१६ असार, काठमाडौं ।
सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमै ह्याट्रिकसहित ४ गोल गरेकी छन् । एएफसी एसियन कप छनोटको पहिलो खेलमा उनले लाओसविरुद्ध ह्याट्रिक गरेकी हुन् ।
उनले यही खेलमार्फत कप्तानी जिम्मेवारी सम्हालेकी हुन् । उनले योसँगै ६२औं अन्तर्राष्ट्रिय गोल पु¥याएकी छन् । समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
आफ्नो एक सयौं खेलमा रवाफिलो जित निकाल्ने क्रममा नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल पूरा गरिन् । ‘साम्बा’नायक बन्दा नेपालले लाओसलाई हराउन धेरै संघर्ष गर्नुपरेन ।
यही खेलमा पहिलोपल्ट कप्तानी ‘आर्मब्याड’ लगाएकी उनी एक्लैले चार गोल गरिन् । खेलको पहिलो हाफमा २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ७ गोल थपेको थियो ।
नेपालका लागि अनिता बस्नेतले गोल गर्दै सुरुवाति अग्रता दिलाउँदा कप्तान सावित्रा भण्डारीले पहिलो हाफको अन्तिम समयमा हेडमार्फत अग्रता दोब्बर बनाएकी थिइन् ।
दोस्रो हाफमा पनि नेपालले आफ्नो रवाफिलो प्रदर्शन कायम राख्दै खेलमा गोल वर्षा गरेको थियो । नेपालका लागि दोस्रो हाफको सुरुवातमै सरु लिम्बुले आफ्नो ५० औंँ क्यापमा गोल गर्दै टिमलाई ३–० को अवस्थामा पु¥याउँदा त्यसपछि सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरिन् ।
पाँचौ गोल भने रश्मिकुमारी घिसिङका नाममा रह्यो । टिमका लागि छैटौं गोल सावित्रा भण्डारीको नाममा रह्यो। उनको यो गोलसँगै नेपालले खेलमा ६–० को अग्रता बनायो । त्यसपछि पनि खेलमा नेपालले गोल गर्न छाडेन ।
टिमका लागि सातौं गोल सावित्राले नै गर्दै टिमालई ७–० को अवस्थामा पु¥याउँदा आठौँ गोल अनिता केसीले गरिन् । नवौं गोल भने सावित्राले गरेको प्रहार क्लियर गर्ने क्रममा लाओसकै खेलाडीले आत्मघाति गर्न पुगेकी थिइन् ।
योसँगै नेपालले आफ्नो सयौं खेललाई यादगार बनाएको छ । साथै छनोटमा ३ अंक सहित सानदार सुरूवात गरेको छ । कप्तानको जिम्मेवारीमा रहेकी साम्बाको लागि यो खेल विशेष रहयो ।
उनले कप्तानको जिम्मेवारीमा टिमलाई ५ गोल सहित जित दिलाइन् । साथै प्रशिक्षक प्याट्रिकको लागि पनि डेब्यु खेल सुखद रहयो । समुह एफमा आयोजना उज्वेकिस्तान र श्रीलंका पनि छन् ।
अब नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताकै कमजोर मानियो यो टोलीलाई आइतबार नै घरेलु टोली उज्बेकिस्तानले १०–० ले पाखा लगाइसकेको छ ।
बुधबार नै उज्बेकिस्तानले लाओसलाई स्वागत गर्नेछ । यही खेलले अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीको टुंगो लाग्ने छ । उज्बेकिस्तान र नेपालबीच हुने समूह चरणको अन्तिम खेलले भने अस्ट्रेलिया जाने टोलीको छिनोफानो गर्नेछ ।
सामान्यतः दक्षिण एसियाली महिला फुटबलको कुरा गर्दा उज्बेकिस्तान बलियो टोली हो । वरीयतामा नेपालभन्दा ५१ स्थान माथि रहेको उज्बेकिस्तानलाई अस्ट्रेलिया पुग्ने दाबेदार टोली मानिन्छ ।