२९ असोज , काठमाण्डौ ।
राष्ट्रिय युवा सङ्घ नेपालको विशेष सुरक्षा सुरक्षा दस्ताको घेरा भित्र आज नेकपा एमालेको बैठक बस्दै छ । जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे धारणा बनाउन नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ । बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालय स्रोतले जनाएको छ ।
उक्त प्रतिवेदनमा समसामयिक राजनीति, जिएन–जी आन्दोलन, घुसपैठ, व्यक्ति तथा सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिने छन् । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीको प्रतिवेदनमा हालको अन्तरिम सरकारको गठन, संसद् विघटनको प्रक्रिया र त्यसका असरका विषयमा विस्तृत विश्लेषण हुनेछ ।
त्यस्तै सरकारले ‘निर्वाचनको हौवा पिटाउँदै संवाद नगरेको’ र त्यसका कारण राजनीतिक स्थायित्व कमजोर भएको टिप्पणी समेत रहने छ । बैठकमा पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने तयारी गरेको छ ।
सो महाधिवेशनमार्फत ‘फ्रेस म्यान्डेट’ लिएर जनतामाझ जाने र लोकतन्त्र रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै आन्दोलनको कार्यक्रम घोषणा गर्ने योजना एमालेले बनाएको छ ।
बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेपछि धारणा राख्ने सदस्यलाई देवनागरी वर्णानुक्रमको उल्टो क्रममा बोल्न दिइनेछ । अर्थात् ‘ज्ञ’ बाट सुरु भएर ‘अ’ सम्म जाने गरी पालो तोकिएको छ ।
प्रत्येक सदस्यलाई तीन मिनेट समय दिइने कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन् । आज हुने बैठक स्थल रामबाग महल र वरिपरि राष्ट्रिय युवा सङ्घ नेपालको विशेष सुरक्षा दस्ता परिचालित गरिएको छ ।
संघका उपाध्यक्ष विनय शाहका अनुसार १०० जनाको सुरक्षा टोलीले स्थलमा पहरा दिनेछ । नेताहरूको स्कर्टिङका लागि त्यति नै सङ्ख्यामा मोटरसाइकल र ५० वटा चार पाङ्ग्रे सवारी साधन तयारी अवस्थामा राखिएको छ ।
तीन दिनसम्म चल्ने बैठकमा दिउँसोको खाजा र पानीबाहेक अन्य खानपिनको व्यवस्था छैन । काठमाडौँ बाहिरबाट आएका केन्द्रीय सदस्यहरूले आफ्नो बसोबास र बिहान–बेलुकीको खानाको व्यवस्था आफैँ गर्नुपर्ने केन्द्रीय कार्यालयले जनाएको छ ।
यसै बिच राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आज बिहान साडे दश बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्दै छ । बैठकमा हालको राजनीतिक परिस्थिति, स्थानीय तथा जिल्ला अधिवेशनको प्रगति समीक्षा र सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।