१९ चैत, एजेन्सी।
लामो समयदेखि पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ । राष्ट्रिय कोष हिनामिना गरेको आरोपमा इमरान खान २०२३ देखि जेलमा छन् ।
नर्वेको राजनीतिक दल पार्टीट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वल्र्ड एलायन्सले पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवद्र्धन गर्ने कार्य गरेको हुनाले इमरान खानको मनोनयनको घोषणा गरेको जनाइएको छ ।
पार्टीट सेन्ट्रमले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, ’पार्टीट सेन्ट्रमको तर्फबाट हामी यो घोषणा गर्न पाउँदा खुसी छौं कि हामीले मनोनयन गर्ने अधिकार भएका जो कोहीसँग मिलेर पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरेका छौं।’
इमरान खानलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कारको लागि पनि मनोनयन गरिएको थियो । यो मनोनयन भारतसँगको तनाव कम गर्न २०१९ मा गरिएको थियो । उनको समर्थनमा पाकिस्तान संसदमा एक प्रस्ताव पेश गरिएको थियो जसमा इमरान खानले बालाकोट हवाई आक्रमण पछि भारतसँगको तनाव कम गर्ने प्रयास गरेका जनाइएको थियो ।
२०२५ को नोबेल शान्ति पुरस्कारको लागि ३३८ मनोनयनहरू छन् । यी मध्ये २४४ जना व्यक्ति र ९४ संस्थाहरू छन् । गत वर्ष यस पुरस्कारका लागि २८६ जना मनोनित भएका थिए । २०१६ मा सबैभन्दा धेरै ३७६ मनोनयनहरू आएका थिए ।
२०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१ सम्म रहेको थियो । नोबेल शान्ति पुरस्कार विश्व शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय सहयोग, र द्वन्द्व समाधानका क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ।
यो पुरस्कार नर्वेजियन नोबेल कमिटीले प्रदान गर्छ। अन्य नोबेल पुरस्कारहरू स्वीडेनमा प्रदान गरिए पनि शान्ति पुरस्कार भने नर्वेको संसदद्वारा नियुक्त कमिटीले निर्णय गर्छ । नोबेल शान्ति पुरस्कार प्राप्त गर्न व्यक्ति वा संस्थाले मानवताका लागि उल्लेखनीय योगदान पुर्याउनुपर्छ।
युद्ध रोक्ने, मानवअधिकार रक्षा गर्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने, गरिबी हटाउने वा शान्ति स्थापना गर्ने जुनसुकै क्षेत्रमा पनि यो पुरस्कार प्रदान गरिन्छ।