नेपाली चेलीले इतिहास रचे, पहिलो पटक विश्वकप छनोटमा पुगे

नेपाली चेलीले इतिहास रचे, पहिलो पटक विश्वकप छनोटमा पुगे

५ जेठ , काठमाण्डौ।

थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले पराजित गर्दै ग्लोबल छनोट चरणमा स्थान बनाएको छ ।

यो जितले नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ, किनकि नेपाल पहिलो पटक ग्लोबल छनोटमा पुगेको हो । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराउँदै नेपाल एक खेल अगावै इतिहासमै पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।

बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि कप्तान इन्दू वर्माले अविजित सर्वाधिक ३० रन बनाइन् ।

उनको कप्तानी इनिङ्समा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन सक्यो । यस्तै रुविना क्षेत्रीले २३ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन् । यूएईका तर्फबाट बलिङमा इसा रोहित ओजा, एस कोटे र वैष्णवी महिसले एक÷एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । यूएईका लागि इसा रोहित ओजाले सर्वाधिक ३९ रन बनाइन् । यस्तै त्रीथा सतिशले २१, हीना हरिस होचन्दानीले २० र लाभण्या केनीले १२ रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन् । चार ओभरमा २० रन खर्चिँदै उनले चार विकेट लिएकी हुन् । यस्तै कविता कुँवर दुई र राजमती ऐरीले एक विकेट लिए । जित्नै पर्ने दबाबपूर्ण खेलमा नेपालले शानदार पाँच विकेटको जित निकाल्यो ।

अब थाइल्याण्डसँगको खेल हारे पनि नेपाललाई कुनै असर नपर्ने भएको छ । यूएई भने सुपर थ्रीमा दुबै खेल हार्दै प्रतियोगिताबाटै बाहिरिएको छ । एसिया छनोटको ‘सुपर थ्री’मा आइतबार युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

थाइल्यान्डले आठ अंक पु¥याएको छ । कप्तान इन्दु बर्माको नेतृत्वमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन ग¥यो । बलिङ र ब्याटिङ दुवैमा नेपालले संयमित र रणनीतिक खेल देखायो । यो जितले नेपालको विश्वकप यात्रालाई थप बलियो बनाएको छ ।

नेपालले दोस्रो खेलमा थाइल्यान्डविरुद्ध भोलि खेल्नेछ । यो सफलता नेपाली महिला क्रिकेटका लागि निकै महत्वपूर्ण छ। लामो समयदेखिको प्रयास र खेलाडीहरूको अथक मिहिनेतले अन्ततः नेपाललाई विश्व क्रिकेटको एक कदम नजिक पु¥याएको छ।

यसले नेपाली महिला क्रिकेटमा नयाँ उत्साह र प्रेरणा थपेको छ, साथै भविष्यका खेलाडीहरूका लागि पनि मार्ग प्रशस्त गरेको छ। नेपाली टोलीले ग्लोबल छनोटमा स्थान बनाएपछि अब सबैको चासोको विषय बनेको छ कि ग्लोबल छनोटमा नेपालले कुन–कुन टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ?

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा विश्वका विभिन्न क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका एसोसिएट राष्ट्रहरूले प्रतिस्पर्धा गर्छन्। एसिया क्षेत्र जहाँबाट नेपालसहित थाइल्याण्ड छनोट भएको छ ।

अन्य अफ्रिका क्षेत्र, युरोप क्षेत्र, अमेरिका क्षेत्र र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट पनि छनोट भएर विश्वकप छनोटमा सहभागि हुनेछन् । यी विभिन्न क्षेत्रीय छनोट प्रतियोगिताहरूबाट छानिएर आएका अधिकतम १० टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दछन्।

तर ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई टोलीले आईसीसी महिला टी–२० विश्वकप खेल्ने अवसर प्राप्त गर्नेछन्। नेपालले ग्लोबल छनोटमा सामना गर्ने प्रतिद्वन्द्वीहरूको टुङ्गो अन्य क्षेत्रीय छनोटहरू सम्पन्न भएपछि र आईसीसीले आधिकारिक ड्र सार्वजनिक गरेपछि मात्र लाग्नेछ।

यद्यपि, यो निश्चित छ कि नेपालले विश्वका अन्य सशक्त एसोसिएट टोलीहरूसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.