६ साउन , काठमाण्डौं ।
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ । आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ ।
त्यसकारण नेपाललाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार बेलुकी पौने ७ बजेदेखि शुरू हुनेछ ।
प्रतियोगितामा बङ्गलादेश पाँच खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्कसहित नेपाल दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलङ्कालाई दुई–दुई खेलमा पराजित गर्दा बङ्गलादेशसँग भने पराजित भएको थियो ।
डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बङ्गलादेशलाई हराउनुपर्नेछ । बङ्गलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहनेछ । बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल ३–२ गोलले पराजित भएको थियो ।
नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
त्यसयता नेपालले लगातार तीन खेल जित्दा कुनै गोल खाएको छैन । श्रीलङ्कालाई दुवै खेलमा ७ ले पराजित गरेको नेपालले पछिल्लो खेलमा भुटानलाई ८ गोलले हराएको थियो ।
उता बङ्गलादेशले श्रीलङ्कालाई पहिलो खेलमा ९–१ ले हराउँदै शुरुवात गरेको थियो । बङ्गलादेशले तीनवटै विपक्षीसँग गोल खाएको छ । दोस्रो खेलमा नेपाललाई ३–२ ले र तेस्रो खेलमा भुटानलाई ४–१ ले हराउँदा बङ्गलादेशले गोल खाएको हो ।
त्यसपछि बङ्गलादेशले भुटानलाई ३–० र श्रीङ्गकालाई ५–० ले पराजित गरेको थियो । प्रतियोगितामा सहभागी श्रीलंका र भुटान उपाधि होडबाट बाहिरिएका छन् ।
पाँचमध्ये श्रीलंकाले १ खेल जित्दा भुटान भने सबै खेलमा पराजित भयो । अब आजको खेल नेपाली टोलीको सपना र प्रतिशोधको निर्णायक खेल बन्ने छ ।
नेपाल पहिलो उपाधिको लक्ष्य बोकेर बंगलादेश उडेको हो । अब नेपाल त्यही देशसँग उपाधि खोस्न खेल्नेछ । नेपालसँग एउटै विकल्प एउटै छ, जित ।
नेपालले पछिल्ला तीन खेलमा विपक्षीलाई एकपटक पनि गोल गर्न दिएको छैन । यो प्रदर्शनले नेपाली टोलीको लय बलियो रहेको पुष्टि हुन्छ । तर, त्यही बीचमा बंगलादेश पनि सम्हालिँदै अगाडि बढेको छ ।
उसले पनि उपाधि होडलाई हल्कामा लिएको छैन । नेपाली टोलीकी कप्तान बिर्सना चौधरी भन्छिन्, ‘हामी च्याम्पियन बन्नै आएका हौं। भुटानसँग जस्तै प्रदर्शन गर्न सक्यौं भने बंगलादेशलाई पनि हराउन सक्छौं।’
उनका यी शब्दहरु र पछिल्ला खेलका प्रदर्शनहरूले टोली आत्मविश्वासले भरिपूर्ण रहेको पुष्टि गर्छ । बिर्सनाले गोल, असिस्ट र नेतृत्व तीनै स्थानमा आफ्नो प्रभाव छाडेकी छन् ।
स्ट्राइकर पूर्णिमा राई १० गोल गर्दै प्रतियोगिताकै सर्वाधिक स्कोरर बनेकी छन् । मीना देउवा पनि प्रभावशाली लयमा छिन् । समीक्षा मगर र कुशुम खतिवडाले पनि स्कोर कार्डमा गोल संख्या थपिरहेकी छन् ।
यी खेलाडीलाई सेनु परियार, वर्षा ओली र सुक्रिया मियाले असिस्ट निकाल्दै सहयोग गरिरहेका छन् । त्यसैले नेपालको आक्रमण लाइन बलियो देखिएको छ ।
तर, मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ भन्छन्,‘हामीले अघिल्ला केही खेलमा सेल्फिस खेलेका छौं। बंगलादेशसँग गल्ति गरेर पहिलो हाफमै दुई गोल खाएका छौं।’ उनको संकेत प्रस्ट छ ।
पहिलो खेलमा बंगलादेशसँग केमा चुकियो भन्ने आत्ममूल्यांकनपछि अन्तिम खेलको रणनीति निर्माण हुनेछ । स्ट्राइकिङ लाइनमा केही फेरबदलको संकेत उनी दिइरहेका छन्, जसले टिमको लयलाई अझ धारिलो बनाउने अपेक्षा गर्न सकिन्छ ।