१ चैत्र ,काठमाण्डौ।
साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो। क्षेत्री नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन् ।
उनी भारतको आसाम राज्य अन्तरगत गुवाहटीमा जन्मेका र त्यहीँ रहेर नेपाली साहित्यको साधनामा लागेका सर्जक हुन् । क्षेत्रीलाई वर्ष २०७८ मा भारत सरकारले नागरिकलाई प्रदान गर्ने चौथो उच्च सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको थियो ।
त्यसअघि क्षेत्री भारतीय साहित्यलाई प्रदान गरिने सर्वोच्च पुरस्कार साहित्य अकादमी पुरस्कार र नेपालको मदन पुरस्कार गुठीबाट प्रदान गरिने जगदम्बाश्री पुरस्कार जस्ता पुरस्कारबाट सम्मानित भइसकेका थिए ।
लीलबहादुर क्षेत्रीलाई चर्चित बनाउने विधा उपन्यास हो । उनको ‘बसाइँ’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि धेरै पटक प्रकाशित हुने कृतिमा पर्दछ । यो धेरै वर्ष त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा रहेको थियो ।
त्यसैगरी उनको ‘अतृप्त’ उपन्यास पनि चर्चित रहेको छ । क्षेत्रीलाई शिक्षा र साहित्य विधामा पद्मश्री पुरस्कार प्रदान गरिएको हो । उनको आजीविकाको क्षेत्र अध्यापन र रुचिको क्षेत्र साहित्य लेखन हो । उनले शिक्षा क्षेत्रमा लामो समय सेवा गरेका छन् ।
उनलाई प्रसिद्धि दिलाउने काम भने साहित्यले गरेको हो । अहिले उनका कृति अन्य भाषामा समेत अनुवाद भएका छन् । उनको ‘बसाइँ’ उपन्यास लन्डन विश्वविद्यालयको प्रोफेसर माइकल हटले अनुवाद गरी कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्कबाट प्रकाशित गरेका छन् ।
त्यसका साथै त्यस उपन्यासको अनुवाद असमिया, हिन्दी, चिनियाँ, थारू भाषामा पनि भएको छ । त्यसले क्षेत्रीलाई अन्तर्राष्ट्रिय लेखकका रूपमा उभ्याएको छ । त्यसैले उनले यो पुरस्कार पाउनुमा साहित्य लेखनको नै मुख्य भूमिका रहेको देखिन्छ ।
लीलबहादुर क्षेत्री सन् १९३३ मार्च १ मा भारतको आसामको गुवाहटीमा जन्मेका र त्यहीँ नै रहेर नेपाली साहित्यको साधनामा लागेका व्यक्ति हुन् । घरको वातावरणमा जान्नसुन्न पाएका संस्कृत मूलका साहित्य नै उनको साहित्यतर्फ अभिरुचि जगाउने प्रेरक तत्त्व हो ।
नेपाली, बङ्गाली, हिन्दी र अङ्ग्रेजी साहित्यको अध्ययन उनले गरेका थिए । अर्थशास्त्रमा स्नातकोत्तर र त्यसै विषयका प्राध्यापक भए पनि उनले नेपाली साहित्य सिर्जनामा नै योगदान दिए ।
आठ कक्षामा पढ्दा सन् १९४९ जनवरी १ मा ‘शिवस्तुति’ शीर्षकको कविता प्रकाशित गरेर साहित्ययात्राको औपचारिक यात्रा आरम्भ गरेका क्षेत्रीले विभिन्न विधामा कलम चलाएका थिए ।
उनका ‘बसाइँ’ (२०१४), ‘अतृप्त’ (२०२६), ‘ब्रह्मपुत्रको छेउछाउ’ (२०४३) र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ (२०६१ उपन्यास) ‘तीन दशक बीस अभिव्यक्ति’ (सन् १९८३) र ‘लीलबहादुर क्षेत्रीका कथाहरू’ (सन् १९९७) कथासङ्ग्रह ‘दोबाटो’ (सन् १९६७) नाटक तथा विभिन्न पत्रपत्रिकामा एकाङ्की नाटक र निबन्धहरू प्रकाशित भएका थिए ।
‘बसाइँ’ सामाजिक विषयवस्तुमा आधारित उपन्यास हो । यो उपन्यास आफू केही समय आफ्नो बाबुको पुख्र्यौली थलो अर्थात् नेपालमा आएर बस्दा आफूले देखेका, सुनेका र अनुभव गरेका कुरालाई आधार बनाएर लेखेको कुरा क्षेत्रीले उल्लेख गरेका छन् ।
सामाजिक समस्यालाई उद्घाटन गर्नु यस उपन्यासको मूल विशेषता हो । आफू जन्मेहुर्केको ठाउँ छोडेर मुग्लानतर्फ बसाइँ सर्नुपर्ने समस्यालाई यस उपन्यासमा देखाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
“लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम,मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् ।
भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ,” स्रष्टा क्षेत्री र उनको सृजना बसाइँको आवरण पृष्ठको तस्विर पोष्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।