२९ भदौ , काठमाण्डौ ।
एसीसी एसिया कप टी–२० प्रतियोगिता अन्तर्गतको छैटौं खेलमा आज विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ८ः १५ मा युनाइटेड अरब इमिरेट्स(युएई) को दुबई इन्टरनेशनल रंगशालामा सुरु हुनेछ ।
दुबै टोली लगातार दोस्रो जितका साथ सुपर–४ को यात्रा सहज बनाउन चाहन्छन् । पहिलो खेलमा भारतले घरेलु टोली युएईलाई ९ विकेट र पाकिस्तानले ओमानलाई ९३ रनले हराउँदै विजयी सुरुवात गरेका थिए ।
समूह ए मा समान २ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् । भारत र पाकिस्तान आन्तरिक राजनीतिको कारण पछिल्लो एक दशकदेखि आईसीसी र एसिसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् ।
यसअघि यी दुई टोलीबीचको खेलको टिकट खुल्ला भएको केही मिनेटमै ब्रिकी भई सकेको हुन्थ्यो । यस पटक खेलको अघिल्लो दिनसम्म टिकट पुरै बिक्री भएको छैन । केही महिना अघि जम्मु कश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानसँग खेल्न नहुने कुरा उठ्दै आएको थियो ।
तर भारतीय सरकारले आईसीसी र एसीसीको प्रतियोगिता खेल्नमा कुनै नरोक्ने जनाएको छ । कतिपय भारतीय समर्थक, पूर्व क्रिकेट र विश्लेषकहरु पाकिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने माग राख्दै आएका छन् । यता आधुनिक शैलीको टी२० क्रिकेट खेल्ने भन्दै दुई सुपरस्टार मोहम्मद रिजवान र बाबर आजम बिना नै पाकिस्तान एसिया कप खेल्न आएको छ ।
बाबर र रिजवानको टी२० स्ट्राइकरेट कमजोर भएको भन्दै पाकिस्तानले बाहिर गरेको छ । युवा खेलाडीलाई उत्कृष्ट स्ट्राइकरेटमा ब्याटिङको अतिरिक्त दबाब पनि छ । गत वर्ष टी२० विश्वकप जितेसँगै रोहित शर्मा र विराट कोहलीले सन्न्यास लिएका थिए । त्यसैले नयाँ पुस्ताबीचको भिडन्त मानिएको छ ।
भारतले स्पिनर कुलदीप यादव, बरुण चक्रवर्ती र अक्षर पटेल तथा पाकिस्तानसँग मोहम्मद नवाज, सुफ्यान मुकीब र अब्रार अहमद पहिलो खेलमा प्लेइङ– ११ मा मैदान उतारेका थिए । पिच तीव्र गतिका बलर सहयोगी भएको खण्डमा पाकिस्तानले हरिस रौफ र भारतले अर्शदीप सिंहलाई प्लेइङ ११ मा समेट्न सक्छन् ।
भारतको ब्याटिङ लाइनअप मजबुत छ । अभिषेक शर्मा, सञ्जु स्यामसन र सूर्य कुमार यादव जस्ता ब्याटर टोलीमा हुँदा मजबुत छ । उता पाकिस्तानमा फखर जमान, हसन नवाज र सैम अयुब एकै ओभरमा खेललाई मोड्न सक्ने खुबी भएका ब्याटर हुन् ।
भारतमा योर्कर किंग जस्प्रित बुमराह र पाकिस्तानमा स्वींग तथा गतिमा राज गर्दै आएका शाहिन शाह अफ्रिदीको स्पेलले खेल निर्धारण गर्न सक्छ । पाकिस्तानको टोलीमा फखर जमान र मोहम्मद नवाज बाहेक अन्य खेलाडीमा अनुभवको कमी छ ।
विशेषगरी दबाब र ठूला प्रतियोगिता खेलेका निकै कम ब्याटर छन् । ओपनर सैम अयुब र सहिबजादा फहरान दुबै लयमा नहुँदा ब्याटिङ थप कमजोरी बनेको छ । स्पिन बलिङ सामु पाकिस्तानी ब्याटरको इतिहास राम्रो नहुँदा भारतीय स्पिनर कुलदीप यादव र बरुण चक्रवर्तीको बलिङ सामना गर्न सहज हुनेछैन ।
पाकिस्तानको प्लेइङ ११ मा पाँच स्पिन आक्रामणको विकल्प छ । अफ्रिदी र हरिस रौफ जस्ता १ सय ५० प्रतिघण्टा किलोमिटरको गतीमा बलिङ गर्ने बलर टोलीमा हुँदा भारतीय ब्याटरलाई रन बनाउन सहज हुनेछैन ।
बुमराह नचलेको खण्डमा भारतको तीव्र गतिको बलिङ आक्रामण समस्यामा पर्न सक्छ । दोस्रो र तेस्रो तीव्र गतिका बलरमा अलराउण्डर हार्दिक पाण्ड्या र शिबम दुबेका साथ अघि बढ्दै आएको छ । ब्याटिङमा गहिराई र टी२० ब्याटरको बाहुल्यता हुनु भारतको विशेषता हो ।
पछिल्ला पाँच खेलमा भारत तीन र पाकिस्तान दुई खेलमा विजयी भएका छन् । यी दुई टोलीबीच कुल १३ टी–२० आई खेल हुँदा भारत १० खेलमा विजयी भएको छ । जारी एसिया कपमा समूह एमा भारत, पाकिस्तान, ओमान र युएई रहेका छन् ।
समूह बीमा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपरफोरका शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पछिल्लो पटक २०२२ को टी२० एसिया कपमा पाकिस्तानलाई फाइनलमा हराउँदै श्रीलंकाले उपाधि जितेको थियो ।
यसैबीच श्रीलंकाले एसिया कपको पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । बंगलादेशले यसअघि हङकङलाई ७ विकेटले हराएको थियो । श्रीलंकाले समूह चरणमा बलियो सुरुआत गर्न सफल भयो ।