४ कार्तिक , काठमाण्डौ ।
पकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी फेरि नेतृत्वमा फर्किएका छन् । उनले अब पाकिस्तानको एकदिवसीय टोलीको कप्तानी सम्हाल्ने भएका हुन् । ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानलाई हटाउँदै अफ्रिदीलाई नयाँ कप्तान नियुक्त गरिएको हो ।
पछिल्लो १२ महिनामा वानडे फम्र्याटमा यो नेतृत्व परिवर्तन भएको यो तेस्रो पटक हो । पाकिस्तानी क्रिकेटमा परिवर्तनको लहर निरन्तर जारी छ । त्यसै क्रममा फेरि एकपटक नेतृत्वमा फेरबदल गरिएको हो ।
नेतृत्व परिवर्तनको चर्चा पहिलेदेखि नै थियो । अन्ततः सोमबार इस्लामाबादमा बसेको बैठकमा यो निर्णय औपचारिक रूपमा गरिएको हो । बैठकमा प्रमुख प्रशिक्षक माइक हेसन, उच्च प्रदर्शन निर्देशक आकिब जावेद र राष्ट्रिय टोलीका छनोट समितिका सदस्यहरूको उपस्थितिमा अफ्रिदीलाई कप्तानका रूपमा छनोट गरिएको थियो।
रोचक कुरा के छ भने सन् २०२३ मा अफ्रिदीलाई टी–२० टोलीको कप्तान बनाइएको थियो । तर, कुनै स्पष्ट कारण नबताई एक सिरिजपछि नै उनलाई पदबाट हटाइएको थियो । तर, पाकिस्तान सुपर लिग (पीएसएल) मा भने अफ्रिदी निकै सफल कप्तान साबित भएका छन् ।
उनको नेतृत्वमा लाहोर कलान्डर्सले सन् २०२२, २०२३ र २०२५ मा गरी तीन पटक उपाधि जितेको छ । अफ्रिदीले हालसम्म ६६ वटा एकदिवसीय र ९२ वटा टी–२० खेल खेलेका छन्, जसमा उनले जम्मा २४९ विकेट लिएका छन् ।
साथै उनले ३२ टेस्ट खेलमा १२० विकेट झारेका छन् । पाकिस्तानले आगामी महिना दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्न लागेको छ । खेल फैसलाबादमा हुने छ ।
रिजवानले वनडे कप्तानका रुपमा आफ्नो कार्यकालको सुरुवात बलियो गरि गरेका थिए, उनले नोभेम्बर २०२४ मा अस्ट्रेलियामा पाकिस्तानलाई २–१ ले सिरिजमा जीत दिलाएका थिए । जुन २२ वर्षमा अस्ट्रेलियामा पाकिस्तानको पहिलो जीत थियो ।
त्यसपछि पाकिस्तानले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा ३–० ले पराजित गरेको थियो र जिम्बाबेमा २–१ ले सिरिज जितेको थियो । २०२५ भने रिजवानका लागि चुनौतीपूर्ण साबित भयो ।
पाकिस्तानले घरेलु ट्राई सिरिजको फाइनल न्युजिल्याण्डसंग हार्न पुग्यो । र फेब्रुअरीमा च्याम्पियन्स ट्रफीको पहिलो चरणमै बाहिर निस्कियो । सबैभन्दा ठूलो झट्का बेस्टइन्डिजमा लाग्यो, जहाँ पाकिस्तान २–१ ले हार्न पुग्यो, क्यारेबियनमा ३४ वर्षमा यो उसको पहिलो हार व्योहोरेको सिरिज थियो ।
यता शाहीनले गत वर्ष जनवरीमा न्युजिल्याण्डमा पाँच टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानको कप्तानी गरेका थिए । तर टोलीले ४–१ को हार ब्योहोरेपछि उनलाई सो भूमिकाबाट हटाइएको थियो ।