३१ चैत , काठमाण्डौ।
आज पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढ्दै १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएकोमा साताको पहिलो कारोबार दिन आज आइतबार १ हजार रुपैयाँले बढ्दै १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मू्ल्य पनि वृद्धि भएको छ । शुक्रबार १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ९६० रुपैयाँ पुगेको छ । विश्वबजारमा सुनको मूल्यमा आएको बढोत्तरीको असर आज नेपाली बजारमा देखिएको हो ।
व्यवसायीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्पारिक भन्सार दर ९० दिनलाई स्थगित गरेपछि त्यसको असर विश्व सुन बजारमा परेको छ । जसअनुसार दुई दिनमै सुन नौ हजार ६ सय रुपैयाँ बढेर आज फेरि अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको हो ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो । विश्व बजारमा शुक्रबार सुनको मूल्य प्रतिऔंस ३ हजार २५० डलर नाघ्दै नयाँ कीर्तिमानमा पुगेको थियो ।
अमेरिकी डलर कमजोर भएको र अमेरिका–चीन व्यापार युद्ध फेरि चर्किएको कारण सुरक्षित लगानीतर्फको माग वृद्धि भएकाले सुनको मूल्य उकालो लागेको हो। चीनले अप्रिल १२ देखि अमेरिकी सामानहरूमा लाग्ने शुल्क १२५ प्रतिशतमा पु¥याएको छ र ह्वाइट हाउसले १४५ प्रतिशतसम्म शुल्क वृद्धि गरेको छ ।
यी कदमहरूका कारण हरेक वर्ष विश्वका दुई ठूला अर्थतन्त्रबीच हुने करिब ७ सय अर्ब डलर बराबरको वस्तु कारोबार प्रभावित हुने देखिएको छ। यसले विश्वव्यापी आर्थिक वृद्धिसँग सम्बन्धित जोखिमयुक्त सम्पत्तिहरूलाई असर पु¥याउँदै सुरक्षित सम्पत्तिमा लगानी प्रवाह बढाएको छ।
सुन प्रायः लन्डनको ओटीसी बजार, अमेरिकी फ्युचर्स बजार र शाङ्घाई गोल्ड एक्सचेन्जमा कारोबार हुन्छ। सुनको मानक फ्युचर्स अनुबन्ध १०० ट्रोय औंसको हुन्छ। राजनीतिक र आर्थिक अन्यौलताका सुन एक आकर्षक लगानीको माध्यम मानिन्छ।
विश्वव्यापी सुनको खपतमा ५०% आभूषणमा, ४०% लगानीमा र १०% उद्योगमा प्रयोग हुन्छ। सुन उत्पादन गर्ने ठूला देशहरूमा चीन, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, रुस, पेरु र इन्डोनेसिया पर्छन्। सुनका गहना सबैभन्दा बढी उपभोग गर्ने देशहरूमा भारत, चीन, अमेरिका, टर्कीए, साउदी अरेबिया, रुस र युएई छन्।