र महत्त्वपूर्ण समर्थकहरू मध्ये एक बनेको छ ।

हस्ताक्षरित सम्झौताले दुवै मुलुकलाई अर्को देशमाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ नगरी’ सैन्य सहायता प्रदान गर्न बाध्य बनाउँछ । यसले उनीहरूलाई पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न र संयुक्त राष्ट्रसङ्घमा आफ्ना स्थितिहरू समन्वय गर्न अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्न पनि प्रतिबद्ध गर्दछ ।

पुटिनले जुनमा यसलाई ‘महत्त्वपूर्ण दस्तावेज’ का रूपमा प्रशंसा गरेका थिए । गुप्तचर रिपोर्टहरूलाई उद्धृत गर्दै दक्षिण कोरिया, युक्रेन र पश्चिमी देशहरूले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसमा लगभग १० हजार सैनिक तैनाथ गरेको बताएका छन् ।

गत महिना तैनाथीका बारेमा सार्वजनिक रूपमा सोधिएको बेला पुटिनले यसलाई अस्वीकार गरेनन्, बरु युक्रेनलाई पश्चिमको समर्थनबारेको प्रश्नलाई बेवास्ता गरेका थिए ।यसबीच डोनाल्ड ट्रम्पसंग पुटिनको फोनवार्ता पनि भएको छ ।

यस क्रममा ट्रम्पले रुसी राष्ट्रपतिलाई युक्रेनमा युद्ध नबढाउन सल्लाह दिएको बताइएको छ । र दबावस्वरुप युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थिति रहेको स्मरण गराएका थिए । उल्लेखनीय कुरा के छ भने पुटिनले ट्रम्पलाई चुनाव जितेकामा बधाई दिँदै उनीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

उनीहरूले अमेरिका र रुस सम्बन्धलाई पुनःस्थापना गर्न र युक्रेनमा युद्ध अन्त्य गर्ने दिशामा काम गर्नुपर्नेमा जोड दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार यस मामिलाका ट्रम्पले व्यक्तिगत रूपमा रुसले कब्जा गरेको केही क्षेत्र उसैले राख्ने सम्झौतालाई समर्थन गर्ने संकेत गरेको बताएका छन् ।

यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.