दिल्ली भर्सेस हैदराबाद र राजस्थान भर्सेस चेन्नई

दिल्ली भर्सेस हैदराबाद र राजस्थान भर्सेस चेन्नई

१७ चैत , एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ ।

पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने दुई खेल खेलेको हैदराबादले एक खेल जितेको छ । हैदराबाद दुई अङ्कसहित छैटौं स्थानमा छ । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो ।

दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । हैदराबाद आज तेस्रो खेल खेल्दैछ । हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्समाथि विस्फोटक ब्याटिङका कारण विजयी भएको थियो ।

दोस्रो खेलमा भने लखनउसँग खराब ब्याटिङका कारण पराजित भयो । हैदराबादका दुई विष्फोटक ओपनर अभिषेक शर्मा र ट्राभिस हेडलाई दिल्लीका तीव्र गतिका बलर मिशेल स्टार्कले रोक्न सक्छन् ।

स्टार्कले आइपिएल २०२४ को पहिलो क्वालिफायरमा दुई बलमा रनको खाता नखोल्दै हेडलाई आउट गराएका थिए । स्टार्कले अभिषेक शर्मालाई फाइनलमा २ रनको व्यक्तिगत योगफलमा आउट गराएका थिए ।

यदि स्टार्कले यसलाई निरन्तरता दिए भने कुलदीप यादव, अक्षर पटेल र मुकेश कुमारसहित दिल्लीको बलिङ युनिटका लागि ठूलो राहत हुनेछ । गत सिजन हेड र अभिषेकको आक्रामक इनिङका कारण हैदराबादले दिल्लीविरुद्ध पावर प्लेमा कुनै विकेट नगुमाई १ सय २५ रन बनाएको थियो ।

त्यो खेल दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा भएको थियो । तर, यस पटकको खेल विशाखापट्टनममा सरेको छ । जहाँ दिल्लीले लखनउविरुद्ध सानदार पुनरागमन जित हासिल गरेको थियो ।

यसैबीच, हैदराबाद पनि लखनउसँग नै पराजित भएको थियो । केएल राहुलले यसै खेलमा दिल्लीका लागि डेब्यू गर्ने सम्भावना छ । उनी कसको स्थानमा टिममा आउनेछन् त्यो भने हेर्न लायक हुनेछ ।

यो ब्याटिङ अनुकूल पिचमा दिउँसोको खेल हो । त्यसैले २ सय रन भन्दा बढी पहिलो पारीको स्कोर अपेक्षा गर्न सकिन्छ । आइपिएलमा पहिले ब्याटिङ गर्ने टिमले विशाखापट्टनममा ५० प्रतिशत खेल जितेको छ ।

यस्तै आजको दोश्रो खेल गुवाहाटीमा नेपाली समय अनुसार पौने ८ बजे राजस्थान रोयल्स् र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले आज तेस्रो खेल खेल्दैछन् ।

चेन्नई दोस्रो जितको खोजीमा रहेको छ । चेन्नईले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । तर दोस्रो खेलमा घरेलु मैदानमा १७ वर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो ।

राजस्थान भने अघिल्ला दुवै खेलमा पराजित भएकोले पहिलो जितको खोजीमा छ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र दोस्रो खेलमा कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।

आइपिएलमा दुवै टोली हालसम्म २९ पटक आमने सामने भएका छन् । जसमा चेन्नई १६ तथा राजस्थान १३ खेलमा विजयी भएको छ । हिजो शनिबार भएको खेलमा गुजरात टाइटन्सले यस सिजनको पहिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सकेको थियो ।

योसँगै २ खेलमा २ अंकसहित गुजरात अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने लगातार दुई खेलमा पराजित मुम्बई अंकविहीन रहँदै नवौं स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.