२२ असोज , काठमाण्डौ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी– २० सिरिजको उपाधि जितेको छ ।आज अन्तिम खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
सिरिजका पाँचमध्ये तीन खेल नेपालले जित्यो । अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि ओपनर सम्झना खड्का र रुवि पोद्यारले राम्रो सुरुवात दिए ।
खड्काले १० लब १३ रन जोड्दै १ चौका प्रहार गरिन् । रुवि पोद्दारले २५ बलमा २६ रन बनाइन् । उनले २ चौका हानिन् । पूजा महतोले २३ तथा रुविना क्षेत्रीले अविजित १५ रन प्रहार गरिन् ।
कविता कुँवरले १९ बलमा १ चौका प्रहार गर्दै १४ रन बनाइन् । कप्तान इन्दु वर्मा १३ बलमा ८ रन बनाएर पभेलियन फर्किइन् । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेर गुमाएर १०३ रन बनाएको थियो ।
मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् । श्रृंखलाको पहिलो खेलमा नेपाल मलेसियासंग ३ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी बन्यो ।
तेस्रो खेलमा १३ रनले स्तब्ध बनेको नेपालले चौथो खेलमा कमब्याक गर्दै ६ विकेटको जित हात पारेको थियो ।