१ असोज , काठमाण्डौ ।
५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई ११ फागुनमा सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्रीबाट ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठ्न थालेको थियो ।
श्रेष्ठ ओली सरकारमा शिक्षामन्त्री थिए । उनले राजीनामा दिनुपर्छ भन्ने भनाइको प्रतिवाद गर्दै उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु माझ भनेका थिए, ‘कोही माइकालाल जन्मेको छ, केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने ? यो दुनियाँमा कोही माइकालाल जन्मिएको छैन । केपी ओली इज दि केपी ओली । फुटबलको पेलेजस्तै हो । जसरी बुझ्न मन लाग्छ, बुझ्नुस् । यथार्थ, सत्य यही हो । के राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिन्छन् ? राजीनामा दे भन्नेहरूले बनाएको प्राइममिनिस्टर हो ? अदालतको फैसलाले आएको सरकार हो यो ?’
अहिले नियतिले केपी शर्मा ओलीलाई त्यही अवस्थामा पुर्याइदिएको छ र कृष्णगोपालले चुनौती दिएको ५ वर्षपछि उनका हरेक चुनौतीहरुको जवाफ तिनै युवा विद्यार्थीहरुले सडकबाटै दिएका छन् । एमाले नेता कृष्णगोपालले ओलीको कठालो समात्न खोज्ने उनकै भाषामा खोजिएको माइकालाल नेपालमै जन्मिएका रहेछन् ।
जो शेरबहादुर देउवालाई जस्तै कठालो समात्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेका थिए । कृृष्णगोपालको चुनौती विद्यार्थीहरुले नै ५ वर्षपछि स्वीकार गरेको अहिलेको घटनाक्रमले देखिएको छ ।
राजीनामा दे भन्दा नदिने र राजीनामा दे भन्नेहरूले नबनाइएका भनिएका प्राइममिनिस्टर ओली आफ्नो चौथो कार्यकालमा आएर सडकबाट प्राइमिनिस्टर बनाउन भूमिका नखेलेका भनिएकाहरुकै डरले राजीनामा दिएर बालुवाटारबाट भाग्नु परेको छ ।
उनी गएको भदौ २४ गते मध्यान्न राजीनामा नदिइ बालुवाटारमै बसिरहेका भए कस्तो घटना घट्दथ्यो भन्ने विषय सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवा दम्पत्तिको अवस्था हेरेर कल्पना गर्न कठिन छ ।
भदौ २३ गते नै ओलीविरुद्ध सडकमा जेनजीहरुले अप्रिय नाराबाजी गरिरहदा प्रहरीमार्फत उनले लाठीसँगै अश्रुल ग्यास बर्साउन लगाए । यसबाट भिड झनै उत्तेजित भएपछि प्रहरीले ताकी ताकी गोली बर्सायो ।
प्रहरीले जेनजी प्रर्दशनकारीहरुलाई तितरवितर गर्न र त्याहाबाट भगाउन नभई ज्यान लिनकै लागि कम्मरमाथि गोली हानेको अहिले पोष्टमार्टमबाट पुष्टि भइसकेको छ । पहिलो दिन नै १९ जनाको ज्यान जादा समेत ओली बालुवाटारमा सत्ता लम्ब्याउने र जेनजीका मागलाई दबाउने रणनीति बुन्नमै ब्यस्त थिए ।
बालुवाटारमा बसेको सुरक्षा समितिको बैठकमा उनमा शोक, पीडाबोध भन्दा आक्रोश र दम्भ देखिएको खबरहरु अहिले धमाधम बाहिरिरहेका छन् । यसकै उपज १९ जना युवाको रगतले कुर्सी लत्पितिसक्दा समेत उनले राजीनामा नदिएपछि २४ गतेको अप्रिय दिन नेपालको इतिहासमा देखियो ।
जहाँ नेताका घर, पार्टी कार्यालय मात्रै ध्वस्त भएनन् नेपालका ऐतिहासिक धरोहरहरु पनि खरानी र खण्डहरुमा परिणत भए । यी दृश्य आकाशबाट हेर्दै सेनाको हेलिकप्टरबाट भागेका ओली अहिलेसम्म नेपाली सेनाको सुरक्षा घेराभित्रै रहेका छन् ।
उनले घटनाको एकसाता बितिसक्दा समेत नेपाली जनतालाई आफ्नो मुख देखाउने हिम्मत गर्न सकेका छैनन् । उनी असोज ३ गतेको संविधान दिवसका दिन एमालेले आयोजना गर्ने भनिएका कार्यक्रममा सहभागि हुने भनिएपनि ती सबै दाबीहरु ऋफवाह भएको एमालेका उपमहासचिव प्रदीप ज्ञावलीले बताएका छन् ।
यस्तै यसअघि ओलीले जेनजी आन्दोलनकारीका नाममा लेखेको भनिएको चिठी र उनलाई शिवपुरीको सैनिक घेरामा राखिएको भन्ने दाबीमा कुनै सत्यता नरहेको ज्ञवालीले बताएका छन् । संचारमाध्यामहरुसँगको कुराकानीमा ज्ञावलीले परिस्थिति अझै अनुकूल नभएको अवस्थामा सुरक्षित रहनु नै उपयुक्त हुने कुरा भएको भन्दै कम्तिमा अझै पाँच,सात दिन बाहिर निस्कने कि ननिस्कने भन्ने कुराको टुंगो नभएको प्रतिक्रिया दिएका छन् ।
यस्तै ओलीले आफू शिवपुरीस्थित सैनिक नियन्त्रणमा रहेको भन्दै जेनजी आन्दोलनकारीलाई सम्बोधन गरी केही दिनअघि सार्वजनिक चिठी आधिकारिक नभएको उनले बताएका छन् । अहिलेका सबै घटनाक्रममा एमाले र त्यसका नेतामाथि प्रहार केन्द्रित भएको भन्दै उनले सबभन्दा बढी सचेत र सुरक्षित पनि एमालेकै नेता, कार्यकर्ता हुनुपर्ने बताएका छन् ।
ओलीले आफू शिवपुरीस्थित सैनिक नियन्त्रणमा रहेको भन्दै जेनजी आन्दोलनकारीलाई सम्बोधन गरी केही दिनअघि सार्वजनिक चिठी आधिकारिक नभएको उनले बताए । ‘न उहाँ शिवपुरीमा हुनुहुन्छ, न त त्यो पत्र उहाँको हो’, उनले भने ।
‘संगठित राज्यसँग लड्न सकिन्छ, गैरराज्यसँग अर्थात माओवादीसंग लडेकै हौं, तर निरंकुशतासँग लड्न गाह्रो हुन्छ’, उनले भने, ‘नयाँ सरकार बनेको मात्र छ, पूर्णता पाएको छैन, यो सरकार कस्तो बन्छ, यसले के के गर्छ भन्ने कुराका आधारमा हामीले काम गर्नुपर्ने छ ।’
अहिलेका सबै घटनाक्रममा एमाले र त्यसका नेतामाथि प्रहार केन्द्रित भएको भन्दै उनले सबभन्दा बढी सचेत र सुरक्षित पनि एमालेकै नेता, कार्यकर्ता हुनुपर्ने बताए । ओली प्रतिकूल परिस्थितिका कारण सेनाको सुरक्षाभित्र रहेको ज्ञवालीले बताए ।
तर, उक्त सुरक्षा घेरालाई सैनिक नजरबन्द वा गिरफ्तारीका रुपमा चर्चा गर्नु आपत्तिजनक रहेको उनले बताएका छन् । एमालेले भने असोज ३ मा मनाइने संविधान दिवसका अवसरमा कार्यक्रमको आयोजना गर्दै जनतामाझ जाने तयारी गरेको छ ।