ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

WASHINGTON, DC - JUNE 26: U.S. President Donald Trump and Indian Prime Minister Narendra Modi walk up to deliver joint statements in the Rose Garden of the White House June 26, 2017 in Washington, DC. Trump and Modi met earlier today in the Oval Office to discuss a range of bilateral issues. (Photo by Mark Wilson/Getty Images)

२ फागुन , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दोस्रो कार्यकालमा आफ्ना सहयोगी राष्ट्रहरुविरुद्ध समेत कठोर रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पका लागि मोदी भेटवार्ता गर्ने चौथो प्रमुख नेता बनेका छन् ।

ट्रम्पले इजरेली प्रधानमन्त्री, जापानी प्रधानमन्त्री, जोर्डनका राजापछि मोदीलाई आफ्ना विशेष पाहुना बनाएका हुन् । ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन् ।“भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्छ,” मोदीले भने, “भारत र अमेरिकाबीचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउँछ ।

हामी इन्डो–प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउनसँगै काम गर्नेछौँ ।” मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताए । उनले भने, “भारत र अमेरिका आतंकवादविरुद्धको लडाईंमा दृढतापूर्वक एकसाथ उभिएका छन् ।

सीमापार आतंकवाद उन्मूलन गर्न ठोस कारबाही आवश्यक छ । यसमा हामी सहमत छौं ।” ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० बिलियन डलर रहेको बताए । उनले भने, “मोदी र म पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरूका लागि यसलाई अझ निष्पक्ष’ बनाउन छलफल सुरु गर्नेछौँ ।”

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई फिर्ता लैजाने बताए । उनले भने, “यस विषयमा हाम्रो विचार एउटै छ । यदि, अमेरिकामा अवैधरूपमा बसोबास गर्ने भारतीय नागरिकको पुष्टि भयो भने हामी उनीहरूलाई भारत फिर्ता लैजान पूर्णरूपमा तयार छौँ ।”

केही आप्रवासीहरूलाई मानव तस्करहरूले अमेरिका लैजाने र त्यस्ता युवा स्वयंले थाहा नपाउने गरेको मोदीको भनाइ छ । मोदीले भने, “यसरी अमेरिका पुग्नेमा धेरै सामान्य परिवारका बालबालिका छन् । उनीहरूलाई ठूला सपना देखाइन्छ र ठूला वाचा गरिन्छ ।”

उनले अवैध रूपमा अमेरिका प्रवेश गराउनेहरूलाई कारबाही गर्न आवश्यक रहेको बताए । ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकाले सैन्य विमानमार्फत कागजात नभएका १०४ जना भारतीय आप्रवासीलाई भारत फिर्ता पठाइसकेका छन् ।

यस्तै भेटमा ट्रम्पले बंगलादेशमा सत्ता परिवर्तनमा आफ्नो देशको कुनै भूमिका नभएको बताएका छन्। पत्रकार सम्मेलनमा ट्रम्पलाई सोधिएको थियो, ‘बंगलादेशबारे तपाईं के भन्न चाहनुहुन्छ?’ जवाफमा उनले भने, ‘यसमा हाम्रो कुनै भूमिका छैन।

यसमा प्रधानमन्त्री (मोदी) लामो समयदेखि काम गरिरहनुभएको छ।’ बंगलादेशमा विरोध प्रदर्शन चर्किएपछि गत अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेकी थिइन्। हाल उनी भारतमै छिन्। यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

बंगलादेशको वर्तमान सरकारले धेरै पटक भारतलाई शेख हसिनालाई देश फिर्ता पठाउन आग्रह गरेको छ। ट्रम्पसँगको भेटवार्तामा मोदीले भन्सार महसुलको विषयमा पनि कुराकानी गरेका छन् । ट्रम्पले भने, ‘भारतले हामीलाई जेजेमा भन्सार शुल्क लगाउँछ, हामी पनि त्यही त्यहीमा लगाउनेछौँ।’

भन्सारका विषयमा ट्रम्पले अघि भने, ‘हाम्रा सहयोगी शत्रुभन्दा पनि खराब छन्।’ यस क्रममा उनीहरूले रुस र युक्रेनबीच जारी युद्धका विषयमा पनि बोलेका छन्। भारतीय प्रधानमन्त्री मोदीले मानिसहरू रुस–युक्रेन द्वन्द्वमा भारत तटस्थ रहनुपर्छ भन्ने सोच्छन्, तर यो गलत भएको बताए। उनले भने, ‘भारत शान्तिका पक्षमा छ।

हामी दुवै पक्ष (युक्रेन र रुस) सँग वार्ता गर्नुपर्ने निष्कर्षमा पुगेका छौँ।’ मोदीले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले गरिरहेको प्रयासको प्रशंसा गरे। यस क्रममा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो फोन वार्ता भएको सुनाउँदै युक्रेनमा युद्ध अन्त्य हुने आशा व्यक्त गरे।

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ अकाउन्टमा लेखेका छन्, ‘रुस र युक्रेनसँग उत्कृष्ट वार्ता भएको छ। युद्ध अन्त्य हुने सम्भावना धेरै छ।’ यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुस–युक्रेन युद्धबारे हुने वार्तामा आफूलाई सहभागी नगराए कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन्।

अमेरिकाको दुई दिने भ्रमणका क्रममा मोदीले ट्रम्प प्रशासनका शक्तिशाली सदस्य विश्वकै धनाढ्य एलन मस्कको परिवारसँग समेत भेटवार्ता गरेका छन् । मोदीले पहिलो अमेरिकन अधिकारीका रुपमा अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डलाई भेट गरेका थिए ।

अमेरिका पुग्नुअघि मोदी फ्रान्सको भ्रमणमा थिए । त्यहाँ उनले फ्रान्सेली राष्ट्रपतिसँग एआई शिखर सम्मेलनको सह–अध्यक्षता गरेका थिए । जहाँ अमेरिकी उपराष्ट्रपतिसँग उनको भेटवार्ता भएको थियो ।