११ कार्तिक , काठमाण्डौ ।
आज बिहानदेखि अप्रत्याशित रूपमा मुक्तिनाथ क्षेत्रमा हिउँ पर्न थालेको छ । जसका कारण त्यहाँ पुगेका तीर्थयात्री र पर्यटकहरू प्रभावित भएका छन् । हिजो साँझ मुक्तिनाथ पुगेर रात बसेका तिर्थालुहरुका अनुसार गए राती सम्म त्यहाँ मौसम सामान्य थियो ।
तर बिहान सबेरैबाट हिउँ पात सुरु भएको छ । बाटोभरि हिउँ जमेकाले हिँडडुल गर्न निकै कठिन भएको छ। मन्दिर परिसरभन्दा तलका क्षेत्रमा करिब तीनदेखि चार इन्चसम्म हिउँ जमी सकेको छ ।
होटलहरु अगाडिको हिउँको पुरौ जमेको छ । सडकमा गाडी चल्न सक्ने अवस्था छैन । जिल्ला प्रशासन कार्यालय, मुस्ताङले हिमपात भइरहेकाले सर्वसाधारण र तीर्थयात्रीलाई तत्काल पदयात्रामा ननिस्कन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उच्च हिमाली क्षेत्रमा हिउँको मात्रा बढ्दै गएको छ, जसले यात्रा जोखिमपूर्ण बनाउन सक्छ । उनले भने, “मुस्ताङ–डोल्पा, थोरङ्ला पास, सरिबुङ पास र धौलागिरि पदमार्ग जस्ता क्षेत्रमा भारी हिमपात भइरहेको छ ।
यात्रुहरूले मौसम अनुकूल नहुँदासम्म यात्रा नगर्नुहोस् भन्ने हाम्रो आग्रह हो।” जल तथा मौसम विज्ञान विभागले पनि मुस्ताङ, मनाङ र आसपासका क्षेत्रमा बुधवारसम्म हिमपात र वर्षा हुने पूर्वानुमान गरेको छ ।
तिहार र छठ पर्वका कारण पछिल्ला दिनमा मुस्ताङमा पर्यटक र पदयात्रीको भीड बढेको थियो । तर हिउँ परेपछि धेरैले आफ्नो यात्रा स्थगित गरेका छन् । होटल व्यवसायीहरूका अनुसार मुक्तिनाथ पुगेर फर्किने धेरै यात्री बाटैमा रोकिएका छन् ।
गण्डकी प्रदेशका अन्य उच्च पहाडी क्षेत्रहरूमा समेत हिमपात र वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले कृषक, पर्वतारोही र पर्यटकहरूलाई विशेष सावधानी अपनाउन सुझाएको छ ।
मौसमविद्हरूका अनुसार हिउँ र वर्षाका कारण सडक अवरुद्ध, ट्रेकिङ मार्ग जोखिमपूर्ण र हावाहुरीको सम्भावना पनि रहेको छ । “हिमपात र वर्षाका कारण कृषि, पर्यटन र दैनिक जीवनमा असर पर्ने भएकाले यात्रुहरूले अनिवार्य रूपमा स्थानीय प्रशासन र मौसम विभागको सल्लाह लिएर मात्र यात्रा योजना बनाउनुपर्छ,” महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ ।
४ हजार मिटर उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध दुवैका लागि पवित्र तीर्थस्थल हो । यहाँ हरेक वर्ष हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् । तर हिउँले ढाकिएको मुक्तिनाथ आज शान्त, सेतो र स्वर्गीय देखिएको भक्तजनहरूले बताएका छन् ।










