जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

२७ असोज , काठमाण्डौ ।

राष्ट्रपति बाट जम्मा ६ महिनाको समयावधि पाएको जेनजी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले एक महिना बिती सक्दा पनि मन्त्रीमण्डललाई पूर्ण दिन सकेकी छैनन्।

सडकमा जेनजीहरुको प्रतिनिधित्व मन्त्रीमण्डलमा नरहेको आवाज उठी रहेको छ तर जेनजी समूहबाट कसरी कुन समूहलाई आधिकारिक मानेर नाम छनोट गर्ने भन्ने अन्यौलता बढेको छ भने जेनजीहरुपनि पछिल्लो समय मन्त्री बन्नका लागि बढी नै लालाहीत देखिएका छन् ।

जसले गर्दा मुख्य मुद्दा ओझेलमा परेर फेरी जेनजीहरुपनि पुरानै दलको जस्तो सत्ता र कुर्सीका लागितँ छाड र म छाड्मा त लागेका हैनन् भन्ने चिन्ता र चासो बढेको छ ।
‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेका थिए ।

यसको एउटै उद्देश्य थियो सत्ताको मनोमानी विरुद्ध ‘जेनजी विद्रोह’ । नेताका छोराछोरीहरूले बिताइ रहेको विलासिता पूर्ण जीवन शैलीको सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ र भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ सङ्घर्ष थियो यो ।

त्यसै मिसिएको थियो ओली सरकारले गरेको सामाजिक सञ्जाल बन्द । आन्दोलन घोषणा सँगै केही अनुहार सामाजिक सञ्जालमा देखिएका थिए अनि पर्दा पछाडि काठमाण्डौंका मेयर बालेन साह देखिएका थिए ।

आन्दोलनले नसोचेको परिणाम ४८ घण्टा बित्न नपाउँदै निकाल्यो । ३६ वर्ष सम्म आलोपालो गर्दै सत्तामा रजगज गरेका पुरा दलहरू पर्दाबाट बाहिरिए । जताततै जेनजी मय बन्यो । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाटै भाग्न बाध्य भए ।

सत्ताको प्रमुख घटक काँग्रेस सभापति शेरबहादुर देउवा र बहालवाला परराष्ट्र मन्त्री देउवा पत्नी आरजु राणाले आफ्नै घरका निर्घात कुटाइ खाइन । देशमा आगो लाग्यो । देश नै एक दिन शून्यतामा पुग्यो ।

सडकबाट जेनजीले नेपाली सेना र राष्ट्रपतिको रोहोवरमा प्रधानमन्त्री घोषणा गरेर प्रतिनिधि सभा विगठन गराए । त्यति हुँदा सम्म जेनजीको नेतृत्वकर्ता फेरी सेकका थिए। आन्दोलन गर्दा जुन अनुहार देखिएका थिए प्रधानमन्त्री घोषणादेखि संसद् भङ्ग सम्ममा अरू नै अनुहार देखिएका थिए ।

जेनजी सरकार वनेको एक महिना बितेको छ । जेनजीले उठाएका माग मध्ये सामाजिक सञ्जाल आन्दोलनकै दिन भदौ २४ गते बाट खुल्ला भए । तर जेनजीले उठाएको प्रमुख माग भ्रष्टाचारीहरूलाई कारबाही र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जस्ता महत्त्वपूर्ण कुरा ओझेलमा छन् ।

सरकार आफ्नै ताल र सुरमा हिँड्न थालेको छ । उता जेनजीहरुको मन्त्री बन्ने भन्ने विषयमा सडकमा नै रडाको गर्न थालेका छन् । समूह समूह बन्छन् अनि मन्त्रीको नाम मन्त्रालय नै तोकेर सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् ।

एउटाले एउटा लिस्ट बनाउँछ अर्कोले त्यसको विरोध गर्छ । मन्त्री मण्डल गठनमा मात्र हैन अन्य कुरामा पनि जेनजीहरु को असली बन्ने विवाद छताछुल्ल भई रहेको छ । वास्तवमा जेनजीहरुलेपनि यी पुरा दलकै जस्तो मन्त्री बन्नैका लागि विद्रोह गरेका हुन त रु प्रश्न उठाउन अब ढिलो गर्न हुदैन् ।

किन भने नेपालका हरेक परिवर्तन आन्दोलन सफल भएपछि दिग्भ्रमित हुँदै आएका छन् । कामकुरा एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने नेपाली उखान जस्तै जेनजीहरु मुख्य मुद्दा छोडेर मन्त्री बन्न पाइहालिन्छ कि भन्ने दौडमा लागे जस्तो देखिन्छन् यसले कलिला सहिदहरूको वलीदानीको फेरी पनि अपमान हुने छ ।

आन्दोलनको बलमा अहिले गठन भएको अन्तरिम सरकारलाई ६ महिनाभित्र अहिलेकै संविधान र ऐन कानुनबमोजिम प्रतिनिधि सभाको नयाँ निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने मुख्य जिम्मेवारी तोकिएको छ ।

त्यसैले आन्दोलनको मुख्य मर्मबमोजिम अहिले नै भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा यो सरकारले पर्याप्त कार्य गर्न पक्कै पनि सक्दैन वा पाउँदैन । यसै बिच असोज २५ गते नै राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की सहित सँग जेनजीका अगुवाहरूको छलफल राखिएको थियो ।

२० जना जेनजी प्रतिनिधिहरू छलफलका लागि राष्ट्रपति कार्यालय छिरी सकेका थिए । फेरी राष्ट्रपति कार्यालय बाहिर जम्मा भएका जेनजीहरुले आफूहरू पनि जान पाउनु पर्ने भन्दै नारा वाजी गर्न थाले संयोग नै माग्नु पर्छ राष्ट्रपति पौडेल पनि अकस्मात् बिरामी परेर अस्पताल भर्ना भए ।

जेन–जी युवाहरूको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोली मात्र शीतल निवासभित्र प्रवेश गराएको भन्दै युवाहरूले नाराबाजी गर्दै विरोध गरेका थिए । ठुलो सङ्ख्यामा शीतल निवास अगाडि जम्मा भएका युवाहरू आफूहरूलाई पनि भित्र जान दिनुपर्ने भन्दै प्रहरीलाई दबाब दिइरहेका थिए ।

केहीलेसुदनगुरुङको विरोधमा नारासमेत लगाएका थिए । आन्दोलनको सुरुमा सामाजिक सञ्जालमा नदेखिएका गुरुङ भदौ २४ गते दिउँसोबाट सक्रिय देखिएका थिए । राष्ट्रपति र नेपाली सेना सँगको वार्तामा गुरुङ अग्र पङ्क्तिमा थिए ।

जेनजीहरु बिचको विवाद र राष्ट्रपतिको स्वतथ्यमा देखिएको समस्याका कारण छलफल स्थगन भयो । अनि आज सोमबार दिउँसोका लागि सारियो ।सामान्य छलफलमा जाँदा समेत एक नदेखिएका जेनजीहरु मन्त्री थप्ने कुरामा झनै विवादित देखिएका छन् ।

यति बेला सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै जेनजीहरुका नाम मन्त्री बन्नका लागि सार्वजनिक भई रहेका छन् । आइतबार जेनजीका नाममा मन्त्री बनाइनु पर्ने भन्दै केही नामहरू सार्वजनिक भएका छन् । यसले झनै अन्यौलता बढाएको छ ।

सामाजिक सञ्जालमा जेनजीबाट प्रस्तावित नामभन्दै थरिथरि सूची सार्वजनिक हुन थालेका छन् । असोज २५ गते प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीहरू थप्दै छिन भन्ने समाचार बाहिर आयो ।

जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमको नाम सार्वजनिक भयो । स्रोतका अनुशार श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ भनिएको थियो ।

यी नाम बाहिर आएपछि जेनजीबाटै विरोध सुरु भयो । आन्दोलनका प्रमुख पात्र भनिएका मिराज ढुगांनाले भिडियो सन्देश सार्वजनिक गर्दै त्यसको विरोध गरे । त्यसपछि आइतबार साँझ सामाजिक सञ्जालमा अर्को एउटा विज्ञप्ति आयो ।

अध्यक्ष प्रकाश बोहारा र अभिषेक श्रेष्ठको अध्यक्षतामा नक्सामा बसेको भनिएको बैठकमा चर्चित जेनजी अभियन्ता ९ जनाको हस्ताक्षर देखिन्छ । विज्ञप्तिमा दिवाकर दंगाललाई महिला तथा बालबालिका मन्त्री, रक्षा बमलाई महिला तथा बालबालिका राज्यमन्त्री र पुरुषोत्तम यादवलाई पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सिफारिस गरिएको उल्लेख छ ।

यस्तै, ओजस्वि राज थापालाई बन तथा वातावरण राज्यमन्त्री, जस्मिन ओझालाई सहरी विकास राज्यमन्त्री, प्रवेश दाहाललाई श्रम तथा रोजगार राज्यमन्त्री, सिपी श्रेष्ठलाई पर्यटन तथा उड्डयन मन्त्री र मिराज ढुङ्गानालाई गृहमन्त्रीमा सिफारिस गरिएको छ ।

फेरी यो विज्ञप्तिमा अर्की जेनजी अभियन्ता रक्षा बमले आपत्ति जनाएकी छन् । आफ्नो र युजन राज भण्डारीको हस्ताक्षर किर्ते गरिएको र आफूसँग यो विषयमा कसैको छलफल नभएको उनको भनाइ छ ।

त्यस्तै, मन्त्री बन्ने सूचीमा आफ्नो नाम राखिएपछि प्रवेश दाहाल र जस्मिन ओझाले पनि आपत्ति जनाएका छन् । यस्तै मन्त्रीमा सिफारिस गरिएको अर्को विज्ञप्ति पनि सार्वजनिक भएको छ । ‘सडकको आगो मन्त्रीमण्डल’ मा नामक समितिको उल्लेख छ ।

यसमा अभिषेक श्रेष्ठको अध्यक्षतामा नक्सालमा बसेको ५ जनाको बैठकले मिराज ढुङ्गानासहित ४ जना मन्त्री सिफारिस गरेको जनाइएको छ । सिफारिस भएको भनिएकामा मिराज ढुङ्गाना संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय, दिवाकर दंगाललाई युवा तथा खेलकुद, डा। सरिशा श्रेष्ठ महिला तथा बालबालिका र डा। विश्वस बस्ने स्वास्थ्य मन्त्री रहेका छन् ।

आधिकारिक रूपमा जेनजी समूह भने कहीँ कतै दर्ता भएको छैन । यो उमेर समूहलाई कुनै सदस्यता र सङ्केत पनि दिएको छैन । त्यसैले अब कसलाई आधिकारी मान्दै अगाडी बढ्ने भन्ने विषयमा राष्ट्रपतिदेखि जेनजी सरकारकै प्रधानमन्त्री समेत अलमलमा परेकी छिन् ।

आज हुने भनिएको राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरूले जेनजीसँग छलफल पनि जेनजीले थरिथरिका नाम प्रस्ताव गर्दा भद्रगोल हुन सक्ने देखिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.