डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

२९ साउन ८२, बिहीबार
२९ साउन, काठमाण्डौ । 
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।
उनको राजीनामाले  नेपालमा योग्यता र क्षमतामाथि फोहोरी राजनीतिक खेल कसरी हाबी हुन्छ भन्ने दुःखद दृष्टान्त देखाएको छ।  हाल अमेरिकामा रहेका डा. कोइरालाले सामाजिक सञ्जाल एक्स मार्फत आफ्नो २५ वर्षे लामो सेवाबाट अलग हुने घोषणा गरेपछि यसले मुलुकको बौद्धिक र राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ।
डा. कोइरालाले आगामी असोज ३० गतेदेखि लागू हुने गरी व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । उनले कार्यकारी निर्देशकलाई सम्बोधन गरेको पत्रमा लेखेका छन्, “हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु।“
उनको राजीनामा घोषणामा निराशा, व्यङ्ग्य र एक प्रकारको विद्रोहको भाव झल्किन्छ। उनले लेखेका छन्, “र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला।“
सतहमा व्यक्तिगत कारण भनिए पनि डा. कोइरालाको राजीनामा पछाडि गहिरो राजनीतिक हस्तक्षेप र क्षमताको अवमूल्यन प्रमुख कारक रहेको खुलेको छ ।
उनी पटक–पटक स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्नबाट वञ्चित भएका थिए, जसको पछाडि नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्र मन्त्री आरजु राणा देउवाको प्रमुख भूमिका रहेको आरोप लागेको छ।
तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले डा. कोइरालालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति बनाउन चाहेका थिए। तर, पार्टीभित्रको शक्ति संघर्ष र आरजु राणा देउवाको असहमतिका कारण कृष्णप्रसाद सिटौला निकट मानिएका डा. राजकुमार रौनियार नियुक्त भए, जो पछि भ्रष्टाचारको आरोपमा पदबाट बर्खास्त भएका थिए।
दोस्रो पटक हालै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि डा. कोइरालालाई पहिले पोखरा र पछि बीपी प्रतिष्ठानको उपकुलपति बनाउन खोजेका थिए। तर, उपकुलपति सिफारिस समितिमा रहेका सदस्यहरूले माथिको आदेश भन्दै उनको नाम सिफारिस गर्न आनाकानी गरे।
स्रोतका अनुसार, आरजु राणाले डा. कोइरालाले सामाजिक सञ्जालमा कांग्रेस नेताहरूको आलोचना गर्ने गरेको भन्दै उनलाई कुनै पनि हालतमा नियुक्ति दिन नसकिने अडान लिएकी थिइन्  ।
उनले गंगालालको कार्यकारी निर्देशक नियुक्तिमा पनि डा. कोइरालालाई रोकेर डा. रवि मल्ललाई नियुक्त गर्न भूमिका खेलेको बताइन्छ। यसरी दुई पटकसम्म योग्यता हुँदाहुँदै पनि राजनीतिक पहुँच र भागबन्डाको शिकार बन्नु परेको पीडा उनको राजीनामाको मूल कारण रहेको बुझिएको छ।
डा. कोइरालाको पलायनको खबरले सामाजिक सञ्जालमा बौद्धिक पलायनको बहसमा थप इन्धन थपेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुःख व्यक्त गर्दै भनेका छन्, “केही गर्न सक्ने, केही गर्छु भन्नेहरूले देश छोड्ने क्रम कहिलेसम्म चलिराख्ने होला?“
यसअघि राप्रपाकै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि डाक्टर रामेशले राजीनामा दिएकाप्रति ‘दुःख व्यक्त’ गरेका थिए । सामाजिक सञ्जालमा अन्य नेताहरूले पनि डाक्टर रामेशको अमेरिका पलायतप्रति टिप्पणी गरिरहेका छन्।
डा. कोइराला पेशाले चिकित्सक भए पनि सामाजिक सञ्जालमा राजनीतिक र सामाजिक विषयमा तिखो टिप्पणी गरिरहन्थे। उनले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजको मुटुको सफल शल्यक्रिया गरेर चर्चामा आएका थिए र पछि उनीमाथि पुस्तक पनि लेखेका थिए।
उनी पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस महामन्त्री गगन थापाका निकट मानिन्छन् र थापा मन्त्री हुँदा उनका सल्लाहकार पनि थिए । एकातिर देशका प्रधानमन्त्री र मन्त्रीहरू युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने र देशमै भविष्य खोज्नुपर्ने भाषण गरिरहेका छन्, अर्कोतिर उनीहरूकै राजनीतिक भागबन्डा, गुटगत स्वार्थ र संकीर्णताका कारण डा. रामेश कोइरालाजस्ता हजारौंलाई जीवन दिने दक्ष र अनुभवी विज्ञहरू देश छाड्न बाध्य छन्।
रेमिटेन्सले धानेको देशमा, आफ्नै माटोमा सेवा गरिरहेको एउटा अमूल्य प्रतिभालाई राजनीतिक दाउपेचका कारण गुमाउनु नेपालका लागि ठूलो क्षति हो।
यो घटनाले देशमा प्रतिभाको कदर नहुने र राजनीतिकरणले कसरी राष्ट्रिय संस्थाहरूलाई कमजोर बनाउँछ भन्ने यथार्थलाई फेरि एकपटक उदाङ्गो पारेको छ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top