१७ असार, काठमाडौं ।
आज पनि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेश सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गएराति देशभर सामान्य वर्षा भएको थियो । हिजो दिउँसो कैलाली, कञ्चनपुर लगायतका केही ठाउँमा ठूलो पानी परे पनि राति भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । हिजोको वर्षाले कैलालीको धनगढी तथा कञ्चनपुरको पुनर्वास, कृष्णपुर, भीमदत्तका केही वस्ती डुबानमा परेका थिए ।
यसैबीच मनसुनको मार सडक प्रयोगकर्ताहरुलाई समेत भएको छ । सोमबार दिउँसो बीपी राजमार्ग पहिरोले अवरुद्ध हुँदा सवारी जाममा परेको एम्बुलेन्समै एक बिरामीको मृत्यु भएको छ ।
‘ब्रेन ह्यामरेज’ भएर काठमाडौं ल्याउँदै गरेको अवस्थामा महोत्तरीको मनरा शिसवा नगरपालिका–२ का भरतलाल झाको एम्बुलेन्सभित्रै मृत्यु भएको आफन्तले बताएका छन् । मृत्युपछि उनको शव सोही एम्बुलेन्समा महोत्तरी नै फर्काइएको छ ।
यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बुलिङटार गाउँपालिका–१, बतासेडाँडा र गौँडामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब ७ बजे उक्त दुई स्थानस्थित सडकखण्डमा पहिरो खसेको हो । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ । यस्तै आज देशका केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।
नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च छ ।
यी जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ । संखुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा र बैतडी भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ औँल्याइएको छ । ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र जाजरकोट भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
यी जिल्लामा आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानुमान छ । कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ ।
कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने महाशाखाको पूर्वानुमान छ ।
कर्णाली, पश्चिम सेती र महाकाली नदी जलाधारका जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।