१७ असोज , काठमाण्डौ ।
बर्दियाको थारु समुदायमा अहिले ‘सखिया नाच’ को रौनक भरिएको छ । दसैँअघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने यो नाचले थारु गाउँबस्तीमा उल्लास ल्याएको छ ।
राजापुर नगरपालिका –५ खल्लाजयपुर, यो थारु गाउँमा दसैँ सुरु भएसँगै सखिया नाच सुरु भएको हो । खल्लाजयपुरका बडघर प्रदेशी चौधरीका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् ।
जति धेरै मादल बज्यो त्यति रौनक आउँछ । २० देखि २५ जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोली र रातै रङको रिबन लगाउने गर्छन् ।
महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ । धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारु समुदायका हरेक देवीदेउताका नाम सम्बोधन गरेर सखिया गीत गाइन्छ ।
“नया पुस्ताले आफ्नो सस्कृती बिर्सदै गएको र थारु सस्कृती जोगाइ राख्न पनि यो नाचलाई सधै निरन्तरता दिने गरेको स्थानीयहरु बताउँछन् ।
सामूहिक नाचिने सखिया नाचले एकातर्फ गाउँमा दसैँ आएको देखाउँछ भने अर्कातिर सुनसान हुने गाउँको मोहोललाई एकाएक उल्लासमय बनाउँछ । सखिया थारु लोकभागवत पुराण हो ।
दसैंमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृतिविदहरु बताउँछन् । जसको आरम्भ नै समरौटी (मंगलाचरण) बाट हुन्छ ।
दसैँमा सखिया नाचको बीच–बीचमा पैंयाँ पनि नाचिन्छ । पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनीरुपी बठिनिया (युवती) र कृष्णरुपी मदाल बजाउने युवाहरु एकअर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ ।
पैंयाँलाई कृष्ण र गोपिनीबीचको रासलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतविहीन सामूहिक नृत्य हो । त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडरियाहरुले आफैं नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् ।